अभद्र व्यवहारसम्बन्धी कानुनको ‘दुरुपयोग’

शनिबार, २५ माघ २०७६, १२ : ४८ प्रजु पन्त
अभद्र व्यवहारसम्बन्धी कानुनको ‘दुरुपयोग’

पछिल्लो समय अभद्र व्यवहारसम्बन्धी कसुरमा पक्राउ पर्नेको संख्या बढेको छ तर नेपाल प्रहरीले दुईवटा फरक प्रकृतिको घटनालाई पनि अभद्र व्यवहारसम्बन्धी कसुरमा मुद्दा चलाइरहेको छ।

दसैंपछि घटेका दुइटा घटना नियालौँ। मंसिर ९ गते त्रिचन्द्र क्याम्पसमा अखिल नेता मन बुढा र इकाई संयोजक गोविन्द थपलिया नेतृत्वको समूहले क्याम्पस प्रमुख प्रदीपबहादुर न्यौपानेलाई लछारपछार गर्दै कुटपिट ग-यो। घटनालगत्तै दोषीलाई प्रहरीले पक्राउ ग-यो। विद्यार्थीले न्यौपानेलाई भ-याङदेखि क्याम्पसको गेटसम्म कुट्दै लछारपछार गर्दै ल्याएका थिए। प्रहरीले उनीहरुलाई ‘अभद्र व्यवहार’ गरेको  कसुरमा मुद्दा चलायोे। जिल्ला प्रशासन कार्यालय काठमाडौंले उनीहरुलाई १५ हजार धरौटीमा रिहा गरेको छ।

त्यस्तै यही माघ १ गते गायिका आस्था राउतले प्रहरी जवान रमिता श्रेष्ठलाई विमानस्थलमा अभद्र व्यवहार गरेको भन्दै प्रहरी जवान श्रेष्ठले आस्थाविरुद्ध जाहेरी दिइन्। जिल्ला प्रशासन कार्यालय काठमाडौंले गायिका आस्था राउतलाई ४ हजार धरौटीमा रिहा गरिसकेको छ।

यी दुवै घटना एकै प्रकृतिका हैनन्। कुटपिट गर्दा र अभद्र व्यवहार गर्दा मुलुकी अपराध संहिताको छुट्टाछुट्टै दफा आकर्षित हुने अधिवक्ता अञ्जना अर्याल बताउँछिन्। ‘कोही कसैलाई झ्याङ्गलझुङ्गल गरेको छ भने अभद्र व्यवहार र कुटपिट गरेको छ भने कुटपिटसम्बन्धी कसुर लाग्छ,’ उनले भनिन्, ‘दुवैलाई एकै ठाउँमा राखेर हेर्न मिल्दैन।’

त्रिचन्द्रको घटना र आस्था राउतको घटना एकै प्रकृतिको देखिँदैन। काठमाडौं जिल्ला प्रशासन कार्यालयका प्रमुख जनकराज दाहालले प्रहरीले घटना दर्ता गरेबमोजिम मुद्दा चलेको बताए।

दुवै घटनाको प्रकृति हेर्दा फरक–फरक देखिन्छ। आस्थाको जस्तै घटनामा माघ १४ गते चितवन जिल्ला अदालतले प्रहरीसँग बाझाबाझ गर्दैमा अभद्र व्यवहार नहुने फैसला गरेको छ। सोधपुछ गर्ने क्रममा प्रहरी अधिकारीहरूलाई अभद्र व्यवहार गरेको भन्दै दायर मुद्दामा न्यायाधीश हेमन्त रावलको इजलासले कोही व्यक्तिले प्रहरीलाई दिएको आवेशपूर्ण अभिव्यक्तिलाई अभद्र व्यवहारमा कारबाही गर्न नमिल्ने फैसला सुनाएको हो।

त्रिचन्द्रको कुटपिटलाई समेत अभद्र व्यवहारमा मुद्दा चलेपछि अभद्र व्यवहारसम्बन्धी मुद्दाको दुरुपयोग बढेर जाने सम्भावना देखिएको छ। महानगरीय प्रहरी प्रवक्ता होबीन्द्र बोगटीले भने जाहेरीकर्ताले त्रिचन्द्रको घटनामा छिटो न्याय पाउनका लागि क्याम्पस प्रमुखले नै अभद्र व्यवहारमा जाहेरी दिएको दाबी गरे। क्याम्पस प्रमुखले भने कुटपिटलाई अभद्र व्यवहारसम्बन्धी मुद्दा दर्ता गराएर प्रहरीले नै घटनालाई सामान्यीकरण गरेको दुखेसो पोखे।

