‘विद्यार्थी राजनीति कुहिरोभित्रको कागजस्तो’

शनिबार, २४ फागुन २०७६, १२ : ४३ शुक्रवार
‘विद्यार्थी राजनीति कुहिरोभित्रको कागजस्तो’

पाल्पाको त्रिभुवन क्याम्पसमा लामो समय अध्यापन गराएका प्राध्यापक शिवलाल भुषाल त्रिभुवन विश्वविद्यालयको मानविकी संकायको डिन छन्। विगत तीन वर्षदेखि डिनको भूमिकामा रहेका भुषाल गत पुसदेखि निमित्त रेक्टर पनि हुन्। त्रिभुवन विश्वविद्यालयमा रेक्टरको नेतृत्वमा स्वतन्त्र विद्यार्थी युनियनको चुनाव गराउने परिपाटी छ।

२०७५ साल फागुनमै भइसक्नुपर्ने स्ववियु चुनाव हुन सकेको छैन। यसपटक पनि फागुन १४ गते चुनाव गराउनुपर्ने बाध्यता थियो तर हुन सकेन। चुनाव किन हुन सकेन त ? के त्रिविले स्ववियुको विकल्प खोज्न थालेको हो या विद्यार्थीका कारण चुनाव हुन नसकेको हो ? यिनै विषयमा केन्द्रित रहेर शुक्रवारकर्मी प्रजु पन्तले निमित्त रेक्टर भुषालसँग गरेको कुराकानी:

गत वर्ष नै सम्पन्न गर्नुपर्ने चुनाव यस पटक पनि हुन सकेन, किन हो ?
यो पालि हुनुपर्ने हो तर हुन सकेन। त्रिवि चुनाव गराउने अवस्थामा नै थियो। विद्यार्थी संगठनहरुसँग पनि चरणबद्ध छलफल भएका हुन्। ठोस समाधान भने निस्केन।

चुनाव हुन नसकेपछि विश्वविद्यालय आफ्नो क्यालेन्डरमा अघि बढेको छ। परीक्षा सार्न हुन्न भन्ने हाम्रो मान्यता हो। मलाई लाग्छ, अहिले विद्यार्थी संगठनहरु आन्तरिक गृहकार्यमा हुनुहुन्छ। नेपाल विद्यार्थी संघको पनि केन्द्रीय समिति आएको छ। हामीले सबै विद्यार्थी संगठनलाई चुनाव गर्न तयार भएर आउनुस् भनेका छौँ।

एकाध क्याम्पस छाडेर हेर्ने हो भने स्ववियु चुनाव नभएको ११ वर्ष भयो। किन होला ?
केही क्याम्पसमा हुने, केहीमा नहुने मूलत राष्ट्रिय राजनीतिको प्रभाव हो। हार्ने अवस्था भए विद्यार्थी संगठनहरु चुनावमै नजाने भए। त्रिविले त वातावरण मिलाउने हो। चुनाव गराउन त विद्यार्थी आफैँ तयार हुनुप-यो नि ! विद्यार्थी तयार भए चुनाव त हुन्छ नै।

विद्यार्थी संगठनले त्रिविले चाहेन भन्ने अनि त्रिविले विद्यार्थीले मानेन् भन्ने। जुहारी त चर्कै चल्छ। खास कुराको चुरो चैँ के हो ?
मैले भनिहालेँ नि, त्रिविले वातावरण तयार गर्ने हो। चुनाव त खासमा विद्यार्थीलाई हो नि चाहिने, हैन र ? उनीहरु नतातेपछि चुनाव कसरी हुन्छ ? विद्यार्थी आफूहरुको संगठन बलियो बनाएर आउनुप-यो नि, हैन र ?

मलाई अचम्म लाग्छ, हाम्रोमा विद्यार्थीहरु क्यालेन्डर मिच हाम्रो जाँच सार भनेर आउँछन्। जो वास्तविक विद्यार्थी हुन् भने तिनीहरुले दबाब दिँदैनन्। उनीहरु भने क्यालेन्डर लागु गर भन्छन्।

हाम्रा विद्यार्थी संगठनहरु राजनीतिक दलको भातृसंगठन हुन्। राजनीतिक दलहरुबाट हस्तक्षेप भएको हो त ?
प्रत्यक्ष भएको छैन। विद्यार्थी संगठनमार्फत भने हुन सक्छ। उनीहरुले चाहे बमोजिम होस् भन्ने त भई नै हाल्छ। विद्यार्थी संगठनमा लाग्नेहरुले पनि त स्वविवेकले निर्णय गर्नुप¥यो नि ! सायद गर्छन् पनि। पूरै पार्टीको हस्तक्षेप हुन्छ भन्ने त होइन, विद्यार्थी नेताले पनि चुनाव त हुनैपर्छ भन्नुहुन्छ।

