सिचुमा ठेट नेवारी स्वाद

शनिबार, ०८ असोज २०७३, ११ : ५५ शुक्रवार , Kathmandu
सिचुमा ठेट नेवारी स्वाद

काठमाडौँको कोलाहाल वातावरणबाट केही छिनका लागि टाढिने सोचमा हुनुहुन्छ भने तपाईंका लागि उपयुक्त गन्तव्य हुन सक्छ कीर्तिपुर मच्छेगाउँमा रहेको सिचु नसाः त्वसाः कटेज । मच्छेगाउँ बसपार्कबाट डेढ किलोमिटर दूरीमा रहेको यो रेस्टुरेन्टु कुनै दुर्गम गाउँमा अवस्थित रेस्टुरेन्टजस्तो लाग्छ । माथितिर घना शान्तिवन त्यसको फेदीमा अवस्थित यो रेस्टुरेन्ट काठमाडौँको भीडभाडयुक्त वातावरणबाट केही छिन मुक्त हुन चाहनेहरूको आकर्षणको केन्द्र बनिरहेको छ । नेवार भाषामा सिचु भनेको शीतल, नसाः भनेको परिकार र त्वसाः भनेको पिउनु हो । ‘हामी शहरबाट नजिक तर शान्त वातावरणको खोजी गर्दै यहाँ आएका हौँ,’ सिचु नसाःका सञ्चालकमध्ये एक पवन गोपालीले भने । लामो समय रेस्टुरेन्टमा काम गरेपछि पवन, प्रकाश गोपाली र विष्णु महर्जन वैदेशिक रोजगारीमा जाने तयारीमा जुटेका थिए । यी तीनैजना युवा कीर्तिपुरका हुन् । ‘वैदेशिक रोजगारीका लागि तीनजनाले गर्ने खर्चले नेपालमा पनि केही गर्न सकिन्छ भन्ने लागेपछि हामीले रेस्टुरेन्ट खोलेका हौँ,’ पवनले भने ।
दुई रोपनी क्षेत्रफलमा फैलिएको रेस्टुरेन्टको सेटअपमा गाउँलेपन दिइएको छ । छ्वालीले छाएर, बाँसले बारेर कटेज निर्माण गरिएको छ । बस्ने ठाउँमा सुकुल बिछ्याइएको छ । टिपिकल नेवारी स्वाद पस्कने रेस्टुरेन्टमा खुला ठाउँ पनि प्रशस्त छ । एकै पटकमा चार सय मानिसका लागि भोज तथा पार्टी आयोजना गर्न सकिने सिचुले पिकनिकका लागि पनि स्पेस उपलब्ध गराउँछ । सस्तो र स्वादिला भोजनका लागि प्रख्यात सिचुले हाँसको छोयला, लोकल कुखुराको मासुसँगै सम्पूर्ण नेवारी परिकार पस्किने गरेको छ ।
‘हामी नेवारी भोजको पनि आयोजना गर्छौं,’ पवनले भने, ‘घरमा स्पेस नभएका र पार्टी प्यालेसमा भोज आयोजना गर्न नसक्नेहरूका लागि सस्तोमा भोज आयोजना गरिदिन्छौँ ।’ शान्त वातवरणमा घरमा बनाएजस्तै परिकार पाइने भएकाले सिचुलाई धेरैले रुचाएको पवन बताउँछन् ।  

 

Leave A Comment