प्रेमिका पाउन विज्ञापन

मङ्गलबार, २७ फागुन २०७६, ०१ : ०० शुक्रवार
प्रेमिका पाउन विज्ञापन

भ्यालेन्टाइन्स डे त सकियो तर प्रेमिका फेला पार्ने तौरतरिका र उटपट्याङ क्रियाकलाप भने सकिएको छैन। अब मार्क रोफेलाई नै हेर्नुस् न ! उनले करिब ५० हजार खर्चेर ठूलो होर्डिङ बोर्ड भाडामा लिए र आफूलाई प्रेमिका चाहिएको विज्ञापन गर्न भ्याए।

बेलायतको म्यानचेस्टर निवासी मार्कले गुनासो गर्दै भनेका छन्, ‘मेरा नजिकका सबै साथीभाइहरुको बिहे भइसक्यो, नहुने चाहिँ म मात्र एक्लो परेँ। त्यसैले मैले प्रेमिका पाइहाल्छु कि भनी यस्तो विज्ञापन गरेको हुँ।’

३० वर्षे मार्कले विज्ञापनमा आफ्नो वेबसाइट पनि हालेका छन् र सो वेबसाइटबाट करिब दुई हजार जनाले प्रेमिका हुन मञ्जुर रहेको निवेदन पनि गरेको उनले बताएका छन्।

रोचक कुरा त उनलाई निवेदन दिनेमध्येमा एक माया जामासमेत रहेकी छन्। माया बेलायती टेलिभिजन कार्यक्रम सञ्चालक हुन्। उनी युवापुस्तामाझ निकै लोकप्रिय छिन्।

पछिल्लो अपडेट दिँदै ट्वीटरमा उनले लेखेका छन्, ‘मैले करिब सय जना युवतीहरुको निवेदन अहिलेसम्म खँगालिसकेको छु। तेइस सयभन्दा बढी महिलाबाट सय जनामा झार्नु मलाई कम्ता गाह्रो भएन।’

संसारभरिबाट तेइस सय जनाले निवेदन हालेका भए पनि उनले बेलायत निवासी नै डेटिङका लागि उपयुक्त हुने भन्दै सय जनालाई छनोट गरेका हुन्। ‘मैले यत्तिका विधि निवेदन पाउँला भन्ने सोचेको पनि थिइनँ,’ उनले ट्वीटरमा लेखेका छन्, ‘मैले छान्ने भनेको निवेदन हाल्नेहरुबाट नै हो। किनभने उहाँहरुको यत्तिको मिहिनेतलाई मैले सम्मान गर्नैपर्छ।’

Leave A Comment