चम्किलो दाल कति स्वास्थ्यकर ?

शनिबार, २५ भदौ २०७३, ११ : ३३ मिलन खरेल , Kathmandu
चम्किलो दाल कति स्वास्थ्यकर ?

दाल तथा गेडागुडी हाम्रो खानाको एक अभिन्न अंग नै हो भन्दा अतिशयोक्ति नहोला । यिनबाट हाम्रो शरीरको वृद्धि विकासका लागि आवश्यक पर्ने प्रोटिनका साथै अन्य महŒवपूर्ण पोषक तŒवहरू प्राप्त हुने गर्छन् । तर, हामीले सोचेका छौँ– हामीले बजारबाट किनेर ल्याएको दाल कत्तिको स्वास्थ्यकर एवं पोषिलो छ ? हिजोआज बजारमा टलक्क टल्कने, चम्किला, हेर्दैमा किनौँ किनौँ लाग्ने विभिन्न प्रकारका दालहरू देख्न सकिन्छ । तर, ‘सबै टल्कने सुन हुँदैनन्’ भनेझैँ यस्ता चम्कने दालहरूको नियमित सेवनले हाम्रो स्वास्थ्यको चमक भने घट्ने गर्छ ।  
गेडागुडीमा कति प्रोटिन ?
गेडागुडीमा यिनीहरूको सुख्खा तौलको करिब २५ प्रतिशतसम्म प्रोटिन पाइने गर्छ । खानासँग प्रयोग गरिने दालमा, भातको तुलनामा करिब ३.५ प्रतिशत बढी र गहुँको रोटीभन्दा २.५ गुणा बढी मात्रामा प्रोटिन पाइने गर्छ । जसले शाकाहारी व्यक्तिहरूको प्रोटिनको आवश्यकतालाई पूरा गर्न बढी मद्दत गर्छ । खानको लागि पकाएर तयार गरिएको दालमा करिब एक प्रतिशत चिल्लो पदार्थ, नौ प्रतिशत प्रोटिन, २० प्रतिशत कार्बोहाइड्रेट (आठ प्रतिशत फाइबरसहित) तथा ७० प्रतिशतसम्म पानी हुने गर्छ ।  पकाएको दालमा कुखुराको मासुको तुलनामा एक तिहाईजति प्रोटिन पाइने गर्छ । गेडागुडीमध्ये सबैभन्दा प्रचुर मात्रामा प्रोटिन (३६ प्रतिशत) भटमास (सोयाबिन) मा पाइने गर्छ ।
कसरी ल्याउँछन् कृत्रिम चमक ?
दाल तथा गेडागुडीलाई आकर्षक देखाउनका निम्ति विभिन्न तरिका अपनाई पालिस गरी टल्काउने गरिन्छ । सबैभन्दा बढी प्रयोगमा आउने पालिस प्रक्रियामा रङ पालिस, तेल–पानीको पालिस, नाइलन पालिस, चुनढुंगा (मार्बल पाउडर) पालिस पर्छन् । यसका लागि गेडागुडीलाई विशेष प्रकारको चम्काउने यन्त्र (दाल मिल) मा हालिन्छ । जसमा रहेको ढुंग्रो आकारको यन्त्र (रोलर मेसिन) मा बेरिएको निरन्तर घुमिरहने ठूलठूला खस्रा छाला वा कडा किसिमका रबरबाट बनेका फित्ता (पेटी) हरूले निश्चित दबाबका साथ गेडागुडीको बाहिरी सतहमा बारम्बार घर्षण गर्ने गर्छन् । जसका कारण गेडागुडीको बाहिरी सतह खुइलिएर जान्छ र तिनमा एक प्रकारको कृत्रिम चमक आउने गर्छ । यसका अतिरिक्त दाल तथा गेडागुडीलाई चिल्लो पारी टल्काउनका निम्ति अखाद्य तथा गुणस्तरहीन तेल, रङ तथा ‘सोपस्टोन पाउडर’ भनिने एक प्रकारको चुनढुंगाको धुलोको समेत प्रयोग गर्ने गरेको पाइएको छ । यसरी चम्काइएको गोटा (सिंगो) गेडागुडीलाई दाल बनाउने मिलमा हालेर पिसानी गरेपश्चात् फग्लेटा भएको दाल तयार हुन्छ ।
किन चम्काउँछन् ?
रहर, मुसुर, कालो मास, हरियो मास, मुंग, राजमा, मटर, भटमासजस्ता गेडागुडी तथा तिनबाट तयार गरिएका दाललाई आकर्षक देखाई खरिदका लागि ग्राहकलाई लोभ्याउनका निम्ति चम्काउने गरिन्छ । यसबाहेक पुरानो, गुणस्तरहीन, नबिकेको दाल तथा गेडागुडीलाई पुनः बेच्नका निम्ति बजारमा ल्याउनका लागिसमेत दाल तथा गेडागुडीलाई कृत्रिम चमक दिने गरिन्छ ।   
असर
दाल तथा गेडागुडीको बाहिरी सतहमा हाम्रो शरीरका लागि आवश्यक पर्ने प्राकृतिक रेशाहरू (फाइबर) पाइने गर्छ । तर, जब दाल तथा गेडागुडीलाई चम्काउने नाममा मेसिनमा हालेर घर्षण (पालिस) गरिन्छ, तब दालको बाहिरी सतहबाट ती प्राकृतिक रेशाहरू हटेर जाने गर्छन् । जसको फलस्वरूप दाल बाहिरबाट हेर्दा चम्किलो त देखिन्छ तर यसमा पोषक तŒवहरूको भने कमी हुने गर्छ ।  यस प्रकारका दाल तथा गेडागुडीको सेवनले शरीरमा पोषक तŒवको कमी हुने मात्र नभई यिनमा प्रयोग गरिएको ढुंगाको धुलो, अखाद्य रङ र तेलको कारण हाम्रो स्वास्थ्यमा (पाचनक्रियामा) नकारात्मक असर पर्ने गर्छ । यसका अतिरिक्त यस्ता पालिस गरिएका दाल तथा गेडागुडी पाक्न तुलनात्मक रूपमा लामो समय लाग्ने भएकाले इन्धनको पनि ज्यादा खपत हुने गर्छ ।
चम्किलाभन्दा फुस्रै जाती   
पालिस नलगाएका दाल तथा गेडागुडी पालिस लगाएकाहरूको तुलनामा हेर्दा अलिक फुस्रा किसिमका देखिएता पनि यिनीहरूको सेवनले हाम्रो स्वास्थ्य चम्कने गर्छ । पालिस नलगाएका दाल तथा गेडागुडी, पालिस लगाएका दालको तुलनामा छिटो पाक्ने, स्वादिष्ट हुनका साथै प्राकृतिक स्वाद, सुगन्ध, रेशा तथा पोषक तŒवहरूले भरपूर हुने गर्छन् ।  पालिस नलगाएका दाल तथा गेडागुडीहरूको मात्र सेवन गर्नाले पालिस लगाएका दाल तथा गेडागुडीमा पाइने अखाद्य रङ, तेल तथा हानिकारक रसायनबाट पर्न सक्ने असरबाट बच्न सकिन्छ ।  
बिनापालिसको दाल किन महँगो ?
पालिस नलगाएको दाल तयार गर्ने प्रक्रिया निकै लामो र झन्झटिलो हुने गर्छ ।  यस प्रक्रियामा गेडागुडीलाई पारम्परिक तरिकाले विभिन्न चरणमा छोडाउने, पखाल्ने, भिजाउने, सुकाउने, निफन्नेजस्ता घरायसी प्रक्रियाद्वारा लामो समय र धेरै शारीरिक परिश्रम खर्चेर सीमित मात्रामा तयार गरिएको हुनाले पालिस नगरिएको दाल पालिस गरिएको दाल तथा गेडागुडीको तुलनामा केही महँगो हुने गर्छ ।
बच्ने कसरी ?