जाहेरी दिने क्रममा जाहेरीवाला व्यक्ति कानुनको जानकार नहुन सक्छ। यस्तो अवस्थामा कानुनका कुन घटनामा कुन दफा आकर्षित हुन्छन् भन्ने नजान्दाको अवस्थामा प्रहरी–प्रशासनले सक्रियता देखाउनुपर्ने आवश्यकता रहने अधिवक्ता अर्यालको भनाइ छ। तर यस घटनामा भने प्रहरी चुकेको देखिन्छ।

त्रिचन्द्रको सिसिटिभीमा के देखिन्छ ?
क्याम्पस प्रमुख जाने भवनको भित्रपट्टि भ-याङनेर अखिलको झण्डा बोकेका एक हुल विद्यार्थी देखिन्छन्। उनीहरुले हात माथि लैजाँदै नाराबाजी गरेजस्तो देखिन्छ। उफ्रीउफ्री नारा लगाइरहेका उनीहरु क्याम्पस प्रमुख प्रदीपबहादुर न्यौपाने आएपछि उनलाई घेरेका देखिन्छन्। उनलाई माथि कार्यकक्षमा जान दिइँदैन।
उनलाई घिसारेर बाहिर लगेपछि त्रिचन्द्रको बाहिरपट्टि उभिएका विद्यार्थी भाग्छन्। क्याम्पस प्रमुख न्यौपानेलाई एक हुल विद्यार्थीले जोडले धकेलेको देखिन्छ। उनी क्याम्पस प्राङ्गणमा जोडले पछारिन्छन्। उनलाई सबै विद्यार्थीले घेरा हालेको देखिन्छ।

क्याम्पस प्रमुख न्यौपानेले आफूलाई विद्यार्थीले बुटैबुटले छातीमा हिर्काएको, खुट्टामा गम्भीर चोट लागेको बताएका थिए। उनी त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा एक हप्ता भर्ना भई उपचार गरेका थिए।

विमानस्थलको सिसिटिभीमा के देखिन्छ ?
आस्था सरासर आएकी देखिन्छन्। उनले एक्स–रेमा झोला राखिन्। उनको हातमा कफी थियो। उनी हातमा कफी बोकेर गेटबाट भित्र पस्न खोज्छिन्।

महिला प्रहरीले तिनलाई रोक्न खोज्छिन्। ती प्रहरीले उनको हातबाट कफी लिएर साइडमा राखिदिन्छिन्। बाक्लो ज्याकेट लगाएकी आस्थालाई प्रहरीले ज्याकेट खोल्न लगाएको देखिन्छ। उनी ज्योकट खोलेर पुनः भित्र आउँछिन्। प्रहरीले जाँच गरेपछि आस्था जान खोज्छिन्।

चेक जाँचपछि आस्थाले बोकेर आएको कफी ती महिला प्रहरीले उनैलाई थमाउन खोज्छिन् तर आस्था मान्दिनन्। उल्टै रिसाएर कफी टेबलमा राखिदिन्छिन्। त्यही बेलामा दुई जनाबीच भनाभन भएको देखिन्छ। आस्थाले कफी पर सार्न खोज्छिन्। महिला प्रहरीले उनीतिर कफी सार्छिन्। यसरी दुईबीचको दोहोरीले कफी पोखिन्छ।

अभद्र व्यवहारसम्बन्धी कानुनको दुरुपयोग कसरी भयो भन्ने बुझ्न यी दुई घटना काफी छन् तर महानगरीय प्रहरी परिसरका प्रवक्ता होबीन्द्र बोगटीले जाहेरीकर्ताले छिट्टो न्याय पाउन कुटपिटमा मुद्दा दर्ता नगरेको दाबी गरे। ‘त्रिचन्द्रको घटनामा कुटपिटसम्बन्धी मुद्दा आकर्षित हुन्छ भनिएकै हो तर क्याम्पस चिफले नै अभद्र व्यवहारमा जाहेरी दिएका कारण अभद्र व्यवहारसम्बन्धी आरोपमा मुद्दा दर्ता भएको हो,’ बोगटीको भनाइ छ। तर न्याय ढिला या चाँडो के हुन्छ भनेर फरक कसुरमा मुद्दा चलाउन मिल्दैन। प्रहरीले यसमा मनोमानी गरेको देखिन्छ।