भन्ने तर व्यवहार अर्कै देखाउने हो ? विद्यार्थी संगठनहरुले नै चुनाव नचाहेजस्तो देखिएन र ?
(हाँस्दै) त्यस्तै देखिन्छ। अहिलेसम्म हाम्रो उपयुक्त समय यो हो भनेर आउनुभएको छैन।  विद्यार्थीले बुझ्नु पर्ने कुरा के भने समानुपातिक र प्रत्यक्ष प्रणालीबाट चुनाव हुन्छ। अधिकांशको केही न केही रुपमा उपस्थिति भइहाल्छ, विद्यार्थीले चाहे भने चुनाव हुन्छ।

राजनीतिक दलको भागबण्डाको आधारमा त्रिविका पदधिकारीहरुलाई नियुक्ति दिइन्छ। आफूनिकट पार्टीका पदाधिकारी छ भने विद्यार्थी संगठनले उनीहरुलाई आफूअनुकूल प्रयोग गर्छन् भनिन्छ, किन यस्तो ?
पदधिकारीहरुलाई विद्यार्थीले त भन्लान् नै। तर पदधिकारीहरुको पनि कार्य सम्पादन हुन्छ के के गर्न सके र के के सकेनन् भनेर मूल्याङ्कन हुन्छ। विद्यार्थीले भनेको पूरै मान्छन् भन्ने मलाई लाग्दैन। पदधिकारीहरु पार्टी निकट छन्, उनीहरु आबद्ध पार्टीको भातृसंगठनप्रति सदाशयता देखाउलान् तर भनेकै मान्छन् भन्ने हैन। आफ्नो कार्यक्षमता कमजोर देखाउन कसलाई मन नहोला र ? तपाईंले भन्नुभएजस्तो प्राध्यापकहरु प्रयोग हुँदैनन्।

यतिञ्जेल चुनाव नगराएर त्रिविले विद्यार्थीलाई तह लगाउन खोजेको हो ?
अहिले विश्वविद्यालय त्यो पक्षमा गएको छैन। २८ वर्षे उमेर हदबन्दीले विद्यार्थीले स्वीकार पनि गरेका छन्। यो हदबन्दीका कारण प्रत्यक्ष कक्षामा गएर पढ्ने विद्यार्थी चुनावमा आएपछि समस्या हुँदैनन्। पेशेवर राजनीति गर्नेहरु विश्वविद्यालय तथा क्याम्पसहरुमा आउँदैनन्। त्रिवि त स्ववियु होस् र सबै विद्यार्थीको माग बोकेर बोकेर उनीहरुले निवार्चित गरेका प्रतिनिधि आऊन् भन्ने चाहन्छ। चुनाव नहुनु विद्यार्थी संगठनहरुकै कारणले हो।

त्रिविले स्ववियुको विकल्प खोजेको ठान्ने पनि उत्तिकै छन् नि ?
छैन। अहिलेलाई स्ववियु नै हो, स्ववियुको विकल्प।

अघि पेशेवर विद्यार्थी राजनीति गर्ने विद्यार्थीहरु भन्नुभएको थियो। उनीहरुले अवरोध गरेका छन् कि छैनन् त ?
संगठनभित्र पुराना विद्यार्थी नेताको प्रभाव होला। हामीले चाहेको के हो भने कक्षामा आएर नियमित विद्यार्थी चुनिएर आयो भने सजिलो हुन्छ। वास्तविक विद्यार्थीको माग पनि आउँछन्। २८ वर्षे उमेर हदबन्दी लागु भएपछि उनीहरुको वर्चस्व घट्दै गएको छ।

चुनाव हुँदा र नहुँदा त्रिविलाई के फरक पार्छ ?
त्रिविलाई आधाकारिक विद्यार्थीको प्रतिनिधत्व भयो भने सजिलो हुने हो। पोलिसी बनाउने ठाउँमा उनीहरुको पनि प्रतिनिधत्व हुन्छ। खास विद्यार्थीको एजेन्डा के हो, विश्वविद्यालय प्रतिको आग्रह र मनोभावना थाहा हुन्छ अनि योजना बनाउन पनि सजिलो हुन्छ। चुनाव नभए विद्यार्थीको कुरा थाहा हुन्न। चुनाव भएको धेरै राम्रो हुन्छ।

