अझै मोटाउनु छ यिनलाई

शनिबार, ०१ असोज २०७३, ११ : ५६ शुक्रवार , Kathmandu
अझै मोटाउनु छ यिनलाई

अमेरिका, टेक्सास निवासी मोनिका रिलेको वजन ३ सय १७ केजी छ । उनी मोडलिङमा आबद्ध छिन् । उनलाई मोटाउन अझै पुगेको छैन । अझै मोटाएर संसारकै मोटी महिला बन्ने उनको ठूलो धोको छ ।
‘मोटाएर साढे चार सय केजीसम्म पुग्ने मेरो लक्ष्य छ । अहिले मोटी भए पनि म ओछ्यानबाट उठ्न र हिँडडुल गर्न सक्छु । ओछ्यान नै छोड्न नसक्ने गरी मोटाउने र कीर्तिमान कायम गर्ने ठूलो सपना छ,’ २७ वर्षीया मोनिकाले भनिन् ।
उनलाई दिनभरि खाइरहनुपर्छ । उनका लागि खाना पकाउन उनीभन्दा दुई वर्ष कान्छा प्रेमी सिड रिले निरन्तर व्यस्त रहन्छन् । प्रेमिकाको सपना जसरी पनि पूरा गराउने अठोट उनले पनि लिएका छन् । उनी दिनरात नभनी प्रेमिकाका लागि अनेकन परिकार बनाउने र खुवाउने काममा निरन्तर जुट्छन् ।
‘मोनिकाको ९१ इन्चको पेट भर्नु चानचुने कुरा होइन । तर, पनि सिड निरन्तर लागिपरेका हुन्छन्,’ समाचारमा भनिएको छ ।
दुई वर्षअघि उनले मोटाइ घटाउन सर्जरी गराउने निश्चय गरेकी थिइन् । सर्जरीको तयारी पूरा भएको थियो । तर, अन्त्यमा उनले सर्जरी गराउनुको सट्टा थप मोटाउने निधो गरिन् । ‘त्यतिबेला मलाई के बोध भयो भने जति मोटायो, म उति सेक्सी देखिन्छु,’ उनले भनिन्, ‘मेरो विचारमा सिड पनि सहमत छन् ।’
मोनिकाले एक दिनमा औसत छवटा बिस्कुट, ब्रेडमा रोल गरिएका छवटा ठूला ससेज, दुई ठूलो ग्लासको गुलियो पेय, चारवटा चिकन स्यान्डविच, डबल साइजका चारवटा चिज बर्गर, एक ठूलो थाल फ्रेन्चफ्राइज, ३० पिस कुखुराको मासु, एक थाल माकारोनी चिज र एक ग्यालन आइसक्रिम खाने गरेकी छिन् ।

Leave A Comment