आकाशबाट बर्सिने भो पिज्जा !

आइतबार, १९ भदौ २०७३, १० : १० शुक्रवार , Kathmandu
आकाशबाट बर्सिने भो पिज्जा !

प्रविधिको चरम विकासले विकसित देशमा मानव जिन्दगी अत्यधिक सुविधासम्पन्न छ । न्युजिल्यान्डको एउटा पिज्जा कम्पनीले मानवरहित यान ड्रोनको प्रयोग गरेर ग्राहकका दैलोमा पिज्जा पु¥याउने भएको छ । व्यावसायिक ड्रोन उडानबाट समय र पैसाको बचत हुने बताइएको छ ।
अमाजन डट कम, गुगल (जसलाई अल्फाबेट इन्क पनि भनिन्छ) जस्ता संसारका विशाल कम्पनीले ड्रोनबाट ‘डेलिभरी’ दिने योजना बनाएका छन् । अमेरिका, ब्रिटेन, अस्ट्रेलिया र न्युजिल्यान्डका उड्डयन अधिकारीहरूले ड्रोन सेवा अनुकूल हुने गरी नियमकानुन लचिलो बनाउने प्रयत्न पनि गरिरहेका छन् ।
गत महिना अमेरिकी सुलभ स्टोर ‘सेभेन इलेभेन इन्क’ले पहिलो व्यापारिक ड्रोन डेलिभरी सेवा परीक्षण गरेको थियो । ड्रोनले कफी, दुनोट र चिकेन स्यान्डविच बोकेको थियो ।  
त्यसैगरी, गएको बिहीवार न्युजिल्यान्डको अकल्यान्ड शहरमा डोमिनोज पिज्जा इन्टरप्राइजेज लिमिटेडले ड्रोनमार्फत पिज्जा डेलिभरी प्रदर्शन गरेको थियो । कम्पनीले यस वर्षको अन्त्यसम्म नियमित ड्रोन सेवा सञ्चालन गर्ने घोषणा गरेको छ ।
‘हामीले भन्दै आएका छौँ– दुई किलोको सामान ग्राहकसम्म पु¥याउन दुई टनको यन्त्र (ट्रक) प्रयोग गर्नुको कुनै अर्थ छैन,’ डोमिनोजका सीईओ दोन मेजले विज्ञप्तिमार्फत भने ।
प्रदूषणको समस्या नभएको न्युजिल्यान्डको आकाश सफा रहने गर्छ । ड्रोन सेवा सञ्चालन गर्न यहाँको आकाश उत्तम भएको बताइन्छ । ‘सक्षम नियमकानुनका कारण ड्रोन सेवा सञ्चालन गर्न हाम्रो देशमा आदर्श वातावरण छ,’ यातायात मन्त्री सिमोन ब्रिजले डोमिनोजको परीक्षण उडानपश्चात् भने ।
तर, ड्रोन कम्पनी एक्स–क्य्राफ्ट इन्टरप्राइजेजका निर्देशक फिलिप सोलारिस भने ड्रोन सेवा सञ्चालन गर्न त्यति सजिलो नभएको बताउँछन् । ‘न्युजिल्यान्डले ड्रोनसम्बन्धी नियमनमा समायोजन गरिरहे पनि डोमिनोजलाई यहाँको एउटा नियमले भने गाह्रो पार्न सक्छ । ड्रोनहरूलाई सधैँभरि देखिने गरी मात्रै सञ्चालन गर्नुपर्नेछ । व्यावसायिक हिसाबले यसो गर्न सम्भव नहुन सक्छ ।’ तर, पनि ड्रोनको सेवा प्राप्त गर्न पाइनेमा न्युजिल्यान्डवासी ढुक्क छन् । डोमिनोजले अस्ट्रेलिया, बेल्जियम, फ्रान्स, निदरल्यान्ड्स, जापान र जर्मनीमा पनि ड्रोनमार्फत डेलिभरी परीक्षण गर्न खोज्दै छ ।

Leave A Comment