हेपाहा ट्राफिक

मङ्गलबार, १५ पुष २०७६, ०९ : ३२ शुक्रवार
हेपाहा ट्राफिक

रामेश्वर नेपाल, ट्याक्सी चालक

मेरो घर नुवाकोट हो। मैले ट्याक्सी चलाउन थालेको बीस वर्ष जति भइसक्यो। पहिलाभन्दा अहिले ट्याक्सीमा बेतिथि बढेको देख्छु।  पहिला ट्याक्सी चालक पनि इमानदार हुनुका साथै यात्रु पनि इमानदार थिए। सबै कुरा सिस्टमबाटै चल्थ्यो।

जुनसुकैले मान्छे ओसार्ने   
पहिला भाडाको गाडीले मात्र मान्छे ओसारपसार गर्ने भन्ने हुन्थ्यो  त्यसका लागि छुट्टै कालो नम्बर प्लेटका गाडी चल्थे। अहिले कालो न रातो सबै नम्बर प्लेटका गाडीले मान्छे ओसार्न थालेको छ। यसले गर्दा बेतिथि झन् बढ्यो। यति मात्र होइन, मलाई लाग्छ सरकारी गाडीले शुद्ध मान्छे बोक्छ कि जस्तो लाग्छ। अरुले नै मान्छे ओसारप्रसार गर्न पाउने हो भने हामीलाई कालो नम्बरको प्लेट किन राखिदिएको होला। हामी पनि रातो नम्बर प्लेटमै सरर अफिसर जस्तो भएर ट्याक्सी गुडाउने थियौँ।

ट्याक्सी भनेको मान्छे ओसारपसार गर्ने हो। बाइकले त होइन नि ? टुटल पठाओको नाममा मोटरसाइकलले मान्छे ओसारिरहेको छ। उनीहरुले त्यसरी मान्छे ओसार्ने भए ट्याक्सी भनेर किन भित्र्याएको होला।

ट्राफिकले खै हेपेको हो कि
ट्राफिक प्रहरीले हामीलाई नै गोठालो गरिरहेको हुन्छ। हाउमच ग-यो भन्या छ , के भन्या छ जरिवाना तिराएको छ। खै टुटल पठाओले हाउमच गर्दा पनि मान्छे बोक्न पाउँछ भने तिनको गोठालो लाग्नु नि। हामीलाई नै लखेटेका छन्। दौडाएका छन्। यो देख्दा पनि अचम्म लाग्छ।

फलाना ठाउँ जानुपर्ने कति पैसा लाग्छ होला, यो ठाउँ कता पर्छ होला। मिटरमा जाने कि हचुवामा जाने अनेक बहाना बनाएर ट्याक्सी चालकलाई जरिवाना तिराएरै छाड्छ। तर अरुलाई खोइ त केही वास्तै छैन।

ममाथि यस्तो घटना भएको ६ महिना मात्रै भएको छ। कोटेश्वरबाट सिनामंगल आउँदै थिएँ।  आउँदै गर्दा जाँड खाएर फिटान भएकी एउटी महिलाले हात दिइन्। मैले ट्याक्सी रोकेँ। कता जाने हो भनेर सोधेको पेप्सिकोला जाने कुरा गरिन्। म भर्खरै उतैबाट आएको, चाबहिल खाना खान जान हिँडेको हुँ भन्दा उसैले यात्रु लैजान नमानेको भनेर चिट काटिदिइ। जड्याहा स्टाइलको सिभिल ट्राफिक प्रहरी पो रहिछन्

टुटल पठाओमा सुरक्षा खोइ
टुटल पठाओमा कसैको पनि सुरक्षा छैन। जहाँ जतिखेर पनि दुर्घटनामा पर्न सकिन्छ। तर ट्याक्सीमा त सुरक्षा छ नि। यात्रु भने टुटल पठाओमा मात्रै लोभिएको भन्ने कुरा छ। ट्याक्सी भन्दा अलिक सस्तो जस्तो लागेको कारण टुटल पठाओ चढेका हुन्। ट्याक्सीले रोड पर्मिट, कर के–के तिरिरहनुपर्छ।

निम्न वर्गीयले टुटल पठाओ चढ्छन्  किनभने आर्थिक क्षमता कम भएका कारण जे सस्तो पर्छ त्यही चढ्ने हो मध्यम वर्गीयले ट्याक्सी चढ्ने हुन्। त्योभन्दा माथिकाले आफ्नै सवारी साधन चलाउँछन्।  

लुटेरा चाहिँ को हो
हामी वैधानिकताले चलिरहेका छौँ। कर पनि तिरेकै छौँ। बत्तीस लाखमा ट्याक्सी लिएकै छाैँ। तर टुटल पठाओको वैधानिकता खोइ। हामीले कसरी लुट्याँै। मिटरमा हिँडाइदिएको छ। मिटरमा उठेको पैसाले गरिखा भनेर लगाइदिएको छ। कसै कसैले ट्याक्सीमा उठेको भन्दा दुई चार पैसा बढी माग्यो भन्दैमा ठग लुटेरा भन्न पाइन्छ। उसले किन माग्यो त खान नपुगेरै मागेको त होला नि। दिनभरि कमाएको पैसाले बालबच्चा पाल्नै प-यो घर भाडा तिर्नै प-यो। बरु सरकारले लुटेरा भन्छ भने हाम्रो घर चलाइदेओस् हामी ट्याक्सी चलाइदिन तयार छाैँ।
प्रस्तुति : भोला अधिकारी

Leave A Comment