‘प्रहरीले डिस्कोबाट स्कुले ड्रेसमै समात्योे’

बिहिबार, ०६ चैत २०७६, १२ : २८ शुक्रवार
‘प्रहरीले  डिस्कोबाट स्कुले ड्रेसमै समात्योे’

तितो सत्यमा छन्देको क्यारेक्टर पाएर चर्चामा आएका गोपाल ढकाल (छन्दे) ले दर्जनौं ट्वाक्क टुक्क, मेरी बास्सै लगायत २६ वटा ठूलो पर्दाका फिल्मका अलावा विज्ञापनमा पनि अभिनय गरिसकेका छन्। उनै छन्देसँग भोला अधिकारीले गरेको नाइट लाइफ कुराकानी:

ह्याङ आउट गर्न के गर्नुहुन्छ ?
कहिलेकाहीँ बाहिरफेर साथीभाइसँग डान्सबार, दोहोरीतिर जान्छु। रेगुलर भने जाँदिन। कहिलेकाहीँ साथीहरुले फलाना ठाउँ जाऊँ न त भन्नु हुन्छ। कसैले आज मेरोमा गेष्टका रुपमा आइदिनु न भन्दा जाने गरेको छु।

पहिलोपटक कहाँ जानुभएको थियो ?
पहिलोपटक बागबजारमा तारा डान्सबार थियो, जुन फिल्म निर्माता रोज राणाले चलाउनुहुन्थ्यो। जतिखेर मलाई उत्तम दाइले ओए छन्दे आज यता आइज भनेर बोलाउनुभयो। आजभन्दा बाह्र तेह्र वर्षअगाडिको कुरा हो। जुन बेला म छन्दे नामले हिट भइरहेको थिएँ। जता गए पनि मेरो हाइ हाइ भइरहेको थियो। तारा डान्सबारमा पहिलोपटक प्रवेश गरेको अनुभव लिएको थिएँ।

झट्ट डान्सबार छिर्दा कस्तो लाग्यो  ?
मलाई त अनौठो लाग्यो। डान्सबारमा उत्तम दाइले मलाई बोलाउनुभयो। कस्तो होला भन्ने मनमा लागिरहेको थियो। जब डान्सबार भित्र छिरेँ त्यहाँ त अर्कै संसार हुँदो रहेछ। छोरी चेलीको अर्धनग्न नाच देखेर म छक्क परेँ। हाम्रा छोरी चेलिबेटीले बाँच्नका लागि के– के गर्नुपर्ने रहेछ भन्ने लाग्यो।

नाइटमा हिँड्दा धेरै थरिका घटना देख्ने गरिन्छ। तपाईं त हेर्न मात्र नभएर कार्यक्रम गर्न पनि जानुहुन्छ ? यसरी हिँड्दा कस्ताकस्ता दृश्य देखियो ?
अर्कोपटक देशदेखि विदेशको सुटिङमा थियौँ। यसको सुटिङ सुन्धारामा भइरहेको थियो। रातिको त्यस्तै एघार, बाह्र बजेको थियो होला। बेबीलन भन्नेमा सुटिङमा रहेका थियाैँ। त्यहाँको एउटा डान्सबारबाट कलेजको ड्रेसमै आएका विद्याथीलाई प्रहरीले समातेर चौकी लगेको थियो

मैले बुझ्दा ती विद्यार्थीले दुई जोर लुगा बोक्दा रहेछन्। एउटा स्कुलको भइहाल्यो अनि अर्को नर्मल बाहिर लगाएर हिँड्ने खालको लुगा नै। उनीहरु डान्सबारमा काम गर्दा रहेछन्। काठमाडौंमा रुम भाडा तिर्न परिहाल्यो, खानु प¥यो। त्यसका लागि केही काम त नगरिकन बस्न सकिँदैन। सायद उनीहरु पढाइ खर्च जुटाउनका लागि पनि यसरी काम गरेको पाएँ। धेरै जसो बारमा लफडा परिरहेको नै देख्छु।

तपाईंले अघि साथीहरुसँग जान्थेँ भन्नु भयो, अल्कोअल कत्तिको पिउनुहुन्छ ?
साथीहरुका लागि नाइँ भन्न नसकेर मात्र हल्का पिउँछु। साथीहरुको जस्तो डान्सबारमा जाने पैसा उडाउने, पिएर घरै नचिन्ने गरी कहिल्यै पिउँदिन। कलाकार भएपछि कार्यक्रम सकिएपछि हल्का साथीहरुसँग बसेर पिउँछु। मैले अहिलेसम्म लाइन क्रस गरेर मापसेमा परेर जरिवाना तिर्नुपरेको रेकर्ड छैन।

तपाईंले डान्सरहरुलाई कत्तिको टिप्स दिनुहुन्थ्यो ?
टिप्स त दिँदैनथेँ। किनभने कमाउन कति गाह्रो छ। मेरा साथीले भने भयङ्करैै टिप्स दिन्थे। मेरा केही त्यस्ता साथी थिए डान्सबार, दोहोरीसाँझ छिर्ने बित्तिकै पचास हजार त आँखा चिम्लेर उडाउँथे। म भने पैसा नउडाओ न साथी हो कमाउन कति गाह्रो छ भन्थेँ। उनीहरूले आज उडाए भोलि आइहाल्छ नि भन्थे। साथीहरु घरजग्गा बेचबिखन लगायतका दलाली थिए।

उनीहरुले कमाएको आधा पैसा डान्सबार र  दोहोरीमा नै सकाए। उनीहरुको व्यवसाय पछिल्लो समय चौपट भएपछि रोडमा झरेछन्। उनीहरु अहिले काठमाडौंमा टिक्न नसकेर गाउँतिर सानोतिनो व्यवसाय गरेको सुन्छु।

काठमाडौं बाहिर नि जानुभएको छ ?
गएको छु। केही समयअगाडिको कुरा हो मलेसिया कार्यक्रममा गएका थियौँ। म लगायत सिन्धु मल्ल महादेव त्रिपाठीलगायतका साथीहरु जाँदा त्यहाँ नेपाली दोहोरीसाँझ रहेछन्। त्यहाँ हामीलाई खाना खान र रमाइलो भेटघाटका लागि बोलाइएको थियो। जहाँबाट हामीले एक दुई घण्टामा बीस बीस हजार पनि पाएका छौँ। अरु गीत गाइदिने म र महादेवले हँसाइदिऊँ पछि माहोल रमाइलो बन्यो। नाइट लाइफमा रमाउनु नराम्रो होइन तर कुन किसिमले रमाउने भन्नेमा भर पर्छ।

अहिले कत्तिको नाइटमा हिँड्ने गर्नुभएको छ ?
बेला–बेला हिँडिरहेको हुन्छु। नयाँ बसपार्क एरियामा साथीहरुको दोहोरी छन्। ठमेलतिर पनि कार्यक्रमका सिलसिलामा कहीँ न कहीँ पुगिरहेकै हुन्छु। कलाकार भएपछि ढाँट्नु मिलेन।

Leave A Comment