एसियन कप छाडेर विदेश

शनिबार, २४ फागुन २०७६, ११ : ५३ शुक्रवार
एसियन कप छाडेर विदेश

तीन महिनाअघि साग खेलकुदको मुखैमा कीर्तिमानी नेपाली धाविका तुलसा खत्री भागेको खबरले नेपाली खेलकुद जगत तताएको थियो। आफ्नै देशमा हुन लागेको १३ औँ साग छाडेर कतार भागेकी उनी पैसा राम्रै कमाउने खेलाडीमा पर्थिन्। यति हुँदाहुदै पनि नेपाली सेनाको तर्फबाट खेल्ने खत्रीले करियरका लागि आफू प्रशिक्षण छाडेर कतार भाग्नुपरेको स्पष्टीकरण दिएकी थिइन्।

त्यसैगरी ओलम्पिक खेलिसकेका तेक्वान्दोकी खेलाडी यानकुमारी चौलागाईँ, उनकी सहयात्री ज्ञानी चुनारा र निशा रावल तीनै जना अहिले अमेरिका पलायन भएका छन्।

यसै वर्ष फुटबलका मिडफिल्डर हेमन गुरुङ पनि खेल छाडेर विदेश हिँडेका थिए। उनी अहिले अस्ट्रेलियामा काम गरिरहेका छन्।

यी घटना सेलाउन नपाउँदै नेपाली राष्ट्रिय टिमका गोलकिपर एलन न्यौपाने पनि फुटबल टिमको बन्द प्रशिक्षण त्यागेर विदेश हिँडेका छन्।

आगामी महिना दशरथ रंगशालामा हुने फिफा विश्वकप र एएफसी एसियन कपका लागि घोषणा गरिएको ३१ सदस्यीय प्रारम्भिक टिममा रहेका एलन रोजगारीका लागि अस्ट्रेलिया गएका हुन्।

हेटौँडा घर भएका एलन अस्ट्रेलिया गएको विषयमा एन्फालाई कुनै जानकारी छैन। यद्यपि उनले नेपाली टिमका व्यवस्थापक मधुसूदन उपाध्यायलाई आफू प्रशिक्षणमा उपलब्ध हुन नसक्ने जनकारी भने गराएका थिए। उपाध्यायका अनुसार, एलनले घरको काममा ब्यस्त भएकाले आफू बन्द प्रशिक्षणमा आउन नसकेको बताएका थिए। बन्द प्रशिक्षण २० फ्रेबुअरीमा थियो भने १ मार्चदेखि एसियन कपका लागि प्रशिक्षण सुरु भएको छ। अहिले एलनको साटो अर्का खेलाडी दीप कार्की प्रशिक्षणमा सहभागी छन्।

एन्फा एकेडेमीका उत्पादन एलन अस्ट्रेलिया र चाइनिज ताइपेइविरुद्धको टिममा छनोट भएका थिए तर जोसँग खेलमा भिड्नुपर्ने थियो, उनी त्यही देशको शरणमा रोजगारीका लागि पुगेका छन्।

नेपालको यु–२३ टिम (२३ बर्षमुनिको खेलाडी) का नियमित सदस्य एनलले २०१६ को बंगबन्धु कप र १२ औं सागमा स्वर्ण जितेका थिए। उनले नेपालको यु २३ टिमबाट पाँच खेल खेलेका छन्। राष्ट्रका लागि खेलेका एलन राष्ट्रिय खेलाडी भने होइनन्। उनलाई छनोटमा परेका बेला मात्रै बोलाइने गरिएको उपाध्यायले बताए।

राष्ट्रिय टिममा पर्न निरन्तर संघर्ष गरेका एलन नेपालका उत्कृष्ट गोलकिपर मध्येमा पर्छन्। उनी २०१३ देखि थ्रीस्टार फुटबल क्लबमा आबद्ध थिए। उत्कृष्ट गोलकिपर हुँदाहुँदै पनि उनी राष्ट्रिय टोलीमा पर्न सकेका थिएनन्।

Leave A Comment