भैरहवा ग्लाडिएटर्समा तीन विदेशी

शनिबार, २४ फागुन २०७६, ११ : ३८ शुक्रवार
भैरहवा ग्लाडिएटर्समा तीन विदेशी

राष्ट्रिय टोलीमा लामो समय प्रमुख प्रशिक्षकका भूमिका निभाएका पुबुदु दसानायकेले भैरहवा ग्लाडिएटर्सका लागि तीन विदेशी खेलाडी अनुबन्धन गरेका छन्। एभरेस्ट प्रिमियर लिग क्रिकेट (इपिएल) को पूर्वसन्धामा भैरहवाका लागि दासानायकेले तीन विदेशी खेलाडी अनुबन्धित गरेका हुन्।

चैतको पहिलो साताबाट कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट ग्राउन्डमा हुने चौथो इपिएल–२०२० का लागि भैरहवाले तीन विदेशी खेलाडीको नाम सार्वजनिक गरेको हो। भैरहवाले यसअघि वेस्ट इन्डिजका ड्यानी स्मिथलाई अनुबन्धन गरेको थियो।

प्रशिक्षक दसानायकेले यस सिजनमा भैरहवाले श्रीलंकाका अलराउन्डर जीवन मेन्डिस र बायाँहाते ब्याट्सम्यान मिलिन्दा सिरिवद्र्धनालाई अनुबन्धित गरेको सार्वजनिक गरेका हुन्। त्यस्तै ओमानका बायाँहाते बलर बिलाल खान पनि यस सिजन भैरहवाबाट खेल्ने उनले बताएका छन्।

जीवन मेन्डिसले श्रीलंकाबाट ५८ एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट र मिलिन्दाले २७ खेल खेलेका छन्। ओमानका बिलाल खानले हालै नेपालमा सम्पन्न आइसिसी विश्व क्रिकेट लिग–२ मा पनि खेलेका थिए।

६ टोलीमध्ये भैरहवालाई शरद भेषावकरले सम्हाल्दै छन्। टोलीमा शरदसँगै प्रदीप ऐरी, रोहितकुमार पौडेल, कुशल मल्ल, आरिफ शेख, भुवन कार्की, कृष्ण कार्की, दीपेश श्रेष्ठ, हरिकृष्ण शाह, अविनाश बोहरा, विकास आग्री र हिमांशु दत्त रहेका छन्।

Leave A Comment