नितम्ब प्रतियोगिता प्रतिबन्धित

बुधबार, २२ भदौ २०७३, ०९ : ४७ शुक्रवार , Kathmandu
नितम्ब प्रतियोगिता प्रतिबन्धित

अफ्रिकी राष्ट्र बुर्किना फासोमा वर्षैपिच्छे हुने नितम्ब प्रतियोगिता यो वर्ष नहुने भएको छ । ठूला नितम्ब भएका युवतीहरूको यो सौन्दर्य प्रतियोगितामा त्यहाँको सरकारले प्रतिबन्ध लगाएको छ । सरकारको तर्क छ– यस्ता कार्यक्रमले लैंगिकवादलाई प्रवद्र्धन गर्छन् ।
‘मिस बिम–बिम’ भनिने यो प्रतियोगिताको विज्ञापनले सामाजिक सञ्जालमा खैलाबैला मच्चाएको थियो । विज्ञापनमा कृत्रिम र असामान्य ठूला नितम्ब भएका दुई महिलालाई प्रस्तुत गरिएको छ ।
‘महिलाको छविलाई ध्वस्त पार्न खोज्ने हरेक प्रयत्नलाई निस्तेज पार्नु हाम्रो भूमिका हो,’ महिला मामिला मन्त्री लाउरी जोंगोले भनिन् । उनले सामाजिक सञ्जालमा भएको चर्काे आलोचनाले यो प्रतियोगितालाई निषेध गर्नुपरेको बताइन् ।
प्रतियोगिता आयोजक संस्थाका हामादो दोमबाहे यो प्रतिबन्धदेखि खुशी छैनन् । ‘प्रतियोगिताको लक्ष्य अफ्रिकी महिलाको सकारात्मक छवि प्रवद्र्धन गर्नु र फेसन डिजाइनहरूलाई अफ्रिकी वेशभूषा प्रयोग गर्न प्रोत्साहन गर्नु हो ।’
‘मिस बिम–बिम’ जस्ता प्रतियोगिता पश्चिम अफ्रिकी देशहरूमा हुँदै आएका छन् । थुप्रै अफ्रिकी संस्कृतिमा महिलाको स्थूल शरीरलाई मन पराउने गरिन्छ । यस्ता प्रतियोगिताबारे महिला अधिकारवादी समूहहरूको मिश्रित धारणा छ । एकातिर, उनीहरू विश्वव्यापी फेसन उद्योगले महिलाको दुब्लो–पातलो शरीरलाई प्रवद्र्धन गरिरहेको सन्दर्भमा यस्ता प्रतियोगिताको स्वागत गरिरहेका हुन्छन् भने अर्कातिर, पुरुषले महिलाको शरीरको आकारको निर्णय गर्ने प्रवृत्तिको उनीहरू आलोचना गरिरहेका हुन्छन् ।
बुर्किना फासोको सञ्चार उच्च आयोगकी प्रमुख नाथाली सोमेले एक विज्ञप्ति जारी गर्दै विज्ञापन, मिडिया र कला क्षेत्रसँग सम्बन्धित व्यक्तिहरूलाई महिला अधिकारको रक्षा गर्न अनुरोध गरेकी छिन् ।

 

Leave A Comment