ग्रन्जमा गल्र्स

आइतबार, ०२ असोज २०७३, १२ : १२ शिक्षा रिसाल , Kathmandu
ग्रन्जमा गल्र्स

अहिले युवा पुस्तामाझ चलेको फेसन हो, ग्रन्ज । ग्रन्ज मतलब ठाउँठाउँमा च्यातिएको जस्तो । तर, साँच्चै च्यातिएको चाहिँ होइन ।
काठमाडौँकी सायान मगर आफूलाई निकै राम्री ठान्छिन् र नयाँनयाँ फेसन एक्सपेरिमेन्ट गरिरहन्छिन् । बानेश्वरमा भेटिएकी १९ वर्षीया सायान ग्रन्ज प्यान्टमै थिइन् । ‘मेरो प्यान्ट देखेर हजुर आमा छक्क पर्नुहुन्छ । यो च्यातिएकै हो कि राम्रै प्यान्टलाई लगेर आफैँले च्यातेर यस्तो बनाएको भनेर सोध्नुहुन्छ,’ सायानले भनिन्, ‘होइन, यो अहिलेको फेसन हो म भन्छु ।’
अहिले पसलमा पनि धेरैजसो तन्नेरी ग्रन्ज प्यान्ट नै खोज्दै आउने बताउँछिन् काठमाडौँ, सुन्धारास्थित सिभिल मलको ड्रेस कोडकी दिकी गुरुङ । ‘आजभोलि युवाहरू कोरियन फिल्मबाट बढी प्रभावित छन् । फिल्ममा हिरोहिरोइनले लगाएजस्ता लुगा बजारमा खोज्छन्,’ दिकीले भनिन्, ‘जे कुराको डिमान्ड बढी छ त्यही नै चल्ने हो ।’
ठाउँठाउँमा फाटेको जस्तो देखिने कपडाप्रति अहिलेको तन्नेरी पुस्ताको मोह बढेको छ । स्ुहाउने नसुहाउने उनीहरूलाई पर्वाह छैन । उनीहरूलाई राम्री देखिनु छ, स्मार्ट देखिनु छ । राजधानीको शंखमूलमा बस्ने निशा राई पनि ग्रन्ज प्यान्टकी पारखी हुन् । २४ वर्षीया निशा ग्रन्ज प्यान्टमा आफू एक्स्ट्रा देखिने र सजिलो पनि महसुस गर्ने बताउँछिन् । ‘स्मार्ट लुक पनि दिन्छ ग्रन्जले,’ उनी भन्छिन्, ‘अहिलेको ट्रेन्डअनुसार ग्रन्ज चलेको पनि हो । म त अझ आफ्नै स्टाइल निकालेर प्यान्ट ग्रन्ज बनाएर लगाउँछु ।’
सिभिल मलमा भेटिएकी अस्मिता तामाङ पनि फेसन कन्सस छिन् । लिंकन कलेजमा ब्याचलर फस्ट इयर पढ्दै गरेकी २० वर्षीया अस्मितालाई हाफ ग्रन्ज प्यान्ट एकदमै मन पर्छ । ‘अहिले ग्रन्ज नै चलेको छ । यसमा म स्मार्ट पनि देखिन्छु जस्तो लाग्छ,’ उनी भन्छिन् ।
ग्रन्ज प्यान्ट फेसन आएको केही वर्ष मात्र भएको छ । पुरानो बानेश्वरकी सुधा सापकोटालाई पहिले ग्रन्ज प्यान्ट त्यति मन पर्थेन । अहिले चाहिँ पूरै च्यातिएकै लगाउन थालेकी छिन् । ‘सुहाउने गरी लगाउँछु । यसले ‘मेस्सी’ लुक दिन्छ,’ उनी भन्छिन्, ‘घरमा च्यातिएको प्यान्ट लगाई भनेर कराउँछन् । तर, मलाई ग्रन्ज नभई हुँदैन । ग्रन्ज लगाउन छोड्दिनँ ।’
सुधाजस्तै ग्रन्ज मोहमा परेकी छिन्, काठमाडौँ वसुन्धराकी मोना भट्टराई । ‘मलाई ग्रन्ज प्यान्ट असाध्यै मन पर्छ । यसमा क्याजुअल देखिन्छ,’ उनी भन्छिन् । ट्रेन्डअनुसार हिँड्नुपर्ने सुधाको भनाइ छ । ‘ग्रन्ज प्यान्ट र सुहाउँदो टिसर्ट लगाएर स्मार्ट भएर हिँडिन्छ,’ उनी भन्छिन्, ‘ग्रन्ज प्यान्टले दिने भिन्टेज लुक मलाई साह्रै मन पर्छ ।’
युवा पुस्तालाई बजारमा जे चल्छ, त्यही चाहिन्छ । ‘अफ सोल्जर’ अर्थात् पाखुरा देखिने तर बाहुला भएको टिसर्टमा यो पुस्ताको थप मोह छ । केही वर्षयता युवा पुस्ता फेसनमा बढी नै कन्सस भएको छ । बलिउड तथा हलिउड मोडलले लगाएको पहिरन देखेर ‘मलाई यो सुहाउँछ है’ भनेर ड्रेस खोज्दै आउने केटीहरू थुप्रै रहेको बताउँछिन् सिभिल मलको स्ट्रबेरी ट्रेडकी छेतेन गुरुङ । आफ्नो पसलमा ब्रान्ड तथा नन ब्रान्ड कन्सस पुस्ता पनि प्रशस्त आउने उनी बताउँछिन् । ‘ग्रन्ज प्यान्टसँगै फ्रक पनि अहिलेको पुस्ताको नयाँ फेसन हो । ड्रेसमा फ्रक, फिटिङ ड्रेस र वान पिस खोज्दै आउँछन् केटीहरू,’ उनी भन्छिन् ।
गल्र्स जेनेरेसनका कर्मा गुरुङका अनुसार अरूले लगाएको देखेर वा फेसन ट्रेन्डअनुसार चल्नैकै लागि पनि नयाँनयाँ फेसन अपनाउने युवा अहिले बढेका छन् । गर्मी र मनसुनमा भने हाफ ग्रन्ज प्यान्ट, फ्रक र ड्रेस धेरै चलेको कर्मा बताउँछन् ।
ललितपुर, भैँसीपाटीकी मीना शाहले समरमा हलुका पहिरन लगाउनुपर्ने भएकाले ग्रन्ज हाफ प्यान्ट र फ्रक धेरै लगाएकी छिन् । यसमा आफू स्टाइलिस र एक्स्ट्रा देखिने उनको भनाइ छ । ‘अरू, प्यान्टभन्दा खासै फरक नदेखिए पनि यो लगाउँदा अलि बढी ‘कुल’ देखिन्छ,’ उनी भन्छिन् । आफूलाई मन पर्ने अभिनेत्री कट्रिना कैफ र करिना कपुरले लगाएको देखेर ग्रन्ज प्यान्टप्रति मोह बढेको मीना बताउँछिन् ।
ग्रन्ज फेसन कन्सस पुस्ताको अभिन्न अंग बनेको छ । चाहे प्यान्ट होस् वा सटर््स वा ज्याकेट, ‘कुल’ देखिन चाहने अहिलेको पुस्तालाई ग्रन्जले झन् ‘कुल’ बनाइदिएको छ र उनीहरू बनेका छन्– सुपरकुल ।

 

Leave A Comment