धर्मको आडमा यौनलीला : अस्पतालबाटै पक्राउ, अस्पतालबाटै धरौटी

शनिबार, १९ पुष २०७६, १२ : ०० शुक्रवार
धर्मको आडमा यौनलीला : अस्पतालबाटै पक्राउ, अस्पतालबाटै धरौटी

आफ्नै चेलीबाट बलात्कारको आरोप लागेर प्रहरीले पक्राउ गर्ने सुइँको पाएपछि कृष्णदास गिरी हृदयघातको नाटक गरेर विराटनगरको विराट नर्सिङ होममा भर्ना भएपछि पक्राउबाट जोगिएनन्। उनी मंसिर १६ मा अस्पतालबाटै पक्राउ परे।

म्याद थप भयो, अनुसन्धान पनि सकियो। अभियोग पत्र दर्ता भएसँगै थुनछेकको बहसपछि उनी तीन लाख धरौटी तिरेर मुक्त भए। एक महिनाको यी सबै कानुनी प्रक्रिया पूरा गर्दा उनी एक दिन पनि प्रहरी हिरासत बसेनन्।

अदालत पु-याएर म्याद थप गरेर प्रहरी हिरासतको साटो प्रहरीले उनलाई पुनः अस्पतालै पु-यायो। कारण, अस्पतालका चिकित्सकले स्वास्थ्य अवस्था गम्भीर छ भन्नु थियो। अस्पतालबाट पक्राउ परेका उनी एक महिनाको कानुनी प्रक्रिया पूरा गरेर पुस १४ मा तीन लाख धरौटी बुझाएर अस्पतालको बेडबाट मुक्त भए।
प्रतिनिधि सभाका तत्कालीन सभामुख कृष्णबहादुर महराले संसद्को एक कर्मचारीको बलात्कार प्रयास गरेको आपराधिक घटना राष्ट्रिय बहसको विषय बनिरहेको बेलामा कृष्णदासले धर्मको आवरणमा बलात्कार गरेको सार्वजनिक भएको थियो।

प्रारम्भमा प्रहरीले जाहेरी लिन अस्वीकार गरेको घटना प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको निर्देशनपछि दर्ता भएको थियो। पीडित युवतीले अनुसन्धान शुरु हुँदा नै अनुसन्धानको जिम्मेवारी पाएका सुनसरीका डिएसपी विनोद शर्माले मिलापत्र गर्न दबाब दिएको दाबी गरेकी थिइन्।

कृष्णदासविरुद्ध जाहेरी दर्तासँगै उनका अन्य अनुयायीले महिलाकै गल्ती देखाउन उनीहरुबीच भएको फेसबुक च्याट सार्वजनिक गरे। केही दिनमा महिलासँग माफी माग्दै मुद्दा फिर्ता लिन कृष्णदासले गरेको अनुनयको अडियो सार्वजनिक भयो।

महिलाको बयान, प्रहरीको अनुसन्धान अनि महराको केसमा अदालतले पीडित महिलाको अडियो–भिडियोलाई प्रमाणको रुपमा दिएको महŒवको आधारमा कृष्णदासबारे थुनछेकमा पुर्पक्षको आदेश आउने अनुमान थियो तर सोमबार आदेश आउँदा ३ लाख धरौटी निस्कियो।

अडियो स्वीकार, पुर्पक्ष अस्वीकार
जिल्ला अदालत पर्साबाट उनीबारे आएको आदेशमा बलात्कारको अभियोग लागेपछि गिरीले माफी माग्दै गरेको फोन कल रेकर्डलाई प्रमाणको रुपमा स्वीकार गरिएको छ। उनले सो अडियोमा आफूबाट गल्ती भएको स्वीकार्र्दै अब लिङ्ग काट्न तयार भएको भन्दै उजुरी फिर्ताका लागि अनुनय गरेका थिए।

आदेशअनुसार गिरीले सो आवाज आफ्नो नभएको दाबी गरे पनि परीक्षणमा सो आवाज उनकै हो भन्ने प्रतिवेदन आएकाले अन्यथा हुन नसकेको भन्दै अभियोगमा उनी निर्दोष हुन् भन्न सक्ने अवस्था नरहेको स्वीकार गरिएको छ। प्रमाणको रुपमा अदालतमा पेश गरिएको अडियो गिरीको हो हैन भनेर ल्याब परिक्षण गर्दा ७० प्रतिशतसम्म मिलेको थियो।

सो अडियो उनकै स्वीकार गरिएकाले अडियोमा उनले गरेको कुराकानीमा बलात्कार भएको देखिन्छ तर अदालतबाट ‘पछि प्रमाण बुझ्दै जाँदा ठहरे बमोजिम हुने गरी’ तीन लाख धरौटी मागियो।

धरौटी माग्न अदालतले गिरी र पीडित महिलाबीच भएको ५३ वटा फेसबुक म्यासेजलाई आधार बनाएको देखिन्छ। आदेशमा ‘प्रतिवादीले एकतर्फी रुपमा सिद्धबाबालाई गरेको करिब एक वर्षसम्मको ५३ थान मुख्य अंश गरेको आशक्तिपूर्ण प्रेम रसका म्यासेजहरु हाल अन्यथा नभएको परिवेशमा प्रस्तुत वारदातलाई जबर्जस्ती करणी भनी मुद्दाको पुर्पक्ष गर्नका लागि प्रतिवादीलाई थुनामा राखी कार्बाही गर्नु औचित्यपूर्ण नरहेको’ उल्लेख छ।

अडियोको आधारमा संलग्न हैन भन्न सक्ने आधार नभएको तर म्यासेज हेर्दा बलात्कार हो भन्न सकिने अवस्था पनि नभएको आधारमा अदालतबाट धरौटीको आदेश आएको देखिन्छ।

महिलाले पनि आफूले म्यासेज गरेको स्वीकार गर्दै आएकी छन्।  गिरीले आफूलाई एकोहोरो बनाएको, उनलाई नै भेटौँभेटौँ हुने गरेपछि म्यासेज पठाएको उनको तर्क थियो।

Leave A Comment