लभ इन् द टाइम अफ काेराेना

शनिबार, ०३ फागुन २०७६, ०१ : २३ शुक्रवार
लभ इन् द टाइम अफ काेराेना

कहिलेकाहीँ बिहे आफैँले सोचेजस्तो सम्पन्न नै हुन्छ भन्ने छैन। यस पटक सिंगापुरका जोसेफ यु र उनकी पत्नी काङ टिङलाई यस्तै परेको छ। उनीहरु लामो समयको प्रेमपछि गएको साता बिहे सम्पन्न गर्ने मूडमा थिए। तर उनीहरुको बिहेले यो मोड लिन्छ भन्ने उनीहरुले कल्पनासमेत गरेका थिएनन्।

चीनमा घातक कोरोना भाइरसको प्रकोप बढ्दै जाँदा चीनमा बिहे गर्नेहरुले समय टार्दै जान थालेका थिए तर सिंगापुरनिवासी जोसेफ र काङ चीनबाट फर्किएकै कारण एक्लो बन्न पुगे।

उनीहरु चीनबाट फर्किएलगत्तै बिहे गर्ने कुरा थियो। सबै तयारी व्यापक रुपमा भइसकेको थियो। निम्तो पनि पहिल्यै पुगिसकेको थियो। उनीहरुको गल्ती यति मात्र थियो कि उनीहरु बिहेअघि वुहान शहर पुगेर आएका थिए।
वुहानबाट फर्किएको यो जोडीको बिहेमा आउन निम्तालुहरुले अस्वीकार गरे। धेरैले राम्रै मुखले आफूहरुको आशीर्वाद रहने तर बिहेमा आउन नसक्ने भनी जनाउ दिए।

यसपछि जोसेफ र काङले एउटा उपाय अपनाए। उनीहरुले सबैलाई आफ्नो बिहेमा आउन नसके पनि बिहेलाई प्रत्यक्ष हेर्न सक्ने भन्दै फेसबुकमा लाइभ गरे।

बिहेको भाषण
बिहेका बेलामा केहीले धन्यवाद व्यक्त गर्छन्। यहाँ चाहिँ दुलाहा जोसेफले भिडियो कल गरी हलमा उपस्थित हुन नसकेका सबैलाई लाइभ स्ट्रिमिङबाट धन्यवाद भाषण गरे। अनि पाहुनाले पनि उनलाई कमेन्टबाटै बधाई दिए।

कोरोना भाइरसले चीनमा लगभग आठ सय जनाको ज्यान लिइसकेको छ। सिंगापुरमै पनि कोरोना भाइरसको संक्रमणका २८ रोगी फेला परेको जनाइएको छ।
चीनपछि सिंगापुर नै यस्तो मुलुक हो, जहाँ बढी संख्यामा कोरोना संक्रमण देखिएको छ।

कुनै अन्य बाटो थिएन
काङ टिङको घर चीनको हुनान प्रान्तमा छ। चिनियाँहरुको नयाँ वर्ष लुनारका बेला २४ जनवरी जोसेफ र काङ चीन पुगेका थिए। हुनान हुबेई प्रान्तसँग जोडिएको छ। त्यहीँ अहिलेसम्म सबैभन्दा बढी रोगी देखिएका छन्।

हुनानबाट फर्किंदासम्म पनि जोसेफलाई यो रोगको संक्रमण यत्तिको बढ्ला भन्ने लागेको थिएन। उनीहरु हुनानको ग्रामीण क्षेत्रमा थिए र जुन संक्रमण थियो, त्यो भने शहरी क्षेत्रमा फैलिएको थियो।

३० जनवरी दुवै सिंगापुरबाट फर्किए र २ फेब्रुअरीमा बिहे हुनुपर्ने थियो। विवाह समारोहका लागि सिंगापुरका एम होटलमा विशेष बुकिङ गरिएको थियो।

त्यसो त यी दुवैको बिहे गएको अक्टोबरमै चीनमा भइसकेको हो। त्यो बेला सिंगापुरका आफन्त सहभागी हुन पाएका थिएनन्। तिनै अतिथिका लागि भनेर विशेष समारोह आयोजना गर्न लागिएको थियो र दोहो-याएर बिहे गर्न सारा तयारी गरिसकेका थिए।

पाहुनाको अस्वीकार
चीनबाट उनीहरु फर्किए भन्नेबित्तिकै पाहुनाहरुले चिन्ता व्यक्त गरे र कयौँले त बिहेमा नआउन अनेक बहाना खोज्न थाले।

जोसेफलाई धेरै आफन्तले बिहेको मिति स्थगन गर्न आग्रह गरेका थिए तर बुकिङलगायत सबै कुरा भइसकेका कारण अब अझै लम्ब्याउने पक्षमा उनीहरु थिएनन्।

मियाँ बिबी राजी तो क्या करेगा काजी ? यही सोचेर उनीहरु पाहुना र जन्ती बिना नै बिहे सम्पन्न गर्ने निर्णयमा पुगे।

जोसेफ भन्छन्, ‘हामीले भिडियोबाट नै पाहुना र जन्तीहरुलाई यसबारेमा कुरा ग-यौँ। उनीहरुलाई लाइभ स्ट्रिमिङबाट आशीर्वाद दिने कुरा अचम्म नलागेको होइन। खासगरी दुलाहा र दुलही पक्षका आमाबाबु यस कुरा राजी भए। यति भएपछि अब के चाहियो ?’

आमा–बा सहभागी हुन सकेनन्
भाइरसका कराण चीनमा हिँडडुलमा प्रतिबन्ध लगाइएपछि उनीहरुको विवाहमा दुलही काङका आमाबुबा आउन सकेनन्।

होटलका स्टाफहरुले उनीहरुलाई बिहे सम्पन्न गराउन र त्यसको भिडियो स्ट्रिमिङ गर्न सहयोग गरेका थिए।
जोसेफले बिबिसीसँग कुरा गर्दैै भने, ‘मलाई दुःख त लागेन तर यो अलि दुर्भाग्यपूर्ण भने रह्यो। सबै पाहुनालाई साक्षी राखेर बिहे गर्ने रहर थियो, आखिर पूरा हुन सकेन।’

Leave A Comment