आमिरको सिरानी मोह

बिहिबार, २७ चैत २०७६, ०२ : २८ शुक्रवार
आमिरको सिरानी मोह

बलिउड अभिनेता आमिर खानको एउटा अनौठो बानी छ। कहीँकतै यात्रा गर्नु अगाडि घरको सिरानी बोक्न कहिल्यै छुटाउँदैनन्। यात्राको समयमा सुत्नका लागि त्यही सिरानी च्यापेर सुत्छन्। यति मात्र कहाँ हो र ! होटलमा रहँदा पनि त्यही सिरानीको प्रयोग गर्छन्। होटलको सिरानी प्रयोग गर्दैनन्।

आमिर अहिले ‘लालसिंह चड्डा’ चलचित्रको छायाङ्कनमा व्यस्त छन्। हालसालै उनी मुम्बई विमानस्थलबाट छायाङ्कन स्थलतर्फ लागेका थिए। साथमा करिना कपुर खान पनि थिइन्। आमिर र करिना ‘थ्री इडियट्स’ चलचित्रपछि एकसाथ यस चलचित्रमा काम गर्दैछन्।

संयोगवश त्यो दिन आमिरको जन्म दिन थियो। बलिउडका अधिकांश सेलिब्रेटीहरुमार्फत आमिरलाई शुभकामना सन्देश प्रवाह हुने क्रम चलिरहेको थियो। यस्तोमा करिना कसरी पछि पर्न सक्थिन् र !

करिनाले इन्स्टाग्राम चलाउन थालेको धेरै भएको छैन। त्यसैले होला उनी यसमा निकै सक्रिय छिन्। हरेक दिन नयाँ नयाँ पोस्ट गरिरहन्छिन्। उनले आमिरलाई शुभकामना दिनका लागि यही सामाजिक सञ्जाल प्रयोग गर्ने निर्णय लिइन्।

आमिर हवाइजहाजभित्र सिरानी च्यापेर सुतिरहेका थिए। त्यही क्षण करिनाले सुटुक्क एउटा फोटो खिचिन्। अनि ‘मलाई मन पर्ने सहअभिनेता आमिरको सिरानी हुनुपर्छ’ भनेर इन्स्टाग्राममा पोस्ट गरिन्। यही फोटो अहिले आमिरको जन्मदिनको उत्कृष्ट फोटोका रुपमा फ्यानहरुमाझ स्थापित हुन पुगेको छ।

Leave A Comment