ज्ञानेन्द्रको दिव्योपदेश

शुक्रबार, ०३ माघ २०७६, ०१ : १६ शुक्रवार
ज्ञानेन्द्रको दिव्योपदेश

आफूले केही गर्न नसक्ने अनि पुर्खाको भजन गाएर आफ्नो दुनो सोझ्याउन खोज्ने नेपालीहरुको साझा समस्या हो। यो समस्याबाट पूर्वराजा ज्ञानेन्द्रसमेत कसरी जोगिन सक्थे र !

इन्डियाले नेपाली भूभागसमेत समेटेर नक्सा जारी ग-यो, पूर्वराजा चूप रहे। बरु त्यसको साटो डिस्कोमा गएर कम्मर मर्काएर विषयान्तर गर्न सघाउसमेत पु-याए। यस्ता पूर्वराजाले २९८ वर्ष पहिले जन्मिएका आफ्ना पूर्वजका नाममा विज्ञप्ति निकाल्न भ्याइहाले।

हुन त एकताका सिंहासनमा बसेकै हुन्, राष्ट्रका नाममा सम्बोधन पनि गरेकै हुन्। हुकुम चलाएकै हुन् र कतिपयलाई हुकुमप्रामाङ्गीबाट सिधा बाटो प्रगति गराएकै हुन्।

अब त्यस्तो रजगज गरेको मन, त्यत्तिकै बस्न कहाँ पाइयो र ? त्यसमाथि आफ्ना पुर्खाको डिङ हाँक्ने सुअवसरलाई गुमाउनै मिलेन नि !

त्यसैले त पृथ्वीनारायण शाहको जन्मजयन्तीमा विज्ञप्ति जारी गर्दै आफ्नो मातृभूमि सदा स्वतन्त्र, शान्त र अभिभाज्य र अखण्ड रहनुपर्ने बताएछन्। देशको समृद्धिका लागि गहकिलो प्रयास हुनुपर्ने समेत बताएछन्।
त्यतिमात्रै कहाँ हो र ! वीरगाथाका बारेमा बोल्नै नसक्ने भन्दै नेपाली राजनीतिकर्मीलाई व्यंग्य हान्नसमेत भ्याएछन्। उनले सत्य कहिल्यै नहार्ने र स्वाभिमान कहिल्यै नमर्नेसमेत दिव्योपदेश दिन भ्याए।

पृथ्वीनारायणको दिव्योपदेश आधुनिक नेपाल निर्माणमा आज पनि उत्तिकै सान्दर्भिक रहेको उनको दिव्योपदेश थियो। राष्ट्रका विषयमा बोल्नुपर्ने अवस्थामा डिस्कोमा पुगेर कम्मर मर्काउने अनि राष्ट्रिय मुद्दामा चुइँक्क नबोल्नेको यो ध्वाँस !

Leave A Comment