मजदुरविरुद्ध रोबोट

बुधबार, ०५ असोज २०७३, ११ : ४२ शुक्रवार , Kathmandu
मजदुरविरुद्ध रोबोट

चीनका मजदुरहरूले तलब बढाउन कम्पनी व्यवस्थापनलाई दबाब दिन थालेपछि कम्पनीले मजदुरको सट्टा रोबोटलाई काममा लगाउने क्रम बढेको छ । कुनै समय चिनियाँ मदजुरलाई सस्तोमा काममा लगाउन पाइने भन्दै विदेशी कम्पनीले चीनमा उत्पादन केन्द्र स्थापना गरेका थिए । तर, अहिले आएर चीनमा मजदुरको ज्याला निरन्तर बढ्दै गएपछि मजदुरको सट्टा रोबोटलाई काम लगाउन थालिएको हो ।   
चिनियाँ शहर ग्वान्झाउमा रहेको कार्ल जेयिस भिजन टेक्नोलोजिज लिमिटेडका अनुसार चिनियाँ मजदुरको ज्याला मेक्सिकोका मजदुरको भन्दा दुई गुणा र भारतीय मजदुरको भन्दा चार गुणा बढी हुन थालेको छ । ‘ज्यालामा भएको यस्तो वृद्धिले हामीलाई पनि चकित तुल्याएको छ । त्यही भएर उत्पादकत्व वृद्धि गर्नेतिर हामीले सोच्न थाल्यौँ । यसै क्रममा मानिसले गर्ने कतिपय काम रोबोटबाट गराउन थाल्यौँ,’ कम्पनीका एक अधिकारीलाई उद्धृत गर्दै समाचारमा भनिएको छ ।
लेन्स उत्पादन गर्दै आएको सो कम्पनीमा रोबोटलाई काममा लगाउन थालिएपछि ४ सय ४० कर्मचारीको संख्या घटेर अहिले ३ सय ७० मा आइपुगेको छ ।
मानिसको सट्टा रोबोटलाई काममा लगाउन थाल्ने कम्पनीमध्ये एक हो, चीनस्थित रोङ्सिन प्याकिङ कर्पोरेसन । ‘हिजो हामी एक सिफ्टमा ६० कर्मचारीलाई काममा लगाउँथ्यौँ, अहिले ४८ जनालाई लगाइरहेका छौँ । बाँकी काम रोबोटले गरिरहेको छ । यसो गर्दा हाम्रो उत्पादन बढ्दै गएको छ,’ कम्पनीका अधिकारी जि योङाहेङलाई समाचारमा उद्धृत गरिएको छ ।

 

Leave A Comment