प्लास्टिक प्रतिबन्ध भए के गर्ने ?

सोमबार, २८ पुष २०७६, १२ : ०७ शुक्रवार
प्लास्टिक प्रतिबन्ध भए के गर्ने ?

तपाईं–हाम्रो दैनिक जीवनमा प्लास्टिक अभिन्न अङ्ग बन्न पुगेको छ तर यो यति हानिकारक छ कि सबै जसो समुद्रका प्राणीको काल बन्न पुगेको छ। त्यसैले त हरेक देशले यसको प्रयोगमाथि प्रतिबन्ध लगाउन नसके पनि नियन्त्रण गर्न ठूलै कसरत गर्न थालेका छन्।

हालै नयाँ वर्ष २०२० को उपलक्ष्य पारेर थाइल्यान्ड  सरकारले यसको नियन्त्रणका लागि प्लास्टिकको न्यूनतम प्रयोगमा नागरिकको सहयोग खोजिरहेको छ। एउटा अध्ययनअनुसार थाइल्यान्डमा हरेक मानिसले दिनको आठ पटक प्लास्टिक प्रयोग गर्ने गर्छ। अर्थात्, कुनै मानिस बजार गयो भने उसको हातमा कम्तीमा पनि आठ वटा प्लास्टिकको ब्याग घर ल्याएर थुपार्ने गर्छ।

यसलाई कम गर्न सरकारले गरेको अनुरोधसँगै त्यहाँका ठूला सपिङ मल, साना व्यवसायीहरुले पनि प्लास्टिकको ब्यागको साटो अरु नै चिजबिजहरु प्रयोगमा जोड दिन थालेका छन्।

यही कुरालाई नागरिकको तहबाट कत्तिको उत्साहजनक प्रतिक्रिया छ भन्ने बुझ्न सामाजिक सञ्जाल हेरे पुग्छ। त्यसमा प्लास्टिकको ब्याग बिना पनि कसले के के गरेर यो अवसरलाई सदुपयोग गरिरहेको छ भन्ने हेर्न पाइन्छ।

कतिले प्लास्टिकको ब्याग बिना नै कतिपय चिजबिज सकीनसकी दुई हातले बोकिरहेको छ, कसैले अँगालोभरि सामान ओसारिरहेको छ। अनि, यी सबै तस्बिरहरुले सामाजिक सञ्जालमा मज्जैले वाहवाही पाइरहेका छन्, लाइकका वर्षा भइरहेका छन्।

त्यहाँको स्थानीय सेभेन एलेभेन पसलले त प्लास्टिक ब्यागको साटो घरैबाट झोला बोकेर ल्याउनेहरुलाई विभिन्न उपहारसमेत दिइरहेको छ।

समुद्र प्रदूषणमा थाइल्यान्डको भूमिका अन्य शक्तिशाली राष्ट्रझैँ रहेको विज्ञहरुको धारणा छ। पछिल्ला केही समय प्लास्टिकका कारण कछुवाले गर्नुपरेको संघर्ष, ह्वेलको मृत्यु र अन्य खबरका कारण जनस्तरमा प्लास्टिक प्रतिबन्धका लागि तीव्र दबाब बढेर गएको छ। यस किसिमको सचेतना कार्यक्रमले तिनमा ठूलो प्रभाव पनि पारिरहेको केहीको धारणा छ।

सरकारले सन् २०२२ सम्म प्लास्टिक प्रयोगलाई निर्मूल गर्ने कार्यक्रम अघि सारेपछि यसलाई अभियानका रुपमा नै अघि बढाइएको हो। हरेक टेलिभिजनमा प्लास्टिक ब्यागलाई क्रस पारेर प्रयोग दुरुत्साहन गरिँदैछ।

‘सबैभन्दा ठूलो कुरा चाहिँ सर्वसाधारण जनता नै जागिरहेका छन्,’ बिग सी सुपरमार्केटका एक अधिकारीले भने, ‘यस्तो भएपछि त परिवर्तन सम्भव भइहाल्छ नि !’

Leave A Comment