नृत्यविरोध

सोमबार, २१ पुष २०७६, १२ : ३२ शुक्रवार
नृत्यविरोध

संसारभरका जनता यतिबेला सरकारसँग रुष्ट छन्। नत्र फ्रान्सलाई नै हेर्नुस् न ! त्यहाँ कर्मचारीहरुको पेन्सन कटौती कानुनविरुद्ध त्यहाँका कर्मचारी यति आक्रोशित छन् कि सरकारका अनेक प्रयासका बाबजुद पनि तीव्र विरोध र आन्दोलनका कार्यक्रम जारी छन्।
हालै सरकारको विरोधमा त्यहाँका ब्याले नृत्याङ्गनाहरुले सडकमा नाचेर विरोध प्रदर्शन गरे।

क्रिसमसको पूर्वसन्ध्यामा सो नृत्यविरोध कार्यक्रम आयोजना गरिएको थियो। त्यसो त यो विरोध कुनै हावा तालमा गरिएको भने होइन। यसमा बकाइदा पेरिस अपेराको शैलीलाई संक्षेपीकृत शैलीमा नृत्य पेश गरिएको थियो।

विरोधकर्ताको भनाइ थियो, ‘जब जनजीविकामा असर पर्छ, संस्कृति खतरामा पर्छ। तसर्थ हामीले संस्कृति नै धरापमा पार्ने सरकारको पछिल्लो कदमको नृत्यमार्फत विरोध गरेका हौँ।’

कर्मचारीले निश्चित समय काम गरेपछि अवकाश लिने चलन फ्रान्समा नै शुरु भएको थियो। लुई चौँधौँको पालामा सन् १६९८ मा ४२ वर्षको उमेरमा अनिवार्य रुपमा सरकारी कर्मचारीले अवकाश पाउने गर्थे। त्यो बेलाको अधिकतम आयु यही हुन्थ्यो।

विरोधकर्ताहरुले ठण्डीको समयमा ओपेराबाहिर सडकमा सीमित लुगामा विरोधका लागि नृत्य गरेकामा यसका आयोजकले नृत्याङ्गनाहरुलाई धन्यवादसमेत दिएका छन्।

तीन सातायता फ्रान्सको सार्वजनिक यातायात ठप्प छ भने पेरिस ओपेराको नियमित प्रदर्शन पनि स्थगित छ।
हडतालका कारण सबैलाई समस्या छ, स्वयं अपेरालाई पनि अप्ठेरो परेको नृत्याङ्नाहरुको धारणा छ।

Leave A Comment