पोल खुल्दै छ धर्मभीरुको

शनिबार, ०४ माघ २०७६, १२ : ३१ शुक्रवार
पोल खुल्दै छ धर्मभीरुको

धर्मको आडमा अनेक धन्दामा संलग्नहरु एकपछि अर्को आपराधिक अपराधको अभियोगमा पक्राउ पर्ने श्रृंखला जारी नै छ। बलात्कार अभियोगमा पक्राउ परेका कृष्ण दास गिरी धरौटीमा छुटे। यो साता धर्मको आडमा अपराध गरेको अभियोगमा अर्का दुई जना पक्राउ परे। एक पास्टरले येशुको नाम लिँदै धम्क्याएर बलात्कार गरेको अभियोगमा पक्राउ परे भने अर्का हिन्दु गुरु आफ्ना चेलाहरुलाई विदेश पठाइदिन्छु भनेर ठगेको अभियोगमा पक्राउ परे।

ललितपुर प्रहरीले पास्टर ध्रुवबाबु जोशीलाई सोमबार कुसुन्तीबाट बलात्कारको आरोपमा पक्राउ ग¥यो। उनीविरुद्ध एक महिलाले जबरजस्ती करणीको जाहेरी दिएपछि ललितपुर प्रहरीले पक्राउ गरेर बलात्कार अभियोगमा अनुसन्धान गरिरहेको छ।

जाहेरीअनुसार जोशीले तीन महिनादेखि एक महिलालाई जबरजस्ती करणी गर्दै आएका थिए। पीडितको दाबीअनुसार खुट्टा काम्ने रोगबाट पीडित उनी निको हुने लोभमा पास्टर जोशीकोमा जाने गरेकी थिइन्। ललितपुरको मण्डली चर्चमा प्रार्थनाका लागि जाने महिलालाई उनले चापागाउँको एक गेस्ट हाउसमा बोलाएर जबरजस्ती करणी गरेको उजुरीमा उल्लेख छ। करणीपछि उनले यसबारे कसैलाई भने परमेश्वरले दिएको शक्ति नाश हुने भनेर धम्क्याएका थिए। जोशीले ती महिलाले सञ्चालन गर्दै आएको पसलमा पुगेरसमेत बलात्कार गरेपछि प्रहरीमा जाहेरी दिन पुगेकी थिइन्।

चेला ठग्ने गुरु
अर्का गुरु अनुयायीहरुलाई युरोप पठाउने भन्दै ३५ लाख ठगी गरेको अभियोगमा प्रहरी हिरासतमा छन्। ती हुन्, शिवानन्द स्वामी भनिने दीपक भण्डारी। उनीविरुद्ध युरोपमा पठाउने भन्दै चार जना अनुयायीसँग ३५ लाख रुपियाँ ठगी गरेको निवेदन परेपछि महानगरीय अपराध महाशाखा टेकुले पक्राउ गरेर ठगी मुद्दामा अनुसन्धान गरिरहेको छ।

प्रहरीका अनुसार उनले शिष्यहरुलाई विदेश पठाइदिने आश्वासन देखाएर पैसा लिए पनि विदेश नपठाएपछि उनका चेलाहरुले प्रहरीमा जाहेरी दिएका थिए। पक्राउ परेका भण्डारीको टौदहमा आश्रमसमेत रहेको छ। उनले  आफूलाई तन्त्रविद्याको विज्ञ भनेर परिचय गराउने गर्थे। उनको अपराध शैलीको आधारमा ठगिएकाहरुको संख्या बढ्न सक्ने प्रहरीको अनुमान छ।

Leave A Comment