न्युयोर्कमा मुसा आतंक

सोमबार, २१ पुष २०७६, १२ : १२ शुक्रवार
न्युयोर्कमा मुसा आतंक

न्युयोर्कमा मुसा आतंक ठूलो कुरा होइन। यत्र, तत्र, सर्वत्र यो सानो जीव दौडिरहेको हुन्छ। यस पटकको आतंक यी साना मुसाको होइन, ठूलै मुसाको चलिरहेको छ। यो आतंक साँच्चिकै मुसाको पनि होइन, मुसा आकृतिको हो। खासमा जिराफभन्दा अग्लो र ठूलो मुसाले न्युयोर्कमा यतिबेला दुःख दिइरहेको छ।

हिजोआज अमेरिकाको न्युयोर्कका कामदारहरुले आफूले काम गर्ने कम्पनीको बाहिर मुसाको ठूलो बेलुन उडाइरहेका छन्। उनीहरुले व्यवस्थापनसँगको असहमति व्यक्त गर्न यस्तो बेलुन उडाएका हुन्।

यो मुसो कस्तो छ भने उसका दाह्रा निस्किएका छन्, आँखा राक्षसका जस्ता ठूला र बाहिर निस्किएका राता छन् अनि पेट ढुस्स परेको छ।

निर्माण व्यवसायमा कार्यरत मजदुरहरुको रकम समयमा नदिइएको भन्दै यस्तो प्रदर्शन गरिएको हो। सार्वजनिक ठाउँमा यसरी मुसो उभिएपछि सर्वसाधारणको चासो बढ्ला भनेर मजदुरहरुले यो मुसा उभ्याएका हुन्।

‘मुसो उभिएपछि सर्वसाधारण टक्क अडिन्छन् र सोध्न थाल्छन्,’ एक जना मजदुरले भने, ‘यति भएपछि त ती मालिकको सातो जानु पर्ने हो।’
विरोधको यो शैली सन् १९९० को दशकबाट शिकागो शहरमा शुरु भएको थियो।

बिग स्काई बलुन कम्पनीले निर्माण गरेको यो मुसो यसरी न्युयोर्कको मुख्य चोकमा उभिएकामा निर्माता दङ्ग छन्।

६ फुटदेखि २५ फुटसम्मका अग्ला यी मुसाले आँखा तरेर हेरेको धेरैलाई भने मन परेको छैन। यही कारण पनि यस मुसाप्रति धेरैको चासो बढेको मजदुर युनियनले जनाएको छ।

केहीले भने विरोधको यो शैली अघि बढेर ह्वाइट हाउससम्म पुग्ने र त्यसले आफूलाई पक्राउ पार्नेसम्मको गतिविधि हुनसक्ने यसका विरोधकर्ताले आँकलन गरिसके। हेलस्टोर्म नाम बताउने एक मजदुरले भने, ‘यो मुसो यहाँ गर्वका साथ उभिएको पक्कै ट्रम्पले रुचाएका छैनन्। यो मुसोका कारण म पक्राउ पर्न पनि सक्छु। तर म यसका लागि तयार छु।’

Leave A Comment