म्याग्नाकार्टा चोर्न खोज्ने पक्राउ

मङ्गलबार, २८ माघ २०७६, १२ : ५१ शुक्रवार
म्याग्नाकार्टा चोर्न खोज्ने पक्राउ

बेलायती इतिहासमा म्याग्नाकार्टा निकै महत्वपूर्ण दस्तावेज हो। राजतन्त्रात्मक बेलायतलाई छोटो अवधिका लागि गणतन्त्रमा ल्याउने यो दस्तावेज धेरैका लागि चासोको विषय पनि हो। यही दस्तावेज चोर्न खोज्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।

सन् १२१५ मा भएको सो सम्झौताको यो हस्तलिखित प्रतिलाई अहिलेसम्म कसैले पनि मूल्य आँक्न सकेको छैन। यसलाई सुरक्षित राखिएको ठाउँमा हतौडीले हानेर सेक्युरिटी केस फोडी निकाल्न खोज्दा ४७ वर्षे मार्क रोयडन पक्राउ परेका हुन्। यसलाई सलिसबरी क्याथड्रलमा राखिएको थियो।

उनले भने यो नक्कली होला भनेर चोर्न खोजेका थिए। नक्कली नै भए पनि केही मूल्य पाइने लोभले उनले चोर्न खोजेका थिए तर सफल हुन नसक्दा पक्राउ परे। अदालतले उनलाई सेक्युरिटी केसको रकमसमेत तिराएको छ। उनले १९ हजार डलर तिर्ने भएका छन्।

यता रोयडनले भने यो नक्कली भएको र यसलाई चोर्दा फरक नपर्ने सोचेर यसो गरेको बताएका छन्। सन् १२१५ मा यसको चार वटा प्रतिलिपि बनाइएको थियो। जसमध्ये लन्डनको ब्रिटिस लाइब्रेरीमा दुई वटा, सलिसबरी क्याथड्रल र पूर्वी इंगल्यान्डको लिङ्कन क्याथड्रलमा एक एक वटा राखिएको छ।
म्याग्नाकार्टाको सम्झौतापछि सर्वसाधारणको अधिकार र स्वतन्त्रताको बिगुल फुकेको मानिन्छ।

‘हुन त म्याग्नाकार्टाले सबै व्यक्ति स्वतन्त्र हुनुपर्छ भन्ने मान्यता राख्छ तर यही म्याग्नाकार्टा चोर्न खोज्दा स्वतन्त्र व्यक्तिले जेलको हावा खानुपर्ने अवस्था आएको छ,’ ठट्टा गर्दै न्यायाधीश रिचार्ड पार्केसले भने।
सन् १२१५ को जुनमा राजा जोनले विद्रोहीसँग पश्चिम लण्डनको थेम्स नदी किनारमा यो सम्झौता गरेका थिए। यो हस्तलिखितका विभिन्न प्रतिलिपि बनाई देशका चार कुनामा पु-याइएको थियो।

रोचक त के छ भने यो म्याग्नाकार्टालाई यसअघि २३ जनाले चोर्न खोजेका थिए। चोरीको आरोप लागेका मार्क रोयडनलाई फेब्रुअरी २५ सम्म हिरासतमा राख्ने आदेश दिइएको छ।

Leave A Comment