जाङ्बु शेर्पा, अमेरिका
सपनाको देश अमेरिकामा सबैको सपना पूरा हुन सम्भव छैन। जो सपनाको भारी बोकेर आउँछन्, त्यही भारीले थिचिएर मानसिक तनावमा पुग्छन् र आत्महत्याको बाटो रोज्छन्।
यकिन आँकडा भेटिन्न। तर सार्वजनिक भएका घटनाहरु हेर्ने हो भने अमेरिका आएर आत्महत्या गर्ने नेपालीको संख्या झण्डै एक दर्जन हाराहारी पुगिसक्यो। यसमा विद्यार्थीको संख्या धेरै छ।
दुई वर्षयता सानफ्रानसिस्को बे एरियामा मात्र पाँच जना नेपालीले आत्महत्या गरिसकेका छन्। सन २०१८ को सेप्टेम्बर १३ मा नेपाली विद्यार्थी सञ्जित भट्टले सानफ्रान्सिस्कोबाट केही माइलको दूरीमा रहेको सान राफेल पूलबाट उफ्रेर आत्महत्या गरे। नवलपरासीको पारसी बजारका स्थानीय भट्ट केही वर्षयता परिवारको साथ क्यालिफोर्नियाको सान फ्रान्सिस्कोको सहर नजिकै बस्दै आएका थिए।
परिवारिक स्रोतका अनुसार उनी घरमा आमाले नै पकाएको खाना खाएर बाहिर निस्किएका थिए। उनले घर छाडेलगत्तै भट्टका साथीले सुसाइड नोट देखेपछि परिवारका सदस्यहरुलाई खबर गरेका थिए।
कन्ट्रा कोस्ट कम्युनिटी कलेजबाट अध्ययन पूरा गरिसकेका उनी सान फ्रान्सिस्कोको स्टेट युनिभर्सिटीमा भर्ना हुने तयारीमा थिए। भट्टले सुसाइड नोटमा आफ्नो जीवनबाट उदास भएको लेखेका थिए।
त्यस्तै सन् २०१४ मा विद्यार्थीको रुपमा अमेरिकामा प्रवेश गरेका क्षितिज श्रेष्ठले पनि अमेरिकाको गोल्डेन गेट पुलबाटै हाम्फालेर आत्महत्या गरे। टेक्ससमा बस्दै आएका उनले सानफ्रान्सिस्को पुग्नासाथ गोल्डेन गेटको पुलबाट हाम्फालेका थिए।
प्रहरीले उनको शव दुई दिनपछि रिचमण्ड नजिकैकै प्रशान्त महासागरको किनारमा फेला पारेको थियो। समुद्रमा हामफाल्नुअघि उनले पुलमा छाडेको झोला र त्यसभित्र रहेको पासपोर्ट, ल्यापटपका आधारमा उनको सनाखत भएको थियो।
दुई वर्षअघि अमेरिकाको टेक्ससमा परिवारसहित व्यापार गर्दै आएका नवराज शिवाकोटीले आत्महत्या गरेका थिए। टेक्सासस्थित डेन्टनकी समिरा शिवाकोटीलाई एक अश्वेत अमेरिकीले गोली हानेर हत्या गरेपछि विक्षिप्त भएका उनले आत्महत्या गरेका थिए।
अधिकांशको आत्महत्या झुण्डिएर
अमेरिकामा आत्महत्या गर्ने अधिकांश झुण्डिने गरेका छन्। केही समुद्रमा हाम फाल्छन् भने कोही अग्लो अर्पाटमेन्टबाट हामफाल्ने पनि छन्।
झन्डै छ वर्षअघि दाङका मोहन ओलीले न्युयोर्कस्थित अपार्टमेन्टको तेस्रो तलाबाट हाम्फालेर नै आत्महत्या गरेका थिए। दलाललाई लाखौं रकम बुझाएर विभिन्न मुलुक पार गरेर मेक्सिको हुँदै अमेरिका आइपुगेका ओलीले अपेक्षाअनुरुप कमाई नभएपछि आत्महत्या गरेको खुलेको थियो।
