घाम छल्न छाता

शुक्रबार, २५ पुष २०७६, ०१ : २० शुक्रवार
घाम छल्न छाता

पुस महिनाको चिसो मौसममा जनकपुरमा घाम र छाता एकै ठाउँमा देखिएछन्। न त गर्मी छल्न छाता निकालिएको हो, न पानी छल्न नै। चिसोमा राजनीतिक न्यानोका लागि छाता र घाम एकै ठाउँमा भेट भएका हुन्।

एउटा उखान छ नि, ‘कहीं नभएको जात्रा हाँडीगाउँमा’ ! हो, त्यस्तै भएको छ क्या यतिबेला सत्तासीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय जनता पार्टी (राजपा) बीच।

राष्ट्रिय सभामा खाली भएका १८ सिटका लागि आइतवार उमेद्वारी दर्ता भयो। प्रदेश २ मा पनि चार सिटका लागि उम्मेद्वारी दर्ताका क्रममा जनकपुरमा परस्पर विरोधी देखिएका नेकपा र राजपाका नेता–कार्यकर्ता आ–आफ्नो झण्डासहित एकै ठाउँमा देखिए। नेकपाको चुनाव चिह्न सूर्य र राजपाले छाता बोकेर जुलुस निर्वाचन आयोग पुगेछ।

पुसको पहिलो साता दुई दलबीच बालुवाटारमा दुई बुँदे सहमति भएसँगै राष्ट्रिय सभा चुनावमा प्रदेश २ का चार सिट आधाआधा बाँड्ने  सहमति भएको थियो। समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई सत्ताबाट हुत्याएर फाल्नुअघि नेकपाले राजपासँग गठबन्धन गरेको हो। सत्ताबाट हुत्तिएपछि यादवले केपी सरकारको आलोचना गर्दै मुखबाट अमिलो पानी ओकलिरहेका छन्। राजपा पनि दुई बुँदेसहमति अघिसम्म नेकपाको चर्को विरोध गर्दै अमिलै पानी ओकल्दै थियो। तर अहिले उसको मुख नजिकै मिठाई पुगेझैं मुख मिठ्याइरहेको छ। 

सत्ताको मोलमोलाईमा कार्यकर्ताबीचको संकोचको के अर्थ ! कार्यकर्ताबीचको शंकाको बाबजुत नेकपा–राजपाको सहमति भयो।

हुन त एक भएर अगाडि बढ्नु सकारात्मक पक्ष हो। यो सहमतिले राजनीतिमा कोही पनि सधैं सत्रु वा सँधै मित्र नहुने सन्देश दिन सक्छ। तर यो सत्ताको मोलमोलाईका लागि देखिएकाले कति दिनसम्म दुवै पार्टीको आत्मियता रहने हो, त्यो त हेर्न बाँकी नै छ। सत्ताको घाम छाताले कति दिन छल्न सक्ला र !

Leave A Comment