अन्तरिक्षमा केटी चाहियो !

सोमबार, १३ माघ २०७६, ०१ : १० शुक्रवार
अन्तरिक्षमा केटी चाहियो !

यी हुन् जापानका फेसन डिजाइनर युसाकु मियाजावा। उनी फेसनबाटै अर्बपति भएका हुन्। उनको सपना छ, ‘कुनै दिन अन्तरिक्षमा डुल्ने !’

तर उनलाई के थाहा, उनको सपना यति चाँडै पूरा हुँदैछ। चर्चित व्यवसायी एलेन मस्कको कम्पनी स्पेस एक्सले अन्तरिक्ष पर्यटन शुरु गर्ने दिन नजिकिदै जाँदा उनको मन अत्तालिन थालेको छ। यत्रो टाढाको यात्रा, त्यो पनि एक्लै ! त्यसैले आफूसँगै कोही सुन्दरी हिँडिदिए जाती हुन्थ्यो भन्ने उनले यतिबेला कामना गरिरहेका छन्।

उमेरले जम्माजम्मी ४४ वर्षे मियाजावा सन् २०२३ मा पहिलो पर्यटक यात्रामा चन्द्रमाको छेउ पुगेर आउने भएका छन्। यति ‘विशेष यात्रा’ एक्लै जानु पर्दा उनी हल्का विस्मातमा परेका छन्। त्यसैले त उनले ट्वीटरमा लेखेका छन्, ‘मसँग चन्द्रमासम्म पुग्ने ‘पहिलो महिला’ बन्न कोही इच्छुक छ ?’

उनले आफूसँग जाने कोही २० वा २० वर्षभन्दा माथिको केटी साथी खोजिरहेका छन्। हालै प्रसारित एउटा टेलिभिजन डकुमेन्ट्री ‘फुल मुन लभर्स’मा समेत उनले यही कुरा दोहो-याए।

केही महिनाअघि मात्र २७ वर्षीया अभिनेत्री अयामी गोरिकीसँग उनको सम्बन्ध विच्छेद भएको थियो। ‘म उनीसँग अन्तरिक्षमा चिच्याउन चाहन्छु,’ उनले ट्वीटरमा लेखेका छन्।

आउँदो २५ र २६ मा आफूसँग जान चाहने युवतीको परिक्षण गर्ने उनले बताएका छन्। त्यसपछि उनी डेटमा जानेछन् र मन प-यो भने उनी बल्ल युवतीसँगै अन्तरिक्षमा जानेछन्। २०२० को फेब्रुअरी अन्त्यमा युवतीको छनोटपछि दुवै जना गहन तालिममा छिर्नेछन्। यो तालिमपछि मात्र उनीहरु अन्तरिक्ष यात्राका लागि तयार हुनेछन्।

जोजो नामक फेसन कम्पनी चलाइरहेका मियाजावाले यस यात्राका लागि करिब १.४ बिलियन पाउन्ड खर्च गरिसकेका छन्। ‘मैले अहिलेसम्म आफूले चाहेजस्तो जीवन बाँचेँ,’ उनले डकुमेन्ट्रीमा भनेका छन्, ‘मैले पैसा कमाएँ, सामाजिक स्तर बढाएँ, अरुलाई पैसा बाँडेँ। नामसँगै दाम कमाउँदाको सबै मज्जा मैले जीवनमा लिएँ।’

जसै उनी ४४ वर्षको भए, आफूलाई एक्लो महसुस गरे। यही रित्तोपन भर्नका लागि उनले अन्तरिक्ष जाने निधो गरेका थिए।

Leave A Comment