जलपरीको धुवाँदार चुनौती

बुधबार, १५ बैशाख २०७३, ०७ : १६ शुक्रवार
जलपरीको धुवाँदार चुनौती

नेपाली पौडीलाई ११ वर्षे गौरियाले नयाँ चुनौती दिएकी छिन्। बिदा मनाउन नेपाल आएकी गौरिका १९ औँ राष्ट्रिय खुला पौडीमा सात कीर्तिमान बनाउँदै लन्डन फर्कंदै छन्। गौरिकाले सातदोबाटोमा १३ र १२ वर्ष पुराना कीर्तिमानलाई तोड्दा नेपाली पौडी स्तरलाई प्रस्ट्याएको छ।

नियमित प्रशिक्षणमा रहे पनि गौरिकाले नेपाली पौडीका सिनियर खेलाडीलाई पछि पादै कीर्तिमानलाई समेत तोडन सफल भइन। उनको सफलताले नेपाली पौडीको स्तर बढाउन धेरै मेहनत गर्नुपर्ने देखिएको प्रशिक्षक ओङदेन लामाले बताउँछन। लामाले भने, 'उमेरको हिसाबले गौरिकाले बनाएको कीर्तिमान उत्कृष्ट हो। उनले योभन्दा अझै धेरै राम्रो गर्न सक्छिन्। यसरी नियमित प्रशिक्षणमा रहे उनले दक्षिण एसियामा पदक जित्न सक्ने सम्भावना छ।'
नेपाली पौडी पूर्वाधारका कारण अपेक्षा गरेअनुरूप अगाडि बढ्न नसकेको लामाको भनाइ थियो। लामा भन्छन, 'गौरिका लन्डनमा नियमित प्रशिक्षण गर्ने खेलाडी हुन्। त्यहाँ वर्षभरि प्रशिक्षण गर्ने सुविधा छ। तर, नेपालमा पौडी खेलाडीले मुस्किलले पाँच महिना प्रशिक्षण र खेल्ने मौका पाउँछन्। जुनसुकै खेलमा पनि अनुभव र प्रशिक्षणले स्तर बढाउँदै लग्ने हो। तर, पौडीमा त्यो अलि कम छ। नेपालमा वर्षभरि प्रशिक्षण गर्ने पौडी पोखरी नबनेसम्म पौडीको स्तर बढाउन कठिन छ।'
एकपछि अर्को कीर्तिमान थपिँदै गएपछि गौरिका एउटै राष्ट्रिय प्रतियोगितामा सात कीर्तिमान बनाउने पहिलोे खेलाडीसमेत बनेकी छिन्। यसअघि शिरीष गुरुङले एउटै प्रतियोगितामा पाँच कीर्तिमान राखेका छन्।
सातदोबाटोस्थित पौडी पोखरीमा गौरिकाले २ सय मिटर व्यक्तिगत मिडले, २ सय मिटर फ्रिस्टाइल, १ सय मिटर बटरफ्लाई, १ सय मिटर ब्याकस्ट्रोक, २ सय मिटर ब्याकस्ट्रोक, ५० मिटर बटरफ्लाई र ५० मिटर ब्याकस्ट्रोकमा कीर्तिमान राखेकी छिन्।
गौरिकाको परिवार विगत नौ वर्षदेखि लन्डनमा बस्दै आएको छ। उनको बुवा पारस सर्जन हुन। गौरिकाकी आमा गरिमा राणा २०५० सालको एसएलसीकी सर्वोत्कृष्ट विद्यार्थी हुन्। आमा गरिमा र भाइसँगै उनी नेपालमा बिदा मनाउन आएकी थिइन। ठमेल घर भएकी गौरिकाले नेपालमा आएको बेला प्रतियोगिता खेल्ने अवसर जुरेको हो।
