स्कुल नजाँदै पिकासो बन्ने तयारी

सोमबार, ०६ माघ २०७६, १२ : १६ शुक्रवार
स्कुल नजाँदै पिकासो बन्ने तयारी

जर्मनीका माइकल एकर भर्खर सात वर्षका भए। स्कुले शिक्षा शुरु भएको पनि छैन, उनको प्रतिभाका कारण सारा जर्मन चकित हुन थालेका छन्।

कोलोन शहरमा जन्मिएका एकरले बनाएका चित्रकलाहरु यतिबेला चर्चामा आउन थालेका छन् भने कतिपयले त नयाँ पिकासो भनी नामकरणसमेत गर्न भ्याएका छन्। जर्मन मिडियाले भने उनलाई ‘प्रिस्कुल पिकासो’ नाम राखिदिएका छन्।

उनले बनाएका चित्र यति चर्चित हुन थालेका छन् कि यो उमेरमै हजारौँ डलर कमाउन थालिसकेका छन्। उनका चित्र जर्मनीमा मात्र नभई फ्रान्स र अमेरिकामा समेत बिक्री हुन थालेका छन्।

माइकलको यो रुचिका बारेमा उनका बुबाले उनी जन्मेको केही वर्षभित्रै थाहा पाइसकेका थिए। चार वर्षको उमेरमा माइकललाई उनका बुबाले चित्रकलाका लागि आवश्यक सामग्री किनिदिएयता भने उनी कलाकार बन्ने छाँट नै देखाए।

उनलाई सोध्ने हो भने त आफू फुटबल खेलको प्रसिद्ध खेलाडी बन्न रुचि रहेको बताउँछन् तर माइकलको काम गराई भने यतिबेलै हिट भइसकेकामा उनका बुबा करिम एकर मख्ख छन्। माइकलको म्यानेजरका रुपमा करिमले काम गरिरहेका छन्।

शुरुमा त स्वयं करिमलाई पनि उनले चित्रकला बनाएकोमा विश्वास लागेन। करिम भन्छन्, ‘उसकी आमाले राम्रै चित्र बनाइछ भन्ने लागेको थियो तर पछि त यो उमेरमा छोराले बनाएको भनेर पत्याउनै गाह्रो भयो।’

अहिले नै इन्स्टाग्राममा माइकलका ४० हजार फलोअर छन्। प्रदर्शनीका लागि पर्याप्त चित्र भइसकेकाले अब उनले जन्मघर कोलोनमै कला प्रदर्शनी गर्नेछन् भने पेरिसमा अर्को महिना प्रदर्शनी राख्ने करिमले बताएका छन्।

Leave A Comment