गणित नबुझ्ने सरकार

शनिबार, १० फागुन २०७६, १२ : ३४ प्रजु पन्त
गणित नबुझ्ने सरकार

‘यो मोबाइल हेर्नु त कहाँ बन्छ ? अमेरिका, चीन, भारत वा कुनै अन्य देशमा। तर कहिल्यै तपाईंलाई लाग्दैन, यी कुरा नेपालमा किन बन्दैनन् ? अनि यो ल्यापटप, यो किबोर्ड कहाँ बन्छ ? कसरी बन्छ ? कस्ता सामान कसरी बनाउने भनेर कस्ता सूत्रले काम गर्छन् ? थाहा छ ?’ सहप्राध्यापक डाक्टर अरुण सिंहको भनाइ हो यो।

उनी यत्तिकैमा रोकिएनन्, भने, ‘हामीले आफैँ केही उत्पादन गरेर समृद्धि हासिल गर्ने हो कि सधैँ अरुको सामान आयात गर्ने हो ? गणित नै नपढी दक्ष जनशक्ति कसरी उत्पादन हुन्छ ? विद्यार्थी फेल भए भनेर कुनै पनि विषय ऐच्छिकमा राख्ने हो कि पढाउने नयाँनयाँ तरिका अपनाउने हो ?’

गणित समाजका अध्यक्ष चेतराज भट्टका अनुसार बाहिर छलफल हुँदा पनि गणितलाई मात्र गाह्रो भनेर बुझाइएकोमा आपत्ति रहेको बताए। ‘एसइईमा धेरै विद्यार्थी फेल भएपछि गणित जान्नै पर्छ भन्ने छैन, जान्नेलाई मात्र पढ्न दिऊँ भन्ने कुराहरु आए,’ भट्टले भने, ‘जति गणितको नकारात्मक प्रचारमा समय तथा लेखहरु खर्च गरिए, कसरी पढाउने भनेर गरिएन। समस्या यहीँ भयो।’

प्राध्यापक सिंह र भट्टको यो आक्रोश पाठ्यक्रम विकास केन्द्रले कक्षा ११ र १२ मा गणित विषय ऐच्छिक राखेपछिको हो। पाठ्यक्रम विकास केन्द्रले कक्षा ११ र १२ मा एकल पथीय पाठ्यक्रम लागू गरेको छ। यससँगै अहिले रहेको संकाय प्रणाली हट्नेछ। कक्षा ११ र १२ मा नेपाली, अंग्रेजी, सामाजिक अध्ययन र जीवनोपयोगी शिक्षा गरी चार विषय अनिवार्य पढ्नुपर्ने व्यवस्था गरिएको छ। तीनवटा विषय भने ऐच्छिक हुनेछन्।

गणितलाई अनिवार्य त गरिएको छैन नै, ऐच्छिकमा पनि चौथो नम्बरमा राखिएको छ। ऐच्छिक चौथोमा राखिनुमा आपत्ति रहेको नेपाल गणित समाजका अध्यक्ष चेतराज भट्टले बताए। ‘पाठ्यक्रम विकास केन्द्रले गणितलाई अनिवार्य त गरेको छैन नै,’ भट्टले भने, ‘महत्व नै नदिइकन ऐच्छिकको पनि चौथो नम्बरमा राखिएको छ। यसले भविष्यमा नराम्रो मूल्य चुकाउनुपर्छ।’

सिंहले भने, ‘जुन देशले आफैँ केही पनि उत्पादन गर्न सक्दैन, विज्ञान, प्रविधि, गणित तथा अनुसन्धानमा लगानी गर्दैन गफ गर्दैमा समृद्धि आउँदैन। समृद्धि कुनै जादु होइन।’

‘गणितबिना समृद्धि कसरी आउँछ ?’
चेतराज भट्ट,अध्यक्ष, गणित समाज अध्यक्ष


गणित विज्ञानको भाषा हो। पाठ्यक्रम विकास केन्द्रले कक्षा ११ र १२ मा गणितलाई ऐच्छिक चौथोमा राख्यो। हाम्रो असन्तुष्टि विज्ञानको बायोलोजीमा गणित अनिवार्य नराख्नु हो। सकेसम्म त गणित कक्षा १२ सम्म अनिवार्य नै राखेको राम्रो हुन्थ्यो। कारण हाम्रोमा कति नै म्याथम्याटिक्स छन् र ? तर धेरै नै गाह्रो भो, सक्नेले मात्र पढ्ने भने पनि ठिकै छ। कम्तीमा बायोलोजी गु्रपलाई त अनिवार्य राखिदेओस् भन्ने हो।

बायोलोजी पढेकाले कोही भोलि मेडिसिनमा जाला, कतै जाला। गयो भने पनि अपर क्लासमा सानो क्लासमा नपढेको म्याथम्याटिक्स पढेन भने जिरो लेभलबाट सुरु गर्नुपर्छ। सबै मेडिकल फिल्डमा जान्छन् नै भन्ने पनि छैन। म्याथ पढेनन् भने अरु सेक्टर रोज्न पाउँदैनन्। विद्यार्थीका हातखुट्टा बाँध्ने काम भएको छ। हामीले भन्दा यो मास्टरले जागिर जोगाउन खोज्यो भन्लान्, सवाल जागिरको मात्र छैन। सवाल त यहाँ सरकारले कस्तो प्रकारको विकास चाहेको हो भन्ने पनि हो।