  •     बजारमा पाइने चम्किला, चिल्ला, टलक्क टल्कने, हेर्दै सल्सल परेका गेडागुडी तथा दाल किन्नुभन्दा बरु केही महँगो भएता पनि बिनापालिसको दाल किन्नु राम्रो हुन्छ ।
  •     सकेसम्म किसानसँग सोझै सम्पर्क गरी उनीहरूले आफ्नो खेतबारीमा फलाएका गेडागुडी खरिद गरी आफैँ वा आफ्नै निगरानीमा घरमै दाल वा गेडागुडी तयार गर्नु बुद्धिमानी हुन्छ ।
  •    पालिस नगरिएका दाल तथा गेडागुडी तुलनात्मक रूपमा केही महँगो भएता पनि सकेसम्म स्थानीय रूपमा तयार गरिएको वा नाम चलेको विश्वासिलो ब्रान्डको वा भरपर्दो पसल वा विक्रेताबाट मात्र खरिद गरी सेवन गर्ने बानी बसाल्नुपर्छ ।
  •     प्रायः चाडबाड नजिकिँदै गर्दा खाद्यान्नमा बढी मिसावट हुने गरेकोले सम्बन्धित निकायद्वारा यस्तो समयमा सक्रियता बढाई नियमित रूपमा बजार अनुगमन गर्ने र दोषी ठहर भएकालाई कानुनबमोजिम कारबाही गरिनुपर्छ ।
  •     खाद्य प्राविधिकहरूको सहयोगमा खाद्यवस्तुको गुणस्तर परीक्षणको व्यवस्था मिलाउने र अखाद्य वस्तुहरूको प्रयोग गरी ल्याइएको कृत्रिम चमक, हानिकारक रङ तथा रसायनयुक्त खाद्य वस्तुहरू जफत गरी उक्त प्रकारका गुणस्तरहीन खाद्य वस्तुहरू बेचबिखन गर्ने कार्यलाई निरुत्साहित गर्नुपर्छ ।

 

Leave A Comment