चुम्बन प्रतियोगितामा बबाल

शनिबार, ०३ फागुन २०७६, ०१ : २८ शुक्रवार
चुम्बन प्रतियोगितामा बबाल

नेपालमा कसैले प्रेमपत्र प्रतियोगिता गराइरहेका छन् त कसैले गुलाब बाँडौँ भनिरहेका छन्। यो वर्ष त्यस्तो खासै बबाल कार्यक्रम कतै पनि देख्न पाइएन। अलि अगाडि भ्यालेन्टाइन्स डेको अवसर पारेर कतिपय ठाउँमा रोचक क्रियाकलाप हुने गर्थे।

सन् २०१७ ताका भारतको झारखण्ड राज्यमा त्यहाँका आदिवासीहरुको संकोची स्वभाव खुला बनाउन भनेर झारखण्ड मुक्ति मोर्चाका एक सांसदले ‘चुम्बन प्रतियोगिता’ आयोजन गरेका थिए। तर यो सम्पन्न हुँदानहुँदै यसले ठूलै काण्डको स्वरुप ग्रहण गरेको थियो।

सत्ताधारी पार्टी भाजपाका नेता साइमन मरन्डीले आदिवासीहरुमाझ ‘चुम्बन प्रतियोगिता’ गराएको भन्दै सत्ताधारीकै अर्का नेता हेमलाल मुर्मुले चर्च र इसाई मिसनरीको आदेशमा यस्तो गरेको आरोप लगाएका थिए।

सन्थाल जनजातिहरुमा ‘चुम्बन’को कुनै परम्परा नरहेको र यस्तो कार्यक्रम समाजका लागि ‘धब्बा’ नै भएको आरोप लगाइएको थियो। मुर्मुले त ती सांसदलाई पदबाटै हटाउनुपर्ने मागका साथ जुलुस नै निकाले।

‘आदिवासीहरुले हात त मिलाउँदैनन्, ओठ मिलाउने कुरा गर्ने ?’ हेमलालले भनेका थिए, ‘हाम्रो त परैबाट मुठ्ठीलाई निधारमा राखेर अभिवादन गर्ने हो। नमस्कार गर्ने चलन पनि छैन।’
आदिवासीले अभिवादन गर्ने चलनलाई ‘दोबो जोहर’ भनिन्छ।

सांसद साइमन मरन्डीले आदिवासी दम्पतीहरुबीच चुम्बन प्रतियोगिता गराएका थिए। कार्यक्रममा लामो समयसम्म चुम्बन गर्न सफल भएका तीन आदिवासीलाई पुरस्कृत गरिएको थियो।

‘चुम्बन प्रेमको अभिव्यक्ति हो, आदिवासी अलि संकोची हुन्छन्। खुला ठाउँमा चुम्बन गर्दा अप्ठेरो भुल्छन्। यसो गर्नु भनेको नराम्रो होइन,’ मरन्डीले भने।

चुम्बनको इतिहास
लामो समयदेखि चुम्बनमाथि शोध गरिरहेका अमेरिकी मानवशास्त्री वान ब्रायन्टले ३,५०० वर्ष पहिले चुम्बनबारे लेखिएको पाएका छन्। वेद, पुराण र संस्कृत पाण्डुलिपिमा लेख्य रुपमा अंकित भएको चुम्बन नै पहिलो भएको उनको दाबी छ।

ईशापूर्व ३२६ मा जब अलेक्जेन्डर महान् भारतको उत्तरी भेगमा युद्धका लागि आएका थिए, त्यहाँको केही भाग कब्जा गर्दा चुम्बन गरेको देखेपछि त्यसलाई उनले लोकप्रिय बनाएको केहीको दाबी छ। महाभारतमा ओठमा ओठ जोडेर स्नेहमयी कोमल चुम्बन गरेको भनी लेखिएको अध्येताहरु बताउँछन्।

ब्रायन्ट चुम्बनको उत्पत्ति भारतमा नै भएको दाबी गर्छन्। प्राचीन कालमा चुम्बनलाई ‘बुसा’ या ‘बोसा’ भन्ने चलन थियो। पछि ल्याटिनीहरुले यसलाई बासियम भन्न थाले। पछि यही कुरा जर्मन भाषामा कुस हुँदै अंग्रेजीमा ‘किस’ भएको उनको दाबी छ।

महर्षि वात्सायनले ‘कामसूत्र’ लेखेपछि प्रेम अभिव्यक्तिको उच्चतम नमूना मानिएको थियो। तर पछि ‘मनुस्मृति’ले ‘कामसूत्र’को स्वतन्त्रतालाई अंकुश लगाउने काम गरे।

१९३३ मा आएको फिल्म ‘कर्मा’मा त्यस बेलाकी चर्चित अभिनेत्री देविका रानीले पर्दामा अभिनेता हिमांशु रायलाई पहिलो पटक चुम्बन गरेकी थिइन्। राय देविका रानीका पति थिए।

२००७ मा चर्चित बलिउड अभिनेत्री शिल्पा सेट्टीलाई हलिउडका अभिनेता रिचर्ड गेरको भारत भ्रमणका बेला गालामा चुम्बन गरेको भन्दै उनको आलोचना गरिएको मात्र थिएन, पुत्ला नै जलाइएको थियो।

सन् १९८० मै पद्मिनी कोल्हापुरेले बेलायती प्रिन्स चाल्र्सलाई पश्चिमी शैलीमा अभिवादन गर्दा किस गरेको भन्दै त्यो बेला निकै आलोचना भएको थियो। १९९३ मा शबाना आजमीले नेल्सन मण्डेलालाई पनि किस गरेको भन्दै हंगामा मच्चिएको थियो।

सन् २००८ मा भारतको नयाँ दिल्लीको मेट्रो स्टेसन नजिक किस गर्दै गरेका एक विवाहित जोडीलाई अश्लीलता फैलाएको आरोपमा प्रहरीले पक्राउ गरेको थियो र पछि अदालतमा मुद्दासमेत दायर गरेको थियो। अदालतले भने प्रेम अभिव्यक्ति कुनै गैरकानुनी काम नभएको भन्दै प्रहरीलाई सचेत गराएको थियो।

Leave A Comment