२४ वर्षीय युवा गणेश तिवारीले क्यालिफोर्नियाको हाइल्यान्ड अर्पाटमेन्टमा झुण्डिएर आत्महत्या गरेका थिए। साथीसँग फोनमा कुरा गर्दागर्दै उनले आत्महत्या गरेका थिए। अपार्टमेन्टमा उनी साथीहरुसँग बस्थे।
दिउँसो ३ बजेदेखि काममा जानुपर्ने तिवारी ढिलो समयसम्म नउठ्दा उनका ‘रुममेट’ र अर्का एक विद्यार्थीले ढोका फुटाएर कोठामा पुग्दा उनलाई मृत फेला पारेका थिए।
‘दुई–चार पटक ढोका ढक्ढक्याउ“दा पनि खोलेन, सुतेकै होला भनेर उठाइनँ,’ उनका साथीले भने, ‘काममा जाने बेला हुँदा पनि नउठेपछि फोन गर्दा उठाएन, ढोका फुटाएर भित्र पस्दा झुन्डिसकेको रहेछ।’
२०१६ अगस्टमा विद्यार्थी भिसामा अमेरिका आएका तिवारी मिनिसोटा युनिभर्सिटीमा कम्प्युटर साइन्स पढ्न भर्ना भएका थिए। ग्र्याजुएट नभई झन्डै डेढ वर्षअघि उनी क्यालिफोर्निया आएका थिए।
केहीले भने परिवारमा भएको सामान्य विवादलाई आधार मानेर आत्महत्या गरेको देखिन्छ। केही वर्षअघि मात्र शिकागोमा गुडिरहेको कारबाट हाम फाल्ने दिनेश श्रेष्ठले आफ्नै ज्यान लिए। गाडी हाँकिरहेकी श्रीमतीसँग सामान्य विवाद हुँदा उनी गुडिरहेको गाडीको ढोका खोलेर हाम्फालेका थिए।
आत्महत्या गर्नेहरुमा विद्यार्थी मात्र नभएर अमेरिकामा नै कानुनी रुपमा बसोबास गरिरहेकादेखि सम्पन्न जीवनको कल्पना गर्दै पैसा तिरेर गिरोहमार्फत अमेरिका प्रवेश गर्नेहरु पनि छन्।
२६ लाख रुपैयाँ खर्च गरेर दलालमार्फत मेक्सिको हुँदै अमेरिका आएका नाम नखुलेका एक नेपालीले सन् २०१२ को अगस्त २४ मा आत्महत्या गरेका थिए। उनी डिप्रेसनको बिरामी थिए।
सन् २०१७ को अन्त्यतिर मिसिसिपीका एक विद्यार्थीले पनि तालको नजिकै झुण्डिएर आत्महत्या गरे। कलेजको समस्याले तनावमा रहेका उनले कामबाट सिधै गएर आत्महत्या गरेका थिए।
क्यालिफोर्नियामा आत्महत्या बढी
अमेरिकामा अन्य राज्यको तुलनामा संख्यात्मक रुपमा क्यालिफोर्निया राज्यमा आत्महत्या गर्नेको संख्या धेरै देखिन्छ।
क्यालिफोर्नियास्थित सनी सगरमाथा समाजका अध्यक्ष सन्तोष गिरीका अनुसार एकतिर जोखिमपूर्ण मार्ग भएर आएको कारण थकित शरीर र ऋणको बोझले तनावग्रस्त मानसिकताका कारण आत्महत्याको बाटो रोज्ने गरेको बताउँछन्।
अमेरिकाको आवरण रङ्गीन भए पनि जीवन शुरु गर्दा शून्य बिन्दुबाट आरम्भ गर्नुपर्ने भएकाले प्रारम्भमै सोचेजस्तो नतिजा नआएपछि निराश भएर जीवन त्याग्ने गरेको देखिएको गिरीले बताए।
अपराधपछि आत्महत्या
