पारसको टिमलाई पिपिएल

शनिबार, १९ पुष २०७६, १२ : २१ शुक्रवार
पारसको टिमलाई पिपिएल

दोस्रो संस्करणको नमस्ते पोखरा प्रिमियर लिग (पिपिएल) टि २० क्रिकेटको उपाधि चितवन राइनोजले जित्यो। पोखरा रंगशालास्थित क्रिकेट मैदानमा गत शनिबार भएको फाइनलमा विराटनगर टाइटन्सलाई ३२ रनले हराउँदै चितवनले उपाधि पायो।

पहिलो संस्करणमा पोखरा पल्टनसँग पराजित हुँदै उपविजेतामा चित्त बुझाएको चितवनले दोस्रो संस्करणमा आएर नतिजा आफ्नो पक्षमा पारेको हो। टिमको मिहिनेतले उपाधि जित्न सफल भएको कप्तान पारस खड्काले प्रतिक्रिया दिए। 

पिपिएल दोस्रो संस्करणको बेस्ट ब्याट्सम्यान काठमाडौं गोल्डेन वारियर्सका कप्तान ज्ञानेन्द्र मल्ल चुनिए। पहिलो चरणको खेलमा धनगढी विरुद्धको खेलमा ३८ बलमा ९ छक्का र ८ चौका प्रहार गर्दै उनले शतक पारी खेलेका थिए।

म्यान अफ द सिरिजको उपाधि चितवन राइनोजका रोहन मुस्ताफाले हात पारे। विराटनगर विरुद्धको फाइनलमा रोहनले अर्धशतक हानेका थिए। बेस्ट बलरको उपाधि पनि चितवनका खेलाडी करण केसीले हात पारे। पिपिएलका ६ खेलमा करणको नाममा १४ विकेट छ।

मोस्ट भ्यालुएबल प्लेयर विराटनगरका लोकेश बम चुनिए। उनले लिग चरणकै चितवन विरुद्धको खेलमा ३६ बलमा ५ छक्का र ५ चौकाको सहायतामा ६२ रन बनाउँदै उत्कृष्ट ब्याटिङ गरेका थिए। मोस्ट इमर्जिङ प्लेयरको उपाधि धनगढी ब्लुजका अनिल खरेलले हात पारे। धनगढीले खेलेका ५ खेलमा उनले बलिङको अवसर पाए। ती खेलमा उनको नाममा ८ विकेट रह्यो।

Leave A Comment