राजा हिन्दुस्तानीको चुम्बन

बिहिबार, ०६ चैत २०७६, ११ : १५ शुक्रवार
राजा हिन्दुस्तानीको चुम्बन

सन् १९९६ मा ‘राजा हिन्दुस्तानी’ चलचित्र प्रदर्शनी भएको थियो। आमिर खान र करिश्मा कपुरको मुख्य भूमिका रहेको यस चलचित्रलाई बलिउडको अत्यधिक सफल चलचित्रमध्ये एक मानिन्छ।

‘राजा हिन्दुस्तानी’ एक उच्चस्तरीय चलचित्र थियो र त्यसको चर्चा हुनु स्वाभाविक पनि हो। यो चलचित्रको चर्चासँगै यस चलचित्रमा रहेको आमिर र करिश्माबीच चुम्बनको दृश्यको पनि निकै चर्चा हुने गर्छ।

आम दर्शकहरु पर्दामा जे देखाइन्छ, त्यो दृश्य हेरेर आनन्दित, रोमाञ्चित हुन्छन्। त्यो दृश्यलाई उत्कृष्ट बनाउन के कस्ता मिहिनेत गरियो, पर्दा पछाडि के कस्ता कार्य भए, कस्तो पृष्ठभूमि थियो ती यावत् कुराहरु आम दर्शकहरुको चासोको विषय हुँदैन। त्यसैले त्यस समय आम दर्शकहरुले त्यो चलचित्र हेरे, दुई मुख्य कलाकारबीचको चुम्बन दृश्य पनि उत्तिकै रुचाए। आम दर्शकहरुलाई त्यो चुम्बनको दृश्य उत्कृष्ट बनाउन गरिएको मिहिनेत, पर्दा पछाडिको कार्य र पृष्ठभूमि जान्ने अवसर भने अझैसम्म मिलेको थिएन। यद्यपि चलचित्र प्रदर्शन भएको २४ वर्षपछि भने ती यावत् कुराहरु जान्ने अवसर जुरेको छ र सो जान्ने अवसर चलचित्रका मुख्य कलाकार करिश्माले नै दिलाएकी हुन्।

करिश्माले चलचित्र समीक्षक राजीव मसन्दसँगको अन्तरक्रियामा भन्दै थिइन्, ‘त्यो चुम्बनको दृश्य फेब्रुअरी महिना उटी भन्ने ठाउँमा भएको थियो। त्यो ठाउँ अत्यधिक चिसो थियो। बिहान ७ बजेदेखि बेलुकी ६ बजेसम्म छायाङ्कन हुन्थ्यो। आमिर र मबीच हुने चुम्बनको दृश्य ओके हुन सकिरहेको थिएन। जसकारण त्यो चुम्बनको दृश्य छायाङ्कन गर्न तीन दिन लागेको थियो। अत्यधिक चिसोका कारण हामीलाई त्यो दृश्य कहिले सकिएला भन्ने हुन्थ्यो।’ हेर्नोस् त, त्यस समयमा एउटा चुम्बनको दृश्य छायाङ्कन गर्न पनि कति मिहिनेत लाग्ने रहेछ !

Leave A Comment