चुनाव जित्न सार्वजनिक बेइज्जती

मङ्गलबार, २० फागुन २०७६, ११ : ३१ शुक्रवार
चुनाव जित्न सार्वजनिक बेइज्जती

चुनाव जित्न मान्छेले केसम्म गर्दैनन् ? अहिले अमेरिकी राष्ट्रपतीय चुनाव नजिकिदै जाँदा पदका आकांक्षीमध्ये एक माइकल ब्लुमबर्गले वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पको बेइज्जती गर्ने राम्रै अवसर जुराएका छन्।

हुन त चुनाव आउँदो अक्टोबर अन्त्यतिर र राष्ट्रपतिको घोषणा नोभेम्बरमा हुनेछ तर यतिबेला विभिन्न आकांक्षीहरु आफूलाई चुनावी दौडका लागि योग्य व्यक्तिका रुपमा चिनाइरहेका छन्। दौडमा बर्नी स्यान्डर्स अहिलेसम्म डेमोक्र्याटिक पार्टीका तर्फबाट अग्रपंक्तिमा देखिएका छन्। यस्तोमा अर्बौं कमाएर राजनीतिमा हाम्फालेका न्युयोर्क शहरका पूर्व मेयर ब्लुमबर्गले आफू नै चुनावका अन्तिम हकदार हुँ झैँ गरी विभिन्न प्रचार अभियान शुरु गरिसकेका छन्।

पछिल्लो समयमा डोनाल्ड ट्रम्पविरुद्ध एउटा प्रचार अभियान शुरु गरेका छन्। यो लस भेगास शहरमा एउटा ठूलो क्यासिनो अगाडि उनले लेखाएका छन्, ‘डोनाल्ड ट्रम्पले भोट हारिसके। उनले जुन लोकप्रिय भोट पाउनुपर्ने हो, त्यो गुमाइरहेका छन्। अब उँधोमुख खस्ने दिन आउँदैछ।’

अर्को एउटा होर्डिङ बोर्डमा त्यसको बदला लिँदै डोनाल्ड ट्रम्पको समूहले एउटा सन्देश ब्लुमबर्गलाई पठाएका छन्। सन्देशमा लेखिएको छ, ‘तिमीलाई बोल्न त आउँदैन, डेमोक्र्याटहरुको छलफलमा सबैभन्दा फेच्चा त तिमी भयौ !’

त्यो देखेपछि ब्लुमबर्ग समूह पनि के चुप बस्थ्यो। त्यस्तै एउटा होर्डिङ बोर्ड शहरको मध्यभागमा खोजेर लेखेका छन्, ‘डोनाल्ड ट्रम्पले गल्फ खेल्दा सधैँ बदमासी गर्छन्।’

यो सन्देश देखेपछि भने केहीले निकै रमाइलो माने। ट्रान्सपोर्ट कम्पनीका मालिक गेरी फ्रेन्जले भने, ‘यो गल्फ भन्ने खेल नै थोरबहुत चिट गर्ने खेल हो, त्यसैले उसले पनि ग-यो होला।’
उनले थपे, ‘तर यस किसिमको क्षुद्र प्रतिक्रिया दिने व्यक्तिले राष्ट्रपति पद चाहिँ पाउनु हुन्न।’

गेरीकी पत्नी किम कोरिगनले त भनिन्, ‘ट्रम्पको चाहना नै आफूलाई कसैले आक्रमण गरोस् भन्ने हुन्छ। यस्तोमा ब्लुमबर्गको यस्तो क्षुद्र प्रतिक्रियाले उसलाई अझ छुद्रतम व्यवहार देखाउन सजिलो हुन्छ।’

अर्का सर्वसाधारणले यस्ता विज्ञापन देख्दा ब्लुमबर्गलाई उडाउँदै भने, ‘पैसा छ, सक् ! यसरी नै त उडाउने हो चाहिँदोभन्दा बढी कमाएको पैसा !’

Leave A Comment