टाउकोको ट्युमर निकाल्दै गर्दा भ्वाइलिन बजाउने बिरामी

सोमबार, ०३ चैत २०७६, ११ : ४८ शुक्रवार
टाउकोको ट्युमर निकाल्दै गर्दा भ्वाइलिन बजाउने बिरामी

एउटा अर्केस्ट्रामा सामूहिक रुपमा भ्वाइलिन वादन गर्ने एक महिलाको टाउकोको सर्जरी गर्नुपर्ने र त्यो ज्यादै कठिन भएकाले भ्वाइलिन वादिकालाई सर्जरी गरिरहेका बेला भ्वाइलिन वादनका लागि स्वीकृति दिइएको छ।

डग्मार टर्नरलाई चिकित्सकहरुले टाउकाको सर्जरीपछि उनको भ्वाइलिन बजाउने कला बिर्सन सक्ने सचेत गराएपछि उनले चाहेको खण्डमा सर्जरी हुँदै गर्दा भ्वाइलिन बजाइरहने सल्लाह दिएका थिए। सल्लाहबमोजिम डग्मारले पनि सर्जरी भइरहँदा ट्वाँट्वाँ पार्दै भ्वाइलिन बजाइरहिन्।

मस्तिष्कको ज्यादै कठिन सर्जरीमध्ये एक गरिरहँदा चिकित्सकहरुलाई डर थियो कि कतै उनको उम्दा भ्वाइलिन वादनको कौशल सर्जरीका कारण हरण नहोस्। त्यसैले डग्मारलाई अरु कसैले नपाउने सुविधा दिइएको थियो। सोही अवसरलाई सदुपयोग गर्दै चिकित्सकहरुले मस्तिष्कको ट्युमर हटाउने काम गर्दैरहँदा उनले अपरेसन थिएटरमा ट्वाँट्वाँ भ्वाइलिन बजाइरहेकी थिइन्।

५३ वर्षीया डग्मार टर्नर म्यानेज्मेन्ट कन्सल्टेन्ट हुन्। उनलाई भ्वाइलिन बजाउन मज्जा लाग्छ। सर्जरीपछि आफ्नो सो कौशल नबिर्सिइयोस् भनी उनले यो उपाय अपनाएकी थिइन् र चिकित्सकहरु यसमा सहमत पनि थिए। उनको बेलायतस्थित किङ्स कलेज हस्पिटलमा सर्जरी गरिएको थियो।

अस्पतालका कन्स्टल्टेन्ट न्युरोसर्जन प्रा. केयुमर्स एस्कनले नै अपरेसनका दौरानमा भ्वाइलिन बजाउन सुझाव दिएका थिए। ट्युमर हटाउञ्जेलसम्मै उनलाई भ्वाइलिन बजाउन दिइएको थियो।

यसको भिडियो पनि तयार पारिएको थियो। सर्जरीका क्रममा उनका आँखा बन्द भए पनि खुइँखुइँती भ्वाइलिन बजाइरहेकी थिइन्।

‘यस्तो अपरेसनका बेला यसरी कुनै बिरामीले बाजा बजाएको म पहिलो पटक देख्दैछु,’ एस्कनले भने, ‘हामीले ९० प्रतिशत ट्युमर निकालिसक्दा पनि उनको देब्रे हातको गतिविधिमा कुनै परिवर्तन देखिएको थिएन।’

‘उहाँको ४० वर्ष लामो अभ्यास त्यसै खेर नजाओस् भन्ने लागेको थियो,’ उनले भने, ‘त्यो बचाउन हामीले पनि मिहिनेत ग-यौँ।’

डग्मारले भनिन्, ‘भ्वाइलिन मेरो जीवनकै प्यासन हो। १० वर्षको उमेरदेखि भ्वाइलिनमा हात चलाइरहेकी थिएँ, कतै यो अपरेसनपछि मेरो यही एउटा प्यासन खोसियो भने भनेर कम्ता डर लागेको थिएन ! भाग्यवश त्यस्तो भएन। बहुतै खुसी छु।’

Leave A Comment