कसैले तपाईंलाई उपहारमा के चाहिन्छ भनेर सोध्यो भने के माग्नु हुन्छ होला ? सुदर्शन जिसी भने चुरोटको ठुटो माग्छन्।
अब उपहार जो कसैले सजिलै किन पो देलान् र ? त्यसैले उनी अरूले तानेर फ्याँकेको चुरोटका ठुटाहरु पैसा तिरेर भेला पार्ने गर्छन्।
ठुटा बटुलेर उनी उद्योगपति हुने सपना देखिरहेछन। हेर्दाका काम नलाग्ने ठुटामा उनी कागज, खेलौना मात्र होइन कीटनाशक औषधिको विकल्पसमेत देख्छन्।
’एउटा चुरोटको ठुटो पूर्ण रुपले गल्न १० देखि १२ बर्ष लाग्छ,’ उनी भन्छन्, ’हामी यसलाई सातदेखि दश दिन भित्रमा पूर्णरुपमा गलाउँछौँ र विभिन्न चिज बनाएर बेच्न सक्छौँ।’
यस्ता ठुटालाई प्रशोधन गर्ने जिन तयार गर्ने र बेच्नका लागि तयार गर्ने सोच भए पनि लगानी अभावका कारण अहिले काम रोकिएको उनको भनाइ छ।
उनले भने, ’धेरैलाई मैले यो कन्सेप्ट सुनाएँ। सात लाख जम्मा गर्न नसक्दा कन्सेप्टले मूर्त रूप लिन सकेको छैन। त्यत्ति लगानी भए ठुटो साइकलको काम मजाले गर्न सकिन्थ्यो।’
ठुटो साइकलको कन्सेप्ट रोकिए पनि उनले फोहोरमाथिको शोध शुरू गरेका छन्। ’वास्तवमा फोहोर मोहर नै हो तर यसमाथि काम निकै कम भएका छन्,’ उनी भन्छन्, ’हामीले विज्ञानलाई उद्यमसँग जोड्नु पर्छ। त्यसो भयो भने बेरोजगारीको समस्या रहँदैन।’
ठुटो साइकलको परियोजना लगानी अभावमा रोकिएपछि पछिल्लो समय कुखुराको मासुमा प्रयोग गरिएको एन्टिबायोटिकले मानव शरीरमा गर्ने असर रोक्न के गर्न सकिन्छ भनेर खोजीमा व्यस्त छन् उनि। यसका लागि नेपालको एक मात्र विज्ञान अध्ययन गर्ने संस्था नार्कसँग कुरा गरिरहेका छन्।
युवापुस्ताले आफ्नो सोचमाथि विश्वास गर्नुपर्ने उनको धारणा छ। यसका लागि मिडिया ल्याब नेपाल नामक आइडिया सेयरिङ संस्था खडा गरेका छन्।
जहाँ विभिन्न संकायका व्यक्तिलाई एकै थलोमा जम्मा पारेर छलफल गर्ने चौतारीको रुपमा त्यसलाई विकास गरिरहेको छन्। ’महावीर पुनले जति गर्न सकुँला नसकुँला तर देशमै बसेर सम्भावना खोज्न सकिन्छ भने किन जाने विदेश ?’ उनी भन्छन्।
Leave A Comment