‘कुटपिट र अभद्र व्यवहार गर्नु एउटै कुरा हैन’
अञ्जना अर्याल, अधिवक्ता


कसैमाथि कुटपिट गर्नु र अभद्र व्यवहार गर्नु एउटै हैन। किनभने हाम्रो मुलुकी अपराध संहिताले दुवै कसुर गर्नेलाई छुट्टाछुट्टै सजायको व्यवस्था गरेको छ। मुलुकी अपराध संहिता २०७४ (११८) मा  ‘कसैले सार्वजनिक स्थानमा प्रवेश गर्न कानुनी अधिकार नभएको ठाउँमा प्रवेश गरी कसैलाई अभद्र व्यवहार गर्न वा सार्वजनिक स्थानमा महिला, बालबालिका वा शारीरिक रुपमा अशक्त व्यक्तिलाई हातपात वा हैरानी गर्न वा त्यसको उद्योग गर्न हुँदैन भनेको छ भने (२) उपदफा (१) बमोजिमको कसुर गर्ने वा गराउने व्यक्तिलाई एक वर्षसम्म कैद वा दस हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ भनी तोकेको छ। त्यस्तै  मुलुकी अपराध संहिताकै दफा १९१ कुटपिट  गर्न  नहुने (१) कसैले कसैलाई कुटपिट गर्न हुँदैन। (२) कसैले कसैलाई देहायको कुनै कार्य गरेमा निजले कुटपिट गरेको मानिनेछ :
– (क) कुनै किसिमको शारीरिक पीडा पु¥याएमा,  (ख) कुनै काम गरी रोग सारेमा,  (ग) अन्य कुनै कार्य गरी अशक्त बनाएमा
 स् यस दफाको प्रयोजनका लागि ‘अशक्त’ भन्नाले शरीरको कुनै  अङ्ग सामान्य रुपमा काम गर्न नसक्ने गरी अशक्त भएको अवस्था सम्झनु पर्छ र सो शब्दले मानसिक अशक्ततालाई समेत जनाउँछ।
(३) उपदफा (१) बमोजिमको कसुर गर्ने वा गराउने व्यक्तिलाई तीन वर्षसम्म कैद
वा तीस हजार रुपैयाँँसम्म जरिवाना वा दुवै सजाय हुनेछ।
यदि कोही कुटपिटबाट घाइते भई अस्पताल भर्ना भएको छ भने यो कसुर अभद्र व्यवहार नभई कुटपिट वा अङ्गभङ्गसम्बन्धी कसुर भएको ठहर्छ।
 
‘जाहेरी कर्ताले इच्छाएबमोजिम मुद्दा दर्ता भएको हो’
होबीन्द्र बोगटी, प्रहरी प्रवक्ता महानगरीय प्रहरी परिसर


आस्था राउतको केसमा पनि अभद्र व्यवहारसम्बन्धी ऐन आकर्षित हुने अनि त्रिचन्द्र क्यापसका प्रमुखलाई लछारपछार पारेर कुटेको पनि अभद्र व्यवहार हुने कसरी भयो यो ?
अभद्र व्यवहार भनेको के भने हामीले अनुसन्धानको शिलशिलामा हामीले होल्ड गर्ने गर्छौँ। यो एउटै हैन। कुटपिटमा सिधै अदालतमा जाहेरी दरखास्त हुन्छ। हामीले हेर्दैनौँ।

प्रहरीले घटनाको प्रकृति हेरेर अदालत लैजाने कि जिल्ला प्रशासन कार्यलय लैजाने भन्ने हुन्छ होला। किन कुटपिट र अभद्र व्यवहारलाई अभद्र व्यवहार भनेर दुरुपयोग गर्नुभएको नि ?
जाहेरी जसरी आउँछ त्यसरी नै प्रक्रिया अघि बढ्छ।

कतिपयलाई कानुनी कुरा थाहा नहुन सक्छ। प्रहरीले घटनाको प्रकृति हेरेर कुन कानुन हेरेर दर्ता गर्ने हो कि के हो ?
 मैले भनेँ नि, त्रिचन्द्रको घटनाको जाहेरीकर्ताले अभद्र व्यवहार नै हो भन्ने किटेर जाहेरी दिएपछि प्रक्रिया अघि बढेको हो।

सिसिटिभी फुटेजमा कुटपिट भएको स्पस्टै देखिन्छ अनि कसरी भयो त अभद्र व्यवहार ?
अलिअलि मिलाउन प-यो नि !

भन्नाले ?
त्यसो हैन।

तपाईंहरुलाई सरकारको दबाब आयो हो ?
छैन आएको छैन।

तलमाथि किन गर्नुभयो त ?
भएको छैन। कस्तो हुन्छ भने पीडितले छिट्टै एक्सन जाओस् भन्ने सोच्छ। हामीले त्रिचन्द्रको क्याम्पस चिफलाई कुटपिटमा जानुभनेको हो। उहाँले हातपातमा जाउँ भन्नुभएको हो।

सरले त हामीसँगको कुराकानीमा कुटपिटलाई अभद्र व्यवहारमा मात्र सीमित गरियो भन्नुभएको थियो नि ?
कुटपिट हो भने उहाँ अदालत जान सक्नुहुन्छ।

Leave A Comment