भाग्य फेर्न पत्थर फोर्नेहरू

शनिबार, १८ भदौ २०७३, ०९ : ३८ शुक्रवार , Kathmandu
भाग्य फेर्न पत्थर फोर्नेहरू

भाग्यमा विश्वास गर्ने मान्छेका लागि जिन्दगीमा जे–जति घटना हुन्छन्, ती भाग्यकै खेल हुन् । दक्षिण अमेरिकी राष्ट्र बोलिभियामा भाग्य फेर्न पत्थर फोर्ने चलन छ । हरेक वर्ष अगस्ट महिनाको तेस्रो हप्ता बोलिभियाका हजारौँ क्याथोलिक धर्मावलम्बीहरू सुन्दर भाग्यको खोजीमा ढुंगा फोर्छन् । राजधानी ला पाजको बाहिरी इलाकामा अघिल्लो हप्ता हजारौँ मान्छेले पत्थर फोरे । ‘उर्कुपिना’ कुमारी देवीको आशीर्वाद प्राप्त गर्न यो अनुष्ठान गरिन्छ ।
किंवदन्तीअनुसार एउटी गरिब गोठाल्नी युवती भेडा चराएर घर फर्किरहेकी थिइन् । बाटोमा कुमारी मेरी (जिससकी आमा) प्रकट भइन् । मेरीले उनलाई सुकेको नदीबाट केही ढुंगा टिपेर घर लैजान भनिन् र अलप भइन् । युवतीले त्यसै गरिन् । घर पुगेर हेर्दा त उनले बटुलेका ढुंगा चाँदीमा बदलिएका थिए । त्यही बेलादेखि ढुंगा फोरेर भाग्य बदल्ने चलन सुरु भएको जनविश्वास छ ।
अघिल्लो मंगलवार बोलिभियामा आफ्नो भाग्य चम्काउन श्रद्धालुहरूले पत्थर फोरे । ढुंगा सजिलै फोर्न सकियो भने मनोकांक्षा चाँडै नै पूर्ति हुने र ढुंगा फुटाउन गाह्रो भयो भने श्रद्धालुको मनोकामना पूरा हुन केही समय लाग्ने जनविश्वास छ ।
‘तपाईं घर, गाडी, जे पनि इच्छा गर्न सक्नुहुन्छ,’ श्रद्धालु रिकार्डाे ताक्र्वीले भने, ‘तपाईंका सारा कामना पूरा हुन्छन् । केही वर्षअघि मैले दुई चोटमा एउटा ढुंगा फोरेँ । उर्कुपिना देवीको आशिषले घर र गाडी किन्न सफल भएँ ।’
ढुंगा फोरेर भाग्य फेर्ने यो अनुष्ठान देशभित्रका मात्र होइनन्, विदेशका श्रद्धालुसमेत सहभागी हुने गर्छन् ।

 

Leave A Comment