अलि अघि त्रिचन्द्रका क्याम्पस प्रमुख नै विद्यार्थीबाट कुटिनुभयो। प्राध्यापकहरु विद्यार्थी नेताबाट कत्तिको आतंकित देख्नुहुन्छ ?
खास विद्यार्थीबाट छैनन्। पुराना विद्यार्थीबाट हो। पुराना विद्यार्थी जो क्याम्पस नै कुरेर बसेका हुन्छन्, उनीहरुले प्राध्यापकभन्दा म जान्ने छु भन्ने भ्रममा हुन्छन् र समस्या आउँछन् । एकाध क्याम्पसमा विद्यार्थीको हस्तक्षेपजस्तो देखिएको हो, खासमा प्राध्यापकहरु आतंकित छैनन्।

तपाई क्याम्पस पढ्दा र  अहिले पढाउँदा भएको विद्यार्थी राजनीति कत्तिको फरक पाउनुहुन्छ ?
त्यतिबेला बढी सैद्धान्तिक र वैचारिक बहसहरु हुन्थे। पार्टी पोलिटिक्स नभएका कारण त्यो थियो। विद्यार्थी संगठनले के भन्छन्, के गर्छन् भन्ने चासोको विषय पनि हुन्थ्यो। देशको राजनीतिक माहोल, विद्यार्थी राजनीति हेरेर थाहा हुन्थ्यो।

पार्टी ओपन भएपछि शैक्षिक संस्था राजनीति गर्ने थलोको रुपमा रहेनन्। पार्टी राजनीतिकै  बहस छलफल हुनै छाडे। अहिले विद्यार्थी राजनीति कुहिरोभित्र हराएको काग भएजस्तो देखिन्छ।

विद्यार्थी राजनीति खासमा कस्तो हुनुपर्ने हो ?
राजनीति निर्माण गर्ने थलाहरु धेरै छन्। विश्वविद्यालय ज्ञानमा आर्जनमा फोकस हुने हो। राजनीतिक, सामाजिक, आर्थिक राष्ट्रिय अन्तर्राष्ट्रिय मुद्दामा बहस छलफल हुन जरुरी छ। विद्यार्थीमा आलोचनात्मक चेत हुनुप¥यो। अबको विद्यार्थी राजनीति त्यसतर्फ मोडियोस् भन्ने हो। विद्यार्थीहरुले नयाँ–नयाँ आविष्कारका कार्यक्रमहरु ल्याउने, स्किल बढाउने, पठनपाठनमा व्यवहार त लैजाऊ भनी सरकार तथा विश्वविद्यायलाई दबाब दिन उपयुक्त हुन्छ। आफ्नै परिर्वतन गर्नतर्फ लाग्न प-यो।

विश्वविद्यालय दह्रो बन्न विद्यार्थी, सरकार, प्राध्यापक र अभिभावकको राम्रो संयोजन हुनुपर्ने हो, हाम्रोमा यसको अभाव छ है ?
क्याम्पस तहमा अभिभावकको कमै भूमिका हुन्छ। शैक्षिक संस्था भनेकै विद्यार्थी सरकार र प्राध्यपक गरी तिनको कम्बिनेसन हो। त्रिकोणीय सम्बन्ध हो। यो हुनुपर्छ तर भएको छैन। हिजोको ह्याङ आजसम्म उत्रेको छैन।

कसरी सम्भव हुन्छ त ?
सबैले आ–आफ्नो क्षेत्रबाट गर्नुप¥यो। विद्यार्थीले आफ्ना माग अनुसन्धान तथा अध्ययनमा सघाउ हुने ल्याउन प-यो। प्राध्यापक अप्डेट हुन प-यो अनि व्यवस्थापन पक्ष पूरा गर्न तयार हुनुप-यो। सम्भव भइहाल्छ नि !

त्रिविको क्यालेन्डर लागु हुँदैन। नहुनुको खास कारण के हो ?
विद्यार्थीकै कारणले हो। मलाई अचम्म लाग्छ, हाम्रोमा विद्यार्थीहरु क्यालेन्डर मिच हाम्रो जाँच सार भनेर आउँछन्। जो वास्तविक विद्यार्थी हुन् भने तिनीहरुले दबाब दिँदैनन्। उनीहरु भने क्यालेन्डर लागु गर भन्छन्।

अन्त्यमा चुनाव कहिले हुन्छ त ?
चैतको अन्तिम हप्ता अथवा वैशाख पहिलो हप्तासम्म हो। हेरौँ के हुन्छ ! नेविसंघले निमित्त रेक्टर भएर हुन्न, रेक्टर नियुक्ति हुनुपर्छ भनेको छ तर खास विश्वविद्यालयको नियममा त यो छैन।

किन त्यसो भनेका ? भागबण्डाअनुसार पदाधिकारी नियुक्ति हुने हुँदा कांग्रेसको भागमा पर्छ र हो ?
खै थाहा भएन । त्यो त उनीहरुलाई नै सोध्नुपर्छ।

Leave A Comment