सर्पसँगको सेल्फी महँगो

आइतबार, ०५ भदौ २०७३, १२ : ४७ शुक्रवार , Kathmandu
सर्पसँगको सेल्फी महँगो

भारतीय राज्य गुजरातका एक युवकलाई सर्पसँग सेल्फी खिच्नु महँगो साबित भएको छ । गुजरातको वडोदरा शहरनिवासी यश बारोटले सानो गोमन सर्पसँग सेल्फी खिचेर सामाजिक सञ्जालमा पोस्ट गरेका थिए । सर्पको बच्चालाई बोतलभित्र हाली बोतल हातमा लिएर खिचेको सेल्फी सामाजिक सञ्जालमा पोस्ट गरेपछि उनी कारबाहीमा परेका छन् ।
सेल्फीको क्याप्सनमा उनले लेखेका छन्, ‘सानो कोब्रासँग एउटा सेल्फी, यसलाई जो कोहीले हजार रुपैयाँमा खरिद गर्न सक्छ ।’ आफूले जिस्किँदै त्यस्तो लेखेको र सेल्फी सेयर गरेपछि लाइक र कमेन्ट बढी पाउने आश आफूले राखेको उनको भनाइ छ । तर, लाइक र कमेन्ट होइन, उनले वन विभागबाट ‘सर्पलाई जथाभावी समातेको अभियोगमा दोषी पाइएकाले २५ हजार रुपैयाँ जरिवाना तत्काल बुझाउनू’ भन्ने पत्र पाए ।
‘सर्पलाई समातेर सेल्फी लिने उनको कामले अरूलाई पनि त्यसै गर्न प्रोत्साहित गर्न सक्छ । यस्तो अवस्था नआओस् भनेर हामीले जरिवाना तिराएका हौँ,’ वन विभागका एक अधिकारीले भने ।

 

Leave A Comment