कलाकार पन्त यौन विवादमा

शुक्रबार, ०७ असोज २०७३, १२ : १७ गोपाल दाहाल , Kathmandu
कलाकार पन्त यौन विवादमा

पुराना कलाकार सन्तोष पन्त आफैँ संलग्न केटीएम सेक्युरिटीमा कार्यरत महिला सुरक्षा गार्डलाई यौन दुव्र्यवहार गरेको आरोपमा विवादमा तानिएका छन् । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको सुरक्षा जिम्मा पाएको केटीएम सेक्युटिरी सर्भिस प्रालिका प्रमुख रामेश्वर शाहसँगै प्रालिका ‘ब्रान्ड एम्बासडर’ पन्त धरान आएका थिए । गत शनिवार बिहान २ बजेतिर पन्त, शाह लगायतको समूह प्रतिष्ठानको प्रेरणा न्यू गल्र्स होस्टलको गेटमा पुग्यो । गेटमा महिला सुरक्षा गार्ड थिइन्, सविता सुयल । उनको भनाइमा मादक पदार्थ सेवन गरेर आएका पन्त र शाह गल्र्स होस्टलभित्र पस्न खोजे । ‘मैले कम्पनीको मालिक भए पनि होस्टलको नियमअनुसार राति ११ बजेपछि कोही पस्न मिल्दैन भनेर रोकेँ,’ सुयलले भनिन्, ‘त्यसपछि सन्तोष पन्तले किन यति मोटाएकी भन्दै मेरो शरीरमा हात लगाए ।’

सुयलका अनुसार बिहान २ बजेतिर केटीएमका प्रमुख शाह, ब्रान्ड एम्बासडर पन्तसहित सुरक्षागार्ड प्रमुख राजेश तामाङ र इन्सपेक्टर विष्णु कोइराला गल्र्स होस्टल पुगेका थिए । सुरुमा कोइरालाले उनलाई बोलाएर ढोका खोल्न भने । तर, उनले राति ११ बजेपछि कसैलाई पनि भित्र पस्न वा बाहिर निस्कन अनुमति नभएको भन्दै खोल्न मानिनन् । त्यसपछि कम्पनीका प्रमुख शाहले ढोका खोल्न आदेश दिए । गेटबाहिर निस्किएको बेला कलाकार पन्तले यौनजन्य शब्द बोल्दै हात लगाएको उनको भनाइ छ । ‘मातेर आएका रहेछन्, ह्वास्सै रक्सी गनायो,’ सुयले भनिन्, ‘पन्तले मेरो शरीरमा हात लगाउँदा अरू चुप लागेर बसे । उनीहरूले ‘बुढा कहाँ छन् ? के खाएर मोटायौ ?’ जस्ता प्रश्न गरे ।’

प्रतिष्ठानमा शुक्रवार राति अबेरसम्म पार्टी चलेको थियो । सुनसरीका प्रजिअ मोहन चापागाईं, प्रतिष्ठानका पदाधिकारीहरू सहभागी पार्टीमा पन्त र शाहले अत्यधिक मदिरा पिएका थिए । रातभर पार्टीमा बसेका उनीहरू गार्डहरूको ड्युटी चेक गर्ने भन्दै पार्टीबाट निस्किएको पार्टीमा सहभागी एक कर्मचारीले बताए । महिला सुरक्षागार्डमाथि यौन दुव्र्यवहार भएको भन्दै धरानका महिला अधिकारकर्मी र सुरक्षागार्डहरू आन्दोलनमा उत्रिएपछि कलाकार पन्त समस्यामा परेका छन् । महिला सुरक्षागार्डले दिएको उजुरी प्रहरीले दर्ता गर्न नमानेपछि समस्या थपिएको छ । केटीएमका प्रमुख शाहले दुव्र्यवहारको आरोप झुटो भएको बताउँदै आएका छन् भने इलाका प्रहरी कार्यालय धरानका डीएसपी ढकेन्द्र खतिवडा दुवैतिरको कुरा बुझेर मात्र उजुरी दर्ता गर्ने बताइरहेका छन् । धरान महिला सञ्जालकी अध्यक्ष शिला वज्राचार्य भन्छिन्, ‘अरूको यस्तै केसमा हामीले नै उजुरी दर्ता गराएका छौँ तर ठूला मान्छेको उजुरी प्रहरीले दर्ता गरेन । महिला हिंसाको मुद्दामा प्रहरी पीडकतिरै लाग्यो ।’

विवादैविवादमा केटीएम
बीपी प्रतिष्ठानका उपकुलपति बीपी दासको ‘क्लासमेट’ रामेश्वर शाह प्रमुख रहेको केटीएम सेक्युरिटी पटकपटक विवादमा पर्ने गरेको छ । एक वर्षअघि सुरक्षा ठेक्का मिलाउन सन्तोष पन्तले महŒवपूर्ण भूमिका निर्वाह गरेका थिए । उनी केटीएमलाई टेन्डर पार्न बारम्बार प्रतिष्ठान धाउँथे । अर्कै कम्पनीलाई परिसकेको टेन्डर आर्थिक चलखेलका कारण केटीएमलाई  पारिएको त्यतिबेलै चर्चा चलेको थियो ।
अहिलेको घटनामा पनि केटीएमका प्रमुख शाहले उपकुलपति दासको ‘सोर्स–फोर्स’ प्रयोग गरेर उजुरी दर्ता हुन नदिएको पीडित पक्षको आरोप छ ।

गत भदौ २९ गते अर्की महिला गार्ड जस्मिन राई कुटिएकी थिइन् ।  स्थानीय राईले आफूलाई कुटपिट गरे पनि कम्पनीले अहिलेसम्म  घटनालाई ढाकछोप गरेको बताइन् । ‘म प्रहरीमा जाहेरी दिन्छु भन्दा मिलाउछौँ भनेपछि कम्पनीमा निवेदन दिएँ, तर सुनुवाइ भएन,’ राईले भनिन् ।

सुरक्षा जिम्मा पाएको एक वर्षभित्र प्रतिष्ठान क्षेत्रमा धेरै घटना भए । केही समयअघि केटीएमले प्रयोग गरेको कोठाबाट लागुऔषध बरामद भयो भने केही दिनअघि मात्र प्रतिष्ठानभित्र तीनवटा मोटरसाइकल अज्ञात समूहले जलायो । प्रतिष्ठानका सुरक्षाकर्मीले दोषीलाई फेला पार्न नसकेपछि आलोचना भयो । त्यसो त  करिब छ महिनाअघि उनै कलाकार पन्तले प्रतिष्ठान हातामा सञ्चालित एक क्यान्टिनमा काम गर्ने महिलालाई हात लगाएको चर्चा चल्यो तर त्यसले ठूलो रूप लिन पाएन । बीचमै घटना मिलाइएको प्रतिष्ठानकै सुरक्षाकर्मीहरू बताउँछन् । केटीएमका क्षेत्रीय निर्देशक तथा नेपाल प्रहरीका पूर्व डिएसपी रुपम लामा घटनाबारे यथार्थ बुझेर अघि बढ्ने बताउँछन् । उनले पछिल्लो घटनामा राम्रो ड्युटी नगर्नेहरूले कारबाहीमा परिने डरले आरोप लगाएको बताए । बीपी प्रतिष्ठानका रजिस्ट्रार तुलबहादुर श्रेष्ठ गल्ती भएको पाइए कानुनी कारबाही हुने बताउँछन् । भन्छन्, ‘गल्ती भेटिए कानुनअनुसार कारबाही हुन्छ ।’

 

Leave A Comment