कर्मचारीको तलब बढ्यो, हाम्रो बढेन

सोमबार, ०५ फागुन २०७६, १२ : २६ शुक्रवार
कर्मचारीको तलब बढ्यो, हाम्रो बढेन

गणेशलाल श्रेष्ठ 
चालक चालक

ट्याक्सी पेसामा लागेको ठ्याक्कै तीन वर्ष भयो।  मैले नाइट डे दुवै ट्याक्सी चलाइरहेको हुन्छु। हामी नाइट ट्याक्सी चलाउँदा सुरक्षित छैनौँ। सकेसम्म जोगिएर नै ट्याक्सी चलाउनुपर्ने हुन्छ। मैले राति ट्याक्सी चलाउँदा समयअनुसार फरक पर्छ।

समय अनुसार फरक
आठ, नौ बजेको हाराहारीमा यात्रु राम्रै हुन्छन्। अलि अलि पिएकाहरु पनि त्यति धेरै उपद्रो गर्दैनन्। जब रात छिप्पिँदै जान्छ रक्सी खाएका यात्रु धेरै पाइने गर्छन्। त्यस्ता यात्रुलाई लिएर हिँड्दा जोखिम त छँदै छ। त्यस्ता यात्रुले गन्तव्यमा पुगेपछि भाडा नदिने, निहुँँ खोज्ने जस्ता प्रवृत्ति देखाउँछन्। यस्तो झमेलामा धेरै परिन्छ र परेको छु। एक चोटी ठमेलबाट बानियाटारभित्र लगेको थिएँ। तीनजना केटाले बानियाटार जाऊँ भनेर मलाई लगे। प्यासेन्जर राम्रै जस्तो लागेको थियो। मैले मिटरमै भनेर लगेको थिएँ। जाँदाजाँदै ट्याक्सी नघुम्ने ठाउँमा लगे। त्यहाँ लगेपछि मैले गाडी कतै घुमाउन पाइनँ।

उनीहरु फटाफट ओर्लिए। अनि गाडी भाडा खै सर भनेको एकछिन म ल्याइदिन्छु भने। होला नि त भनेर बसेको आधा घण्टासम्म आएनन्। त्यो कोप्चाबाट गाडी निकाल्न नै मलाई लामै समय लाग्यो ।

दादा गिरी पनि भोगेँ
नाइटमा ट्याक्सी चालकलाई दादा गिरी देखाउने धेरै छन्। मलाई धेरै जसो ठमेल एरियामा यसरी थर्काएका छन्। कोही मिटरमा हिँड्न मान्दैनस् भनेर धम्क्याउने देखि लिएर अनेक तरिकाले थर्काउने गर्छन्। हामी जनताका लागि सर्भिस गरेका हौँ। कसैलाई लुटेका हैनौँ, ठगेका हैनाैँ।

अहिलेको महँगीमा मिटरमा उठेको पैसाभन्दा दुईचार पैसा मिल्छ भने थपेर दिनुस् भनेका हुन्छौँ। कोही पुलिसलाई फोन गर्दिन्छु भन्ने। अनेक थरिका दादागिरी भोग्नु परेको छ। 

गुण्डा टाइपका पुलिस
कोही गाउँबाट आएका प्यासेन्जर बनेर कति पैसा लिने भनेर सोध्छन्। मिटरमा जाऊँ भन्दा हैन हामीलाई थाहै छैन। मिटरमा तिमीहरुले ठग्ला भन्ने हुन्छ नि। यति दिनुस् भनेपछि ट्याक्सी चढेर अलिक पर पुगेपछि तपाईंको कागजपत्र ल्याउनुस् भनेर माग्ने गरेका छन्। कोही कोही गुण्डा टाइपका बनेर आउँछन् र कतिमा लाने भन्छन्। धेरै थरिका छन्। पञ्जावी टाइपका पनि हुन्छन्। मलाई धेरै समाइसकेका छन्। एकचोटीको घटना हो, वीर हस्पिटल अगाडि हिँडिरहेको थिएँ। हात दिए। मैले ट्याक्सी साइड लगाएँ। बौद्ध जाने हो भने, मैले हुन्छ भनेँ। कतिमा लैजाने गरेको छ भने मैले मिटरमा जाऊँभन्दा हैन चार सयमा जाऊँ न भने। मैले हुन्छ भनेर अगाडि बढाएको थिएँ। सिभिल प्रहरी रहेछन्। तीन हजारको चिट काटिदिए।

सरकारी कर्मचारीको तलब बढ्यो। २०७१, ७२ सालतिरको भन्दा अहिले दोब्बर तलब सरकारी कर्मचारीले खाइरहेका छन् भने हामी ट्याक्सी चालकको मिटर २०६९ सालकै भाडामा हिँडाइ राख्नुपरेको छ। हामीले पनि त घर खर्च चलाउनु प-यो नि। साहुको ट्याक्सी भाडा तिर्नु प-यो हैन। सरकारले नै ट्याक्सीलाई दलाएको देख्दा अचम्म लाग्छ।

Leave A Comment