सन्तोषको सय गोल

शनिबार, ०४ माघ २०७६, ०१ : ३३ शुक्रवार
सन्तोषको सय गोल

सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा नेपाल पुलिस क्लब र च्यासल युथ क्लब बीचको प्रतियोगितामा च्यासलका लागि दुवै गोल गरे सन्तोष साहुखलले। यी दुवै गोल उनको फुटबल करिअरका लागि महत्वपूर्ण थिए।

किनकि यी गोलले ए डिभिजनमा सय गोल गर्ने खेलाडीको रुपमा साहुखलको नाम दर्ज गरायो। २०६० बाट लिगमा खेल्न थालेका उनले अहिले चलिरहेको लिगको सुरुवाती दुई खेलमा उनले ३ गोल गरेर गोल संख्या ९९ पु-याइसकेका थिए। ए डिभिजन लिगमा सय गोल टोकेर कीर्तिमान बनेकोमा उनी निक्कै खुसी देखिन्थे।

उनले श्री स्टार क्लबबाट ए डिभिजन लिग खेल्न शुरु गरेको वर्षमै ६ गोल हानेका थिए। अर्को वर्ष एपिएफ क्लबमा आबद्ध हुन पुगेका उनले ६ गोलै गरे। २०६२ मा पुनः थ्री स्टार फर्किएका उनले लिग अवधिभर ९ गोल गरे। ०६३ मा थ्री स्टारमै रहेका उनले ११ गोल गरेका थिए।

तीन वर्षपछि थ्री स्टारको खेलाडीका रुपमा १९ गोल गरेका उनी २०६८ मा मनाङ मस्याङ्दी क्लबमा आबद्ध भए र लिग अवधिमा १६ गोल गरे। ०६९ मा फेरि थ्री स्टारमै फर्किएका उनले १७ गोल गरेका थिए। ०७० मा ९ गोल गरेका उनले ०७५ मा च्यासलमा आबद्ध भएर तीन गोल थपेका थिए। अहिले जारी लिगमा च्यासलमा आबद्ध उनले पाँच गोल गरिसकेका छन्।

राष्ट्रिय टिममा खेल्न आतुर
सय गोलको कीर्तिमान बनाए पनि उनी नेपालको राष्ट्रिय टिममा सहभागी भने छैनन्। उनी लामो समयदेखि जापानमा बस्दै आएका छन्। उनको दाबी अनुसार ५० गोलको कीर्तिमान बनाउँदा पनि राष्ट्रिय टिममा छनोट नभएपछि उनी जापान हान्निएका थिए। तर उनले फुटबललाई माया मार्न भने सकेका छैनन्। त्यसैले लिगमा टिमले बोलाउँदा उनी स्वदेश आउने गर्छन्। राष्ट्रिय टोलीमा चयन भए स्वदेश फर्किएर देशका लागि फुटबल खेल्न तयार रहेको उनले बताउने गरेका छन्।

Leave A Comment