कतिपय नेपाली केही अपराधमा फँसेपछि पनि आत्महत्याको बाटो रोजेका छन्। सन् २००८ मा नेपाली चिकित्सक शिवलाल आचार्यले जेलमै आत्महत्या गरेका थिए। उनले हाँकेको गाडीले मोटरसाइकल चालकलाई ठक्कर दिएको थियो। ठक्करपछि मोटरसाइकल चालकको मृत्यु भयो। ठक्कर दिएर भागेपछि आचार्य हिट एन्ड रनको अपराधमा जेल पुगे र कारागारमा नै उनले आत्महत्या गरे।
चिन्तालाग्दो अवस्था
अमेरिकामा हुने अधिकांश आत्महत्याको कारण एक्लोपना देखिए पनि नेपालीको हकमा भने आर्थिक समस्या मुख्य देखिएको छ। आत्महत्या गर्ने अधिकांश मानव तस्करको सहयोगमा स्थलमार्ग हुँदै अमेरिका आइपुगेकाहरु देखिन्छन्।
ज्यानै जोखिममा पारेर लामो दुरी पार गरेर आउनेहरु ऋणको भारी बोकेर आइपुगेका हुन्छन्। बाटोमै उनीहरु मानसिक रुपमा विक्षिप्त भइसकेका हुन्छन्। अवैध रुपमा अमेरिका प्रवेश गरेसँगै कानुनी झण्झट शुरु हुन्छ। एकातिर ऋण र ब्याजको भारी, अनिश्चित भविष्य अनि कमजोर मानसिक अवस्थाका कारण उनीहरु आत्महत्याको बाटो रोज्ने गरेको देखिन्छ।
विद्यार्थीको हकमा आत्महत्याको कारण आर्थिक देखिन्छ। युनिभर्सिटी अफ टेक्ससमा अध्ययनरत विद्यार्थी रोशन श्रेष्ठका अनुसार अमेरिकामा पाइला टेकेदेखि नै प्रायः विद्यार्थीहरु कामकै खोजीमा लाग्छन्।
नेपालबाट आउने अधिकांश विद्यार्थीको कलेज शुल्क बुझाउने स्रोत यतै कमाएर तिर्ने नै हो। कलेजको शुल्क, दैनिक खर्च, भाडा लगायतको खर्च जोहो गर्न दैनिक १८ घण्टासम्म काम गर्नुपर्ने बाध्यताले समेत उनीहरु मानसिक रुपमा कमजोर बन्दै जान्छन्। संघर्षको यही सिलसिलामा हार खाएकाले आत्महत्याको बाटो रोज्ने गरेको देखिन्छ।
एनआरएन अमेरिकाका अध्यक्ष सुनिल शाह पनि अमेरिकामा नेपाली आत्महत्याको अवस्था चिन्ताजनक रहेकोमा सहमत छन्। विशेषतः आर्थिक बोझका कारण मानसिक तनावको उच्च बिन्दुमा पुगेपछि हतोत्साही भएर आत्महत्याको बाटो रोज्नेहरु बढेको उनले बताए।
नेपाली समूदायमा आत्महत्या जटिल समस्याको रुपमा देखिएको बताउँदै रोकथामका लागि संगठनले विभिन्न विश्वविद्यालयहरुमा टास्क फोर्स गठन गरिरहेको बताए।
क्यालिफोर्नियास्थित सनी सगरमाथा समाजका अध्यक्ष सन्तोष गिरीका अनुसार नेपालीको आत्महत्याको कारण आर्थिक नै देखिए पनि अमेरिका प्रवेश गरिसकेपछि परिवारको उच्च महत्वाकांक्षाले मानसिक दबाब बढाउने गरेको देखिन्छ।
अमेरिका गएपछि पैसाको के दुःख भन्ने मानसिकता बोकेर आउने, भाषा र सीप बिना नै प्रवेश गर्ने, उच्च मनोकांक्षा, चाँडै सम्पन्न हुने लालसा लगायतका समस्याले मानसिक विचलनमा पुग्दा आत्महत्याको बाटो रोजेको देखिन्छ।
जोखिममा युवा
