यसपालि तीजमा कुन पहिरन ?

शनिबार, १८ भदौ २०७३, ०९ : ५० सन्जिना श्रेष्ठ , Kathmandu
यसपालि तीजमा कुन पहिरन ?

तीजमा महिलाहरू विशेष पहिरनमा ठाँटिने गर्छन् । तीजमा लगाइने पहिरनलाई विशेष बनाउन युवती तथा महिलाहरूले एक महिना अघिदेखि नै नयाँनयाँ डिजाइनको खोजी गर्न थाल्छन् ।
यस पटकको तीजमा अरूभन्दा विशेष देखिन जोरपाटीकी शर्मिला लामाले आफूलाई मन पर्ने डिजाइनको सारी बनाउन दिएकी छिन् । उनले सादा रातो सारीमा रोयल ब्लु रङको लेस हाल्न दिएको बताइन् । ‘पोहोर साल इन्टरनेटमा हेरेर अम्ब्रेला कुर्तासुरुवाल सिलाउन दिएकी थिएँ । यसपालि सारी बनाउन दिएकी छु,’ उनले भनिन्, ‘सारीसँगै लगाउने ब्लाउज पनि चिटिक्क मिलेको बनाउन दिइसकेकी छु ।’ उनले इन्टरनेटमा हेरेर गोल्डेन रङको ब्लाउज बनाउन दिएको बताइन् । ब्लाउजको पछाडिपट्टि पान आकारको ‘ओपन डिजाइन’ बनाउन दिएको उनले सुनाइन् ।
प्रविधिको बढ्दो विकासका कारण पछिल्लो समय लामाजस्तै युवतीहरू इन्टरनेटमा आफूलाई मन परेको डिजाइन छनोट गरेर टेलरतिर धाउने गरेको फेसन डिजाइनर पुनम क्षत्री गौतम बताउँछिन् । ‘पहिला कस्टमरहरू डिजाइनरकहाँ लुगाका लागि आउँथे । तर, अहिले उनीहरू आफूलाई मन पर्ने रङ, फेब्रिकमा कस्तो डिजाइनको पहिरन बनाउने भनेर पूर्व तयारीका साथ आउँछन्,’ डिजाइनर गौतमले भनिन्, ‘इन्टरनेटबाट छानेको डिजाइनको फोटो मोबाइलमा देखाउँदै अर्डर गर्छन् ।’
उनका अनुसार तीजमा व्रत बस्नुपर्ने हुँदा गह्रुँगोभन्दा हलुको र सजिलो हुने फेब्रिकका पहिरन युवती तथा महिलाहरूको रोजाइमा पर्ने गरेका छन् । तीजकै लागि पहिरन किन्न बुटिक धाउनेहरूले पछिल्ला दिनमा रातो रङलाई मात्र प्राथमिकता नदिई अन्य रङका पहिरनसमेत खरिद गर्ने गरेको उनी बताउँछिन् । ‘अहिले समय फेरिएको छ । तीजमा लगाउने पहिरनलाई रातोमा मात्र सीमित नगरी त्यसमा हरियो, सुन्तला, रानी रङका सारी तथा लेहंगा किन्नेको जमात बढिरहेको छ,’ उनले भनिन्, ‘अरूभन्दा फरक र आकर्षक देखिन युवतीहरूले रङमा भेराइटी खोज्न थालेका छन् ।’
पहिरनका मामिलामा आजभोलि तीज महिलाहरूका लागि दसैँभन्दा विशेष भएको बताउँछन् फेसन डिजाइनर उत्तम श्रेष्ठ बनेपाली । ‘हाम्रो यहाँ आउने महिलाहरूले दसैँमा भन्दा तीजका लागि विशेष पहिरन छनोट गर्छन्,’ उनले भने, ‘धेरै डिजाइन र रङ हेरेर उनीहरूले अरूभन्दा युनिक पहिरन सिलाउन दिन्छन् ।’ बनेपालीका अनुसार विवाहित महिला र टिनएजरहरूको पहिरन रोजाइ फरकफरक हुने गरेको छ । विवाहित महिलाहरूको रोजाइमा कुर्ताभन्दा सारी र लेहंगा पर्ने गरेका छन् भने युवतीहरूले वानपिस र गाउन छनोट गर्ने गरेका छन् ।
हिन्दी टेलिसिरियलमा देखिएका सारी बनाउन अर्डर दिनेहरू समेत रहेको बताउँछन् बनेपाली । ‘हिन्दी सिरियलमा देखाइने सारी तथा पहिरनका डिजाइनले धेरै युवती तथा महिलालाई तान्ने गरेको देखिन्छ,’ उनले भने, ‘त्यही भएर उनीहरू सिरियलका पात्रले लगाएका डिजाइन बनाउनका लागि हामीकहाँ पुग्ने गर्छन् ।’ युवतीहरूमा लेहंगा स्टाइलको सारी बनाउने क्रम बढिरहेको पनि बताउँछन् बनेपाली ।
तीजको पहिरनमा आइरहेको परिवर्तनका कारण पछिल्ला दिनमा रातोको सट्टा हरियो, सुन्तला, कलेजी, सुनौलो रङका लेहंगा, सारी र गाउनको माग बढिरहेको बनेपालीको भनाइ छ ।

 

Leave A Comment