पाँच रुपैयाँको किचेन र्‍याक

शुक्रबार, २४ माघ २०७६, १२ : १४ शुक्रवार
पाँच रुपैयाँको किचेन र्‍याक

हेर्नोस् न धन कमाउने आइडिया पनि कति गज्जबको क्या ! कुशल इन्टरप्राइजेज कम्पनीले राष्ट्रपति कार्यालय, उपराष्ट्रपति कार्यालय, प्रधानमन्त्री कार्यालयजस्ता विशिष्ट व्यक्तित्वको निवासमा पाँच रुपैयाँमा सामान उपलब्ध गराउने प्रतिबद्धता जनाएछ। त्यति मात्रै कहाँ हो र ? इन्टरप्राइजेजले पन्चिङ मेसिनको दुई रुपैयाँ, एउटा  किचेन र्‍याकको पाँच रुपैयाँ, दश लिटरको प्रेशर कुकर पाँच रुपैयाँमा, छाता र इलेक्ट्रिक जग पनि पाँच रुपैयाँमा उपलब्ध गराउने रे !

दश रुपैयाँमा आइरन बोर्ड, दुई रुपैयाँमा टुथ ब्रस, दुई रुपैयाँमा नुहाउने साबुन कम्पनीले उपलब्ध गराउने सम्झौता भएको रहेछ।

रोचक कुरो त के छ भने यति सस्तोमा सामान दिँदा पनि कम्पनीलाई फाइदै हुन्छ रे ! कम्पनीले आर्थिक वर्ष ०७६/०७७ का लागि एक सय ७७ वटा विभिन्न किसिमका सामान उपलब्ध गराउने सम्झौता संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयसँग गरेको रहेछ। यस्ता भिभिआइपीका लागि सचिवालयले हरेक वर्ष टेण्डर आह्वान गर्छ। यसपालिको टेन्डर कुशल इन्टरप्राइजेजले हात पा-यो।

भान्सा, सरसफाइ तथा दैनिक प्रयोग हुने यस्ता सामान सस्तो उपलब्ध गराएबापत कम्पनीलाई अर्को वर्ष पनि टेन्डर हात पार्न सहज हुने रहेछ। कम्पनीका सञ्चालक क्या बाठा ! स्टकमा भएका सामान कम मूल्यमा सप्लाई गर्ने निर्णय गरेछन्। सर्वसाधारणलाई भने त्यस्तो सस्तो मूल्यमा सामान नदिने रे ! दुई करोड हाराहारी टेन्डर सम्झौता गरेको कम्पनीलाई अर्को वर्ष दुई करोड माथिको टेन्डरको सम्झौता गर्न बाटो खुल्ने रहेछ। अनि किन सस्तोमा कम्पनीले सामान नदिओस त !

सबैभन्दा रोचक चाहिँ चकलेट पनि पाँच रुपैयाँमा नपाउने जमानामा यति सस्तो सामग्रीको उपभोग गर्न त देशमा प्रधानमन्त्री र राष्ट्रपति नै हुनुपर्ने रहेछ ! स्वर्ग भनेको सायद त्यहीँ होला !

Leave A Comment