दुई उम्दा कमेडीएनको पुनर्मिलन

बिहिबार, २७ चैत २०७६, ०१ : ५० शुक्रवार
दुई उम्दा कमेडीएनको पुनर्मिलन

कपिल शर्मा र सुनील ग्रोभर दुई उम्दा कलाकार एवं कमेडियन हुन्। उनीहरु कुनै बेला ‘दि कपिल शर्मा शो’ मा एकसाथ काम गर्थे। सुनिल सोका एक मजबुत खम्बा थिए। उनको रिन्कु भावी, गुथी र डाक्टर मसुर गुलाटी चरित्रलाई कसले भुल्न सक्छ र ! सोको टिआरपी उच्च आउनुमा उनकै मुख्य भूमिका रहेको धेरै प्रशंसकहरूको धारणा थियो।

सन् २०१७ मा कपिल, सुनिल र अरु समूह सदस्यहरु अस्ट्रेलियामा एउटा प्रस्तुति सकेर भारत फर्कँदै थिए। यात्राको समयमा कपिलले रक्सीको नशामा सुनिललाई अपशब्द बोल्नुका साथै होच्याउने प्रयत्न गरे। जसकारण हवाइजहाजभित्रै दुईबीचको झगडाले ठूलो रुप लियो। त्यसपश्चात् दुईबीचको सम्बन्ध पहिलेको जस्तो सुमधुर रहेन। एकअर्काप्रति तिक्तता र घृणाको स्तर बढ्दै गयो। र, सुनील सोबाट अलग हुने निर्णय गरे।

यस्तो परिस्थिति सिर्जना हुनुमा मुख्यतः कपिलको गल्ती थियो। यसलाई उनले स्वीकारे मात्र होइन, सार्वजनिक रुपमा माफी पनि मागे। सुनीललाई कार्यक्रममा फर्कन धेरै पटक अनुरोध गरे। यद्यपि सुनीलले फर्कने कुनै सङ्केत देखाएनन्। यी सम्पूर्ण घटनाक्रमपछि कपिलले निकै लामो ब्रेक लिएका थिए।

सन् २०१८ मा कपिल पुनः आफ्नो ‘दि कपिल शर्मा शो’ कार्यक्रम लिएर आए तर सुनील भने कार्यक्रमको हिस्सा भएनन्। यसबाट दुईबीचको सम्बन्धमा सुधार नआएको प्रस्ट हुन्थ्यो। कार्यक्रमका अनेकन रोचक श्रृंखलाहरु टेलिभिजनमा प्रसारण भइरहे। कपिलले हरेक श्रृंखलामा उत्कृष्टता थपिरहे। टिआरपी पनि बिस्तारै बढ्दै गयो। यसका बाबजुत धेरै प्रशंसकहरुले सुनीलको अनुपस्थिति अनुभूत गरिरहे र कार्यक्रममा उनको पुनरागमन हुने सपना देखिरहे।

सन् २०१९ को डिसेम्बर महिनामा कपिलले इन्स्टाग्राममा एउटा फोटो राखे, जसमा उनीसहित सलमान खान र सुनिल पनि देख्न सकिन्थ्यो। त्यस फोटोले दुईबीचको सम्बन्धमा सुधार आएको स्पष्ट सङ्केत देखाउँथ्यो। हालै कपिलले फेरि सामाजिक सञ्जालमा एउटा भिडियो अपलोड गरे, जसमा मिका सिंह र सुनील पनि देख्न सकिन्छ। उनीहरुले कुनै एउटा बिहे पार्टीमा एकसाथ प्रस्तुति दिएको भिडियो थियो त्यो। उनीहरुको यो पुनर्मिलन बिहे पार्टीको प्रस्तुतिमा मात्र सीमित नभएर ‘दि कपिल शर्मा शो’ मा पनि देख्न पाइयोस् भन्ने कामना धेरैको यद्यपि छँदैछ।

Leave A Comment