७० वर्षमा भरियो कोख

बुधबार, १२ जेठ २०७३, ०८ : ५३
७० वर्षमा भरियो कोख

बिहे गरेको केही वर्षभित्रैमा आमा बन्न महिलाहरू हतारिने गर्छन् । तर, भारतकी एउटी महिलाले बिहे गरेको ४६ वर्षपछि ७० वर्षको उमेरमा सन्तानलाई जन्म दिएकी छिन् ।
भारतकी दलजिन्दर कौर नाम गरेकी वृद्धाले जीवनको उत्तरार्धमा बच्चालाई जन्म दिएकी हुन् । यद्यपि, कौर आफू आमा पनि बन्न नसक्ने गरी वृद्धा भएकी छु भन्ने स्विकार्दिनन् । ‘अहिले पनि म आमा बन्न योग्य छु भन्ने प्रमाण हो यो बच्चा,’ बच्चालाई देखाउँदै उनले भनिन् ।

बाँझोपनको समस्याबाट ग्रस्त उनले भारतको हरियाणास्थित एउटा फर्टिलिटी क्लिनिकमा विगत दुई वर्षयता उपचार गराउँदै आएकी थिइन् । उपचारपछि उनी सन्तान पाउन योग्यमात्र भइनन्, आमा नै बनिन् ।

‘आमा बन्न मैले बिहे गरेपछि पनि ४६ वर्ष पर्खिनुप¥यो । एउटा समय यस्तो पनि थियो जतिबेला मैले म पनि कुनै दिन आमा बनुँला भन्ने आशा नै मारिसकेकी थिएँ । तर, आज आमा बनेरै छोडेँ,’ उनले भनिन् ।

उनी ७० वर्षकी हुन् भन्ने प्रमाणित गर्ने जन्मदर्ता अथवा सरकारी कागजात केही पनि उनीसँग छैनन् । आफू ७० वर्षकी भएँ भन्ने उनी स्वयंको दाबी हो । यसअघि पनि भारतमा सन् २००६ मा ७० वर्षीया एक वृद्धाले बच्चालाई जन्म दिएकी थिइन् । तर, यो उमेरमा आमा बन्नु दुर्लभ र जोखिमपूर्ण मानिन्छ ।

Leave A Comment