प्रख्यात खेलाडी ट्याक्सी चलाउँदै

शुक्रबार, १० माघ २०७६, ०१ : १८ शुक्रवार
प्रख्यात खेलाडी ट्याक्सी चलाउँदै

हुन त नेपालका एकसे एक सेलिब्रिटी अमेरिकामा भाँडा माझ्न बाध्य छन्, खेलाडीको कुरा के भयो र ? यस्तै भएको छ टर्कीका एक समयका प्रख्यात फुटबलरमाथि पनि।

हकान सुकर यतिबेला अमेरिकामा ट्याक्सी चलाएर परिवार पालिरहेका छन्। उनको ख्याति एक समय कस्तो थियो भने ब्ल्याकबर्न रोभर्सबाट इन्टर र त्यसबाट गलतसरे हुँदै आफ्नो खेलको चुली प्रदर्शन गरेका थिए।

टर्कीमा उनको प्रख्याति यति धेरै थियो कि उनी क्लब खेलाडीमध्ये लिजन्ड नै मानिन्थे। उनको खेल यात्रा २०११ मा टुंगिएपछि भने ग्रान्ड नेसनल एसेम्बलीको सदस्य बनेका थिए। यो एसेम्बलीमार्फत उनले नयाँ पुस्ताका खेलाडीहरुलाई मैदानमा ल्याउने सक्दो प्रयास गरे।

२०१५ मा एसेम्बलीको जागिर गुमाएपछि परिवारको बढ्दो खर्च धान्न उनी अमेरिका भासिएका थिए। २०१७ मा अमेरिका पुगेयता त्यहाँ ट्याक्सी चलाइरहेका छन्।

हालै डेली मेल पत्रिकाले उनको संघर्षको कथा छापेपछि भने उनका प्रशंसकहरु चकित भएका छन्। त्यसो त टर्कीका वर्तमान राष्ट्रपति एर्डोगानले उनका विरुद्ध पक्राउ पुर्जी जारी गरेपछि उनी देश छाड्न बाध्य भएका थिए। उनलाई एर्डोगानले कू मा सघाएको आरोपमा पक्राउ पुर्जी जारी गर्न लगाएका थिए। त्यसमा आफ्नो कुनै हात नभएको स्पष्ट पारेका छन्।

Leave A Comment