सम्पत्तिमा नाबालकको हक

मङ्गलबार, १५ पुष २०७६, १० : ०९ स्वीकृति बराल
सम्पत्तिमा नाबालकको हक

म सानो छँदा आमा र बाबुको नाममा भएको जग्गा दुवैले बिक्री गर्नु भएछ । मेरो समेत हक लाग्ने सम्पत्ति बिक्री गरेकाले ममाथि अन्याय भएको छ। के मैले अब आमाबाबुले बिक्री गरिसकेको सम्पत्ति पाउन सक्दिन ?

मुलुकी देवानी (संहिता) ऐन, २०७४ र मुलुकी देवानी कार्यविधि (संहिता) ऐन, २०७४ को परिच्छेद ४ को दफा ११४ मा प्रत्येक नाबालकलाई आमाबाबुले संयुक्त रुपमा हेरचाह र स्याहार सम्भार गर्नु पर्नेछ भनेर स्पष्ट रुपमा व्यवस्था गरेको छ।

त्यस्तै, बालबालिकासम्बन्धी ऐन, २०७५ को परिच्छेद ३ को दफा १७ (१) मा पनि बालबालिकाको हेरचाह, पालनपोषण र वृत्ति विकासमा बाबु र आमा दुवैको समान दायित्व हुनेछ भन्ने व्यवस्था एकातिर गरेको छ भने परिच्छेद १० को दफा २१५ को उपदफा (२) को प्रतिबन्धात्मक वाक्यांशले नाबालक अंशियारको अंश छोडपत्र गर्न सकिने छैन भन्ने व्यवस्था पनि गरेको छ।

यसरी व्यवस्था गर्दागर्दै पनि परिच्छेद ११ को दफा ४२० ले भने घर व्यवहारका लागि सगोलको सम्पत्ति बिक्री गर्न सक्ने व्यवस्था गरेको छ। यसबाट हाम्रो कानुनले बालबालिकाको हक संरक्षण गर्ने गरेको र तिनै बालबालिका हुर्काउन, आवश्यक घरव्यवहार चलाउन पनि हाम्रो कानुनले व्यवस्था गरेको छ।

त्यसैले नाबालक हुँदा बाबुआमाले कति जग्गा बिक्री गरे अनि हाल कति जग्गा बाँकी छ प्रश्नमा त्यो खुलेको छैन। त्यसैले आधा जग्गा हुर्काउने, पढाउने र अन्य व्यवहार गर्न बिक्री गरिएको हो भने त्यसलाई कानुनबमोजिम नै मानिन्छ।

तर यदि गलत मनसायले नै बिक्री गरी हकमा आधात नै पु-याउन खोजेको अवस्था हो भने दफा ४९२ ले अक्षम वा अर्ध सक्षम व्यक्तिको सम्पत्ति हिनामिना वा नोक्सान गर्न  वा बिगार्न लेनदेन गरेको विषयमा नालिस गर्न हदम्याद लाग्ने छैन भन्ने व्यवस्था गरेको छ।

यति मात्र होइन मुलुकी देवानी कार्यविधि (संहिता) ऐन, २०७४ को परिच्छेद ५ को दफा ५२(१) ले ‘फिरादपत्र गर्नुुपर्ने कुनै व्यक्ति नाबालक भएमा निज बालिग भएको दिनदेखि निजको हकमा हदम्याद प्रारम्भ भएको मानिने छ’ भनेको छ। त्यसैले यहाँ उल्लेख गरिएका कानुनहरुका आधारमा आफूलाई परेको समस्यामा कानुनी उपचार पाउन सकिन्छ।

बुझ्नुपर्ने कुरा के छ भने कानुनले आमाबाबुलाई सन्तानको हकहितका लागि वा घरव्यवहार चलाउनका लागि आधासम्म सम्पत्ति बिक्री गर्न सक्ने अधिकार दिएको छ भने अर्कोतिर नाबालकको हक जाने काम भएमा नाबालक व्यक्ति बालिग भएको दिनदेखि निजको हकमा हदम्याद प्रारम्भ भएको मानिने छ भनेर बालबालिकाको हकको सुरक्षा गरेको छ।

हाम्रो समाजमा बाबुआमाको आफ्नो सन्तानप्रतिको कर्तव्य र दायित्व अनि सन्तानहरुको आफ्ना अभिभावकहरुप्रतिको कर्तव्य र दायित्व बृहत् छ।

सोही कुरालाई मनन गरी हाम्रो कानुनले पनि बाबुआमाको अधिकारलाई विचार गरेर चलमा सबै र अचलमा आधासम्म व्यवहार चलाउन पाउने व्यवस्था गरिदिएको छ। त्यस्तै, बाल बालिकाहरुको हकमा आघात नहोस, बालबालिकाहरु अन्यायमा नपरून भनेर पनि नाबालक व्यक्ति बालिग भएको दिनदेखि मात्र निजको हकमा हदम्याद प्रारम्भ हुने भन्ने व्यवस्था गरेर बालबालिकाको हकको संरक्षण स्पष्ट रुपमा गरिदिएको छ।

यसरी हाम्रो मुलुकी देवानी (संहिता ) ऐन, २०७४ र मुलुकी देवानी कार्यविधि (संहिता) ऐन, २०७४ ले बाल बालिकाहरुको हक अधिकारको संरक्षण गर्नका लागि व्यवस्था गरिदिएको छ। त्यसैले यदि साँच्चै अन्यायमा परेको हो भने कानुनी बाटोबाट अधिकार पाउन सकिन्छ।

Leave A Comment