आत्महत्याको विश्वव्यापी तथ्याङ्क नियाल्दा प्रभावित उमेर समूह भनेको युवावर्ग नै देखिन्छ। अमेरिकामा समेत युवा उमेरकाहरु नै आत्महत्याको बढी जोखिममा पर्ने गरेका छन्।
अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनको सन् २००७ देखि २०१७ सम्मको तथ्याङ्कलाई विश्लेषण गर्ने हो भने अमेरिकामा १० वर्षदेखि २४ वर्षसम्म उमेर समूहको आत्महत्या दर ५६ प्रतिशतले बढेको देखिन्छ। अमेरिकामा २०१७ मा मात्रै आत्महत्या गरेर ४७ हजारको ज्यान गयो। यसमा पुरुषको संख्या बढी छ। सन् २०१६ मा प्रति एक लाख पुरुषमा आत्महत्या दर १३.५ रहेको थियो भने प्रति एक लाख महिलामा यो दर ७.७ रहेको थियो।
अमेरिकामा यो विकराल समस्या विशेषतः एक्लोपना, डिप्रेसन, मदिरा तथा लागू औषधको कारण नै मानिए पनि विश्व स्वास्थ्य संगठनका अनुसार द्वन्द्वको मारमा परेका, प्राकृतिक विपद्, हिंसा, दुव्र्यवहारका पीडित, आफन्त गुमाएका र आफूलाई एक्लो ठान्ने मानिसहरू पनि जोखिममा हुन्छन्।
कतिपय आत्महत्या क्षणिक आवेश र तनावपूर्ण अवस्थालाई सम्हाल्न नसक्दा पनि भएको मनोचिकित्सकहरुको भनाइ छ। अमेरिकास्थित स्वास्थ्य सेवा विभागअन्तर्गत आत्महत्या रोकथाम शाखाका प्रमुख रिचर्ड म्याकेनले पनि आत्महत्यालाई गम्भीर समस्याको रुपमा व्याख्या गर्दै अझै धेरै गर्न त्यसको उपचारलाई उच्चस्तरमा गरिनु पर्ने बताए।
रोकथामलाई सहज बनाउने प्रविधि
अमेरिकी स्वास्थ्य प्रणालीले आत्महत्या रोक्न सबैभन्दा ठूलो अवरोधमध्ये कुनै पनि व्यक्ति कमजोर मानसिक अवस्थामा रहेको अवस्थामा उनीहरुसँग नियमित सम्पर्कमा नरहनुलाई उल्लेख गरेको छ।
धेरैजसो अमेरिकी अस्पतालहरूमा आत्महत्याको प्रयासपश्चात् सामान्यतः आकस्मिक कक्षमा उपचार गरिन्छ। उपचारपश्चात् मानसिक रोग विशेषज्ञहरुको अनुसरण गर्ने चिकित्सकहरुको निर्देशनका साथ डिस्चार्ज गरिन्छ।
अमेरिका क्राइसिस डिजास्टर म्यानेजमेन्टका उपप्रमुख वेकी स्टोलका अनुसार अस्पतालबाट मुक्त हुनेबित्तिकै धेरै मानसिक रोग विशेषज्ञकहाँ नै पुग्दैनन् र पुगे पनि धेरैले त्यो सल्लाह लिदैनन्। अस्पतालको सम्पर्कबाट पनि उनीहरु बाहिर हुन्छ। उनीहरुमा फेरि आत्महत्या गर्ने जोखिम अत्यधिक रहन्छ।
उनले त्यसको निराकरणका निम्ति आत्महत्याको जोखिम भएकाहरुसँग निरन्तर सम्पर्कमा रहने त्यसको निम्ति नयाँ प्रयोगको रुपमा धेरै अस्पतालहरुमा विद्युतीय मेडिकल डिभाइस प्रयोगमा आइसकेको बताए। मनोचिकित्सक डा. गे्र गोेरी सिमोनले पनि त्यस्तो प्रविधिले बिरामी चिकित्सकको निगरानीमा हुने हुँदा जोखिम कम हुने बताउँछिन्।
Leave A Comment