
प्रधानमन्त्री केपी शर्मा ओलीले बेलाबेलामा टुक्का छेडिरहन्छन्। टुक्के नेताका रुपमा उनको पहिचान उहिल्यै बनिसकेको हो। प्रधानमन्त्री भएपछि पनि उनले उखान, टुक्का र जोक सुनाएर बेलाबेलामा हँसाइरहेका छन्।
हुन त निरासिएका जनतालाई बेलाबेलामा यस्ता टुक्काको ओली–गोली हान्दा एकैछिन भए पनि जनताको अनुहारमा उज्यालो र हाँसो छाउँछ। देशलाई यो उनको ठूलो योगदान पनि हो।
पछिल्लो समय हाम्रा प्रधानमन्त्रीले नेकपाको केन्द्रीय समितिको बैठक समापन समारोहमा जनतालाई उसरी नै हँसाए। उनको भनाइ थियो, ‘भ्रष्टाचार गरेको फेला प¥यो भने कुनै हालतमा छोडिने छैन।’
ओलीले कसैले पनि भ्रष्टाचार नगरोस् भन्ने आफ्नो चाहना भए पनि कसैले गरेको फेला परे कार्बाहीको भागिदार हुने उनले बताएछन्।
देश भ्रष्टाचारले थिलथिलो भएको छ। संसारभर नै अत्यधिक भ्रष्टाचार हुने मुलुकका रुपमा प्रख्याति पाइरहेको छ।
खासगरी नीतिगत भ्रष्टाचार त देशको रगतमै बग्न थालिसक्यो। जब मन्त्रिपरिषद्का निर्णयलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हेर्न नमिल्ने भएपछि र सोही कुरा देशका अन्य प्रदेशका प्रदेश स्तरीय सरकारको मामिलामा पनि लागू हुन थालेपछि उनकै पालामा भ्रष्टाचारलाई नीतिगत रुपमा बढाउने अवस्था आएको छ।
अनि उनैले भ्रष्टाचार गर्नेलाई नछाड्ने उनको जोक सुन्दा हाँसो उठ्दैन त ? नीतिगत भ्रष्टाचारलाई प्रश्रय दिएपछि त अरु कुरामा भ्रष्टाचार गर्नै परेन। ठूला नेता र मन्त्रीहरु यसबाट बचिहाले। अरु त भाडमा जाऊन् !
भ्रष्टाचारका सानातिना खबर र तिनलाई पक्राउ गरिएका कुराहरु त दिनदिनै सुनिएका छन्। ‘साना माछा’ त जहिले पनि पक्राउ परिरहेकै छन् तर त्यस्ता समस्या देशको ठूलो समस्या होइन। ‘ठूला माछा’ चाहिँ देशको सबैभन्दा ठूलो समस्या हुन्। तिनैका कारण देशमा राजनीति नै बदनाम भइरहेको छ।
प्रधानमन्त्रीले भ्रष्टाचार गर्नेलाई नछाडिने कुरा गर्दैरहँदा पनि सर्वसाधारणले जोक सुनेजस्तो हाँसिदिनुको अर्थ के हो भने कसैले पनि देखाएर भ्रष्टाचार गर्दैन। नदेखिने भ्रष्टाचारीलाई कसरी पक्राउ गर्ने ? नदेखिने गरी भएको भ्रष्टाचार खासमा भ्रष्टाचार नै होइन। अनि, भ्रष्टाचार नभएपछि कसरी कार्बाही गर्नु ?
अनि प्रधानमन्त्रीको यस्तो जोक सुनेर जनता पनि रुञ्चे हाँसो नहाँसेर के गर्नु त ?
Leave A Comment