ऋषिका तीक्ष्ण ठट्टा

सोमबार, ०६ भदौ २०७३, ११ : २९ शुक्रवार , Kathmandu
ऋषिका तीक्ष्ण ठट्टा

बलिउड अभिनेता ऋषि कपुर आफ्ना विवादित ट्वीट्सका कारण सधैँ चर्चामा रहने गरेका छन् । यस पटक उनको ‘हिट लिस्ट’ मा अमेरिकाकी प्रसिद्ध टीभी सेलिब्रिटी किम कार्दसियन छिन् । ऋषिले किम कार्दसियनको फिगरको तुलना प्याजको बोरासँग गर्दै उनको मजाक उडाएका छन् ।
ऋषि कपुरले ट्वीटरमा किमसँगै एउटा प्याजको बोराको तस्बिर पोस्ट गर्दै दुवैको तुलना गरेका छन् । उनले लेखेका छन्– ‘प्रेरणा जेबाट पनि लिन सकिन्छ । प्याजको बोराबाट पनि लिन सकिन्छ ।’ तस्बिरमा किमको डे«सको रङ प्याजको बोरासँग मिलिरहेको छ ।
ऋषिले कुनै सेलिब्रिटीको मजाक पहिलो पटक उडाएका होइनन् । यसअघि पनि उनले अरूको मजाक उडाउँदै आएका छन् । सामाजिक सञ्जालमा आफ्ना विचार राख्ने चक्करमा उनी धेरै पटक विवादमा फसेका छन् ।  हालै, उनले अमेरिकाकी राष्ट्रपति पदकी डेमोक्रेटिक उम्मेदवार हिलारी क्लिन्टनमाथि कमेन्ट गरेका थिए । त्यसपछि ट्वीटेहरू उनीमाथि खनिएका थिए । उनीहरूले ऋषिको आलोचना गरेका थिए । उनले ट्वीटरमा एउटा तस्बिर सेयर गरेका थिए । जसमा हिलारी माइकसामु खोक्दै देखिएकी थिइन् । र, तस्बिरमा लेखिएको थियो– ‘मोनिका, दिस इज राइट ?’
बलिउड अभिनेत्री परिणीति चोपडा पनि ऋषि कपुरको मजाकको शिकार भएकी छिन् । आजभोलि वजन कम गरेबापत पनि अवार्ड पाइन्छ भनेर उनले परिणीतिको मजाक उडाएका थिए । एउटा अवार्ड कार्यक्रममा परिणीतिलाई ‘स्टाइल आइकन अफ द इयर’ को अवार्ड दिइएको थियो । ऋषिलाई एउटा अन्तर्वार्तामा यस अवार्डबारे तपाईंको विचार के छ ? भनेर सोध्दा उनले भनेका थिए– ‘आजभोलि मान्छेहरूले वजन घटाउँदा पनि अवार्ड पाउँदा रहेछन् । म वजन बढाउँछु । कसैले मलाई अवार्ड देला ?’
ऋषिका कटाक्षबाट आलिया भट्ट पनि बचेकी छैनन् । फिल्म ‘कपुर एन्ड सन्स’ मा आलियासँग काम गरिसकेका उनले ट्वीटरमा एउटा मेमे सेयर गरेका थिए । जसमा आलियाको फोटोमा लेखिएको थियो– ‘आलियाले पत्रिकामा पढिन्ः प्रहरीले ८० किलोग्रामको हेरोइन समात्यो । आलियाले भनिन्ः हे भगवान, सोनाक्षीलाई किन समात्या होला ?’ यसरी ऋषिले आलियाको सेन्स अफ ह्युमरको मजाक उडाएका थिए ।
ऋषि कपुरले ट्वीटरमा एउटा फोटो हालेका थिए । जसमा बलिउड अभिनेता रणवीर सिंहको पहिरनको तुलना एउटा कलरफुल वालपेपरसँग गरिएको थियो । उनले ट्वीट गरेको केही दिनअघि मात्र रणवीर रंगीचंगी पहिरनमा एयरपोर्टमा देखिएका थिए । त्यसपछि सामाजिक सञ्जालमा उनको खूब मजाक उडाइएको थियो ।
ऋषि कपुरले बलिउड सेलिब्रिटीको मात्र मजाक उडाएका छैनन्, राजनीतिक व्यक्तित्वलाई पनि बाँकी राखेका छैनन् । राहुल गान्धी विदेश यात्राबाट फर्किएपछि ऋषिले ट्वीटरमा लेखेका थिए– ‘होहल्ला किन भइरहेको छ ? कसैलाई आफ्नो फुर्सदको समयमा आफ्नो पैसाले मोज गर्न दिनुपर्छ । छुट्टीबाट फर्किएकालाई ब्रेक त देऊ ।’

ऋषिले फेसन ब्रान्ड जाराको समेत मजाक उडाएका छन् । हालै जाराले आफ्नो एक कलेक्सनलाई सेलका लागि अनलाइनमा राखेको थियो । यस कलेक्सनमा जिन्स र टी–सर्टका तस्बिर थिए । संग्रहमा थुप्रै ग्रन्ज प्यान्ट्स थिए । ऋषिले फाटेका झैँ देखिने ती प्यान्टमाथि ट्वीट गरे– ‘यो जाराको सेल हो । दुइटा किन्नुहोस् र भीख माग्ने एउटा कचौरो सित्तैमा पाउनुहोस् ।’ उनले यसरी पोस्ट गरेपछि सामाजिक सञ्जालमा त्यो फोटो भाइरल भएको थियो ।

Leave A Comment