सजायस्वरूप निमको झोल

शनिबार, २५ भदौ २०७३, १० : ४९ शुक्रवार , Kathmandu
सजायस्वरूप निमको झोल

भारतीय राज्य गुजरातमा एउटा यस्तो स्कुल छ, जहाँ गल्ती गर्ने विद्यार्थीलाई नमीठो सजाय दिने गरिन्छ । होमवर्क नगर्ने, अनुशासन कायम नगर्ने, भनेको नटेर्ने, झगडा गर्ने विद्यार्थीलाई सजायस्वरूप निमको रस खुवाउने गरिन्छ ।
सुरतमा रहेको विद्याकुञ्ज स्कुलले करिब डेढ महिनायता यस्तो नौलो सजाय दिन सुरु गरेको हो । गल्ती गरेमा निमको रस पिउनुपर्ने भएपछि स्कुलका विद्यार्थीहरू थर्कमान भएको समाचारमा जनाइएको छ ।
गल्ती गर्ने विद्यार्थीलाई निमको रस पिलाउने काम शिक्षकशिक्षिकाले नभई स्कुलका प्रबन्धक स्वयंले गर्ने गरेका छन् । स्कुलले दिने यस्तो सजाय सञ्चारमाध्यममा आएपछि यसको विरोध भइरहेको छ । तर, स्कुलका प्रबन्धक महेश पटेल भन्छन्, ‘तितो झोल पिउनुपर्ने डरले विद्यार्थी अनुशासित भइरहेका छन्, यसले राम्रो काम गरिरहेको छ ।’
अभिभावकहरू पनि स्कुलले दिने यस्तो सजायको समर्थनमा छन् । अभिभावकद्वय भावना बेन र करसन बारोतियाले भने, ‘स्कुलले दिने यस्तो खालको सजायलाई हाम्रो समर्थन छ । यस्तो सजायले एकसाथ दुई काम गरेको छ । एक, हाम्रा सन्तानलाई अनुशासित बनाएको छ । दुई, निमको रस पिउनाले उनीहरूको स्वास्थ्यलाई पनि फाइदा पुगेको छ ।’

 

Leave A Comment