दुःखको कुरा के पनि छ भने, यत्रो संविधान बनेपछि आधुनिक नेपालको नयाँ पाठ्यक्रम बनाइयो। यो त खासमा शिक्षाका लागि संविधानजस्तो हो। गणित क्षेत्रका विज्ञसँग कुराकानी गर्देको भए के जान्थ्यो ? विश्वविद्यालयमा आएर त छलफल गरिएन नै केही सीमित प्राध्यापकलाई समेत बोलाइएन। पाठ्यक्रममा नाम भएका एक दुईजना गणितका प्राध्यापकलाई सोध्दा पनि हाम्रो कुनै औचित्य भएन, मेरो समर्थन छैन भन्नुभएको छ।

चाइना, कोरिया, भारतकै कुरा गरौँ। अनुसन्धानमा अब्बल देशहरुले गणितमा कति लगानी गरेका छन्, हेराैं अनि यहाँको तुलना गरौँ। अनि हामी किन यो अवस्थामा छौँ भन्ने बुझिन्छ। अझै पनि केही बिग्रेको छैन। यो परिमार्जन गर्न सकिन्छ। बेलैमा परिमार्जन गरियोस्।  

गणितलाई निरुत्साहित गरियो
दीपेशमूर्ति पन्त,अध्यापक


गणित भन्नासाथ हाम्रो मस्तिष्कमा अफ्ठेरो गणितीय सूत्र, रेखाचित्र, तालिकाहरु आउँछन्। त्यो गणितको बारेमा सतही चिनापर्चीको कारणले गर्दा भएको हो। गणित त्यति साँघुरो भने छैन। गणितका ती क्लिष्ट देखिने समीकरणहरु वास्तवमा सरलतातिर डो¥याउने बाटोहरु हुन् भन्ने कुरा गणितमा प्रवेश गरेपछि महसुस हुन थाल्छ।

प्रकृतिमा घटिरहेका घटनादेखि आफ्नै मनमा चलिरहेका मनोभावहरु पनि बिस्तारै एक निश्चित संरचनामा देखिन थाल्छन्। गणितले मानिसको तर्कशिलतादेखि दैनिक सामना हुने समस्या समाधान, निर्णय क्षमता, रचनात्मक क्षमता र समालोचनाको क्षमतालाई प्रत्यक्ष प्रभावित पार्न सक्छन् भन्ने वैज्ञानिक अनुसन्धानबाट पनि प्रस्ट भैसकेको छ।

 स्टानफोर्ड विश्वविद्यालयकी शोधकर्ता तान्या इभान्सले गरेको एक अध्ययनमा जुन केटाकेटीहरु गणितमा तीक्ष्ण छन्, उनीहरुको मस्तिष्कको त्यो भाग बढी सक्रिय भएको पाइयो। जसले गर्दा उनीहरुमा तीव्र निर्णय क्षमता, ध्यान केन्द्रित गर्न सक्ने र वातावरण एकदमै छिटो निरीक्षण गर्ने क्षमता अन्य गणितमा कमजोर बालबालिकाको भन्दा धेरै नै बढी थियो।

ती केटाकेटीहरुले दिइएका समस्या सुल्झाउन वरिपरि उपलब्ध वस्तुहरुलाई साधनको रुपमा प्रयोग गर्ने गति पनि असाध्यै बढी पाइएको थियो। यसबाट पनि के थाहा हुन्छ भने गणितीय मस्तिष्कले कुनै पनि समस्यालाई संरचनाबाटै बुझ्ने, त्यसका समाधानका धेरै विकल्पमध्ये उचित विकल्पलाई उपलब्ध साधनको प्रयोगले तीव्र रुपमा गर्न सक्छ।

जब हामी कुनै पनि गतिशील व्यवस्थामा लगातार हुने परिघटनाहरुको अध्ययन गर्छौं,  कारण र परिणाम बीचको समन्धहरु केलाउन गणितबिना असम्भव नै छ। अहिलेको युग अत्यन्त अनिश्चित र गतिशील छ। त्यसैले लगातार घटित भैरहेका घटनाहरु र त्यसका निश्चित कारक या निर्धारकहरु बीचको सम्बन्धको विश्लेषण, निर्धारक तत्वहरुमा हुने परिवर्तनले ल्याउने घटनाहरुको परिवर्तनहरुको अध्ययनका लागि गणित अति आवश्यक संयन्त्र हो।

त्यसैले प्रकृतिको अध्ययन गर्ने विज्ञान, मानवको अध्ययन गर्ने मानवशास्त्रदेखि अर्थशास्त्र, चिकित्सा विज्ञान, हुँदै अहिले मनोविज्ञान, संगीत लगायत मानव व्यवहारको अध्ययनसम्म नै गणित अत्यावश्यक भएको हो।

गणितलाई हौवा र अप्ठेरो विषयको रुपमा परिभाषित गरेर यसको अध्ययनलाई अहिले जुन निरुत्साहित गर्ने प्रयास गरिँदैछ, त्यसले भोलिको पिँढीको तर्कशीलता र अनुसन्धान गर्ने क्षमतालाई नष्ट गर्छ। जसले गर्दा जुन लगातार अध्ययन र अनुसन्धानले मानवको विकास क्रम हुँदैआएको थियो, त्यो समाप्त हुन्छ र मानव समाज यथास्थितिवादको निरस पोखरी बन्छ।

Leave A Comment