लन्डनको बर्नेट क्लबमा दुई वर्षदेखि उनले पौडी प्रशिक्षण गरिरहेको बताइन्। शुक्रवार चार कीर्तिमानी स्वर्ण जितेकी गौरिकाले भविष्यमा ओलम्पिक खेल्ने लक्ष्य भएको बताइन। ११ वर्षे गौरिकालेे भनिन्, 'नेपालबाटै ओलम्पिक खेल्ने म कोसिस गर्नेछु। सुरुमा मलाई यहाँ कीर्तिमान बनाउँला जस्तो लागेको थिएन। लन्डनमा पनि मैले आफ्नो उमेर समूहमा स्वर्ण पदक जितिसकेकाले पदक जित्छु भन्ने विश्वास थियो। कीर्तिमान बनेको थाहा पाउँदा खुशी छु। अब आफ्नो लक्ष्यअनुसार पहिला म एसियन खेलकुदका लागि तयारी गर्नेछु।'
प्रतियोगितामा उत्कृष्ट नतिजा निकालेको भन्दै आयोजक नेपाल पौडी संघले गौरिकालाई उदीयमान खेलाडीको रूपमा पुरस्कृत गर्‍यो।
गौरिकाले कीर्तिमान बनाउँदा आमा गरिमा र हजुरबुवा लोकभक्त राणा सातदोबाटो पौडी पोखरीमै थिए। गरिमाले छोरीले नेपालमा आएर पदक जित्दा गर्व महसुस गरेको बताइन्। उनले भनिन्, 'लन्डनमा बसेर पनि छोरीले नेपालमा कीर्तिमान बनाइन्। आफ्नो बच्चाले नेपालमा आएर सफलता हासिल गर्नु हाम्रा लागि खुशीको कुरा हो। उनले नेपालमा आएर आफ्नो क्षमता देखाइन्। खुशी छु। हामी नेपाल फर्कने योजनामा छौँ। भविष्यमा उनले नेपालको लागि अझै राम्रो नतिजा निकाल्ने विश्वास छ।'
गौरिका ह्याब्स गर्ल्स स्कुलमा ७ कक्षामा पढ्छिन्। एक महिना लन्डन रिजन पौडी प्रतियोगितामा गौरिकाले ११ वर्ष उमेर समूहमा चार स्वर्ण पदक जितेको गरिमाले बताइन्।
गौरिकाले २ सय मिटर व्यक्तिगत मिडलेमा नयना शाक्यको नाम रहेको १२ वर्ष पुरानो कीर्तिमानलाई भंग गरिन्। गौरिकाको नाममा २ मिनेट ५३: ५७ सेकेन्डको राष्ट्रिय कीर्तिमान बनेको छ। नयनाले सन् २००२ को बुसान एसियाडमा २ मिनेट ५८:६१ सेकेन्डको राष्ट्रिय कीर्तिमान बनाएकी थिइन्।
गौरिकाले १ सय मिटर ब्याकस्ट्रोकको १३ वर्ष पुरानो कीर्तिमानलाई उछिन्न सफल भइन्। गौरिकाको नाममा १ मिनेट १७: ९७ सेकेन्डको राष्ट्रिय कीर्तिमान बनेको छ। यसअघि शैला राज्यलक्ष्मी राणाले सन् २००१ मा १५ औँ राष्ट्रिय खुला पौडीमा १ मिनेट २२:११ सेकेन्डको कीर्तिमान राखेकी थिइन्।
गौरिकाले २ सय मिटर फ्रिस्टाइलमा २ मिनेट २६.२८ सेकेन्डको कीर्तिमान राखिन्। यसअघि सोफिया शाहको नाममा प्रथम लुम्बिनी राष्ट्रिय च्याम्पियनसिपमा २ मिनेट २९: ७२ सेकेन्डको कीर्तिमान थियो। २ सय मिटर फ्रिस्टाइलमा रजत जितेकी शोफियाले पनि आफ्नो कीर्तिमानमा शुक्रवार सुधार गरिन्। दोस्रो भएकी शोफियाले २ मिनेट २९:१३ सेकेन्डमा निर्धारित दूरी पूरा गरेकी थिइन्।
१ सय मिटर बटरफ्लाई १ मिनेट १९:३४ सेकेन्डमा पूरा गदै गौरिकाले करिश्मा कार्कीको नाममा रहेको छ वर्ष पुरानो कीर्तिमान भंग गरिन्। करिश्माले सन् २००८ को १० औँ ग्यालेक्सी कप पौडीमा कीर्तिमान बनाएकी थिइन्।

Leave A Comment