फेल्प्सको नाममा २१ स्वर्ण

आइतबार, ३० साउन २०७३, १० : ०८ शुक्रवार , Kathmandu
फेल्प्सको नाममा २१ स्वर्ण

ओलम्पिकको पदक तालिकामा १ सय ६७ वटा देशले गर्न नसकेको काम अमेरिकी पौडीबाज माइकल फेल्प्सले गरेका छन् । ओलम्पिक खेल्ने २ सय ६ देशमध्ये १ सय ६७ देशले २१ वटाभन्दा बढी स्वर्ण पदक जित्न सकेका छैनन् । तर, फेल्प्स एक्लैले ओलम्पिकमा अहिलेसम्म २१ वटा स्वर्ण पदक जितेर १ सय ६७ देशलाई पछि पारेका हुन् । ओलम्पिकमा फेल्प्सले जितेका अर्थात् २१ वटाभन्दा धेरै स्वर्ण पदक जित्ने देशको संख्या ३९ मात्र छ । अहिलेसम्म ओलम्पिक खेल्ने १ सय ४५ देशले मात्र पदक जित्न सकेका छन् । त्यसमा स्वर्ण पदक जित्ने देशको संख्या १ सय १ छ ।
रियो ओलम्पिकमा अहिलेसम्म तीनवटा स्वर्ण पदक जितेसँगै ३१ वर्षे पौडीबाज फेल्प्सले जितेका ओलम्पिक स्वर्ण पदकको संख्या २१ पुगेको हो । फेल्प्सले बुधवार बिहान व्यक्तिगत र समूह गरी दुई स्पर्धामा स्वर्ण पदक जिते । उनले पुरुष दुई सय मिटर बटरफ्लाईमा जितेको स्वर्ण रियो ओलम्पिकको दोस्रो तथा उनको खेल जीवनको २० औँ ओलम्पिक स्वर्ण बन्यो । यस्तै फेल्प्स रहेको पुरुष ४ गुणा २०० मिटर फ्रिस्टाइल रिलेमा अमेरिकाले स्वर्ण पदक जितेको हो । यो फेल्प्सको रियो ओलम्पिकको तेस्रो तथा समग्रमा २१ औँ ओलम्पिक स्वर्ण हो ।
फेल्प्सले यसअघि सन् २००४ को एथेन्स ओलम्पिकमा छ स्वर्ण, २००८ को बेइजिङ ओलम्पिकमा आठ स्वर्ण, २०१२ को लन्डन ओलम्पिकमा चार स्वर्ण जितेका थिए । उनले एथेन्समा दुई कास्य र लन्डनमा दुई रजत पनि जितेका छन् ।
फेल्प्सभन्दा अघि सोभियत संघकी जिम्न्यास्टिक खेलाडी लारिसा ल्याथिनिनाले ओलम्पिकमा १८ पदक जितेकी थिइन् । तर, उनले जितेका स्वर्ण पदकका संख्या भने नौ मात्र हो । सन् १९५६ देखि १९६४ सम्मका तीनवटा ओलम्पिक खेलेकी उनले पाँच रजत र चार कास्य गरेर १८ पदक जितेकी हुन् ।

 

